साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘तानतुने’ कवि

कार्यक्रममा तिनै कविता वाचन गर्दा मेरा लबीकाहरूले वाह वाह...इन्कोर इन्कोर भनेर गगनचुम्बी थपड़ी बजाएपछि म सुपर कवि । रातो रात हिट ।

Nepal Telecom ad

नगिता लेप्चा राई :

साहित्यमा बामे सर्न थालेदेखि साहित्य बुझ्ने, साहित्यिक प्रतिभाहरूबारे जान्ने-बुझ्ने इच्छा जाग्नु स्वाभाविकै हो । साहित्यकारहरूबारे धेरै जान्ने-बुझ्ने मौका पनि पाएँ । कतिपय साहित्यकारहरूप्रति श्रद्धा लाग्यो भने एकदुइसित भने वितृष्णा।

मेरो गाउँमा एकजना भाइ छन्। आफूलाई साहित्यकार नै ठान्छन्। यूनिभर्सिटी पनि सकेका भन्छन्। यी भाइले कविता लेखेको देख्दा मभित्रको साहित्यकार मनोवृत्ति रिस र आह्रिसले ‘किन चाउरिस मरिच आफ्नै राग’ले भने जस्तो कुच्चिन्थ्यो। गाउँ-घरमा हुने साना तिना साहित्यिक कार्यक्रममा यी कवि भाइले कविता वाचन गरेको देख्दा मलाई पनि कविता लेखेर यसरी नै कार्यक्रमतिर वाचन गर्न मन लाग्थ्यो। प्रेरणा उत्साह पाउँछु किन भनी यी भाइकहाँ कतिचोटि धाएँ। तर यिनले मलाई प्रेरणा उत्साह दिनु होइन बरु निराश बनाएर फर्काउँथे।

उनले कविताबारे शास्त्र नै निले जस्तो गरी कविताबारे मलाई धाक पिट्थे। उनी भन्थे, कविता लेख्नु लरतरो र भाँड़ाकुटी खेल जस्तो होइन। सबैले कविता लेख्न सक्तैन । मैले कविता राम्रो लेखेको कारण मेरो बड़े बड़े साहित्यकारसित उठ बस भएर हो। भनुँ नै बने मैले जस्तो साहित्यकार चिन्ने यहाँ हाम्रो गाउँमा कोही जन्मेकै छैन। कविता लेख्नु गाह्रो छ । यो सबैको वशको बात होइन । फेरि सबैलाई कविता फुर्दैन पनि । सबैलाई कविता फुर्ने भए त बड़े बड़े पूञ्जीपति, नेता, मस्तान गुण्डाले कविता लेखेर हामी जस्तो फुचुनालाई पाँच रुपियाँमा किनेर सय रुपियाँमा बेच्ने थिए । नेताहरूको भाषण पनि कवितामै हुन्थ्यो । हामी चाहिँ मात्रै थपड़ी मार्नु ।

मैले सोधेँ- अन्त कवि हुनुलाई बड़े-बड़े साहित्यकारसित परिचय हुनैपर्छ ?

कविजी बिड़ी चुस्दै भन्छन्, होइन…ती बड़े-बड़े साहित्यकारले आफूले लेखेको कविता जस्तो थाङ्ना भए पनि मञ्चबाट भाइको कविता दामी छ भनिदिँदा मजस्तो ठूलो कवि यो गाउँमा कोही छैन अनि निकट भविष्यमा हुने पनि छैन भनी आफूलाई एक किसिमको गर्व लागेर आउँछ ।

मैले सोधेँ- यो त फुस्रो प्रशंसा भएन र कवितजी ? निभिसकेको बिड़ीको ठुटो फेरि बाल्दै बोले कविजी, येस..हाम्रो साहित्य फुस्रो प्रशंसाले त बाँचेको छ । ती साहित्यकारले कविताबारे प्रशंसा गरे…रातोरात राजा कवि ।

मैले आगोमा घिउ हाल्ने कोशिष गर्दै भनेँ, वाह…तपाई हाम्रो गाउँका राजा कवि । कङ्ग्र्याट्स् । उनको भनाइ, होइन म आफूलाई त राजा कवि भन्दिनँ…तर साहित्यकारहरूको फोस्रो प्रशंसा सुनेपछि आफूलाई राजा कवि ठान्न थालेको छु ।

कविजी बोल्दै गए, अस्तिको भानुजयन्तीमा एउटा कविता वाचन गरेको थिएँ । कविता यस्तो थियो-
न देक्ची न कराही
न डल्ले भाँड़ो…
न बिहे…न मगनी
भइसके काम नचल्ने ठाँड़ो।

यो कविता सुनेर हलभित्र बसेका दर्शक श्रोताको थपड़ी हलको छानु उड़ाउँला जस्तै बजिदिँदा म एकक्षण त अललिएँ नि। मैले थपेँ, हो…हजूरको कविता मैले निकै सुन्ने मौका पाएकी छु । तपाईको कविता सुन्दा मिठो आनन्द आउँछ ।फुरुक्कै भएर उनी कविता भट्याउन थालेँ-
आऊ…साथी…
आऊ साथी….
काम दाम केही छैन
जौ फाप्रीको खोलामा
लङ्गोटीको जुम्रा मारुँ ।

सबैको साथीको आ-आफ्नै प्रेयसी छन्
डेटिङमा कति मस्त परैहरू…
आफ्नो भने न डेटिङ…न कुनै गर्ल फ्रेण्ड
जौं साथी…मलमा
जोड़ी खोजुँ…
पाउनु त उतिकै हो
राँड़ी पाए पनि चलेबल।

मलाई बोल्नै नदिई कविजी कवितामा बहके –
मेरो जिन्दगी लोन्द्र्याङ छ
टिको लाएर छोड़ेको बोको जस्तै नै छ
बाख्राहरूको हाँचमा सिम कार्ड बिनाको मोबाइल जस्तो छ ।

मैले थपेँ- साँच्चै भाइको कविताले बिहे गर्न मन लाग्ने तरुणी केटीहरूले नपत्याउने विरही युवकहरूको वेदना छ । भाइलाई साँच्चै बिहे गर्न मनलाग्दैन ?

उनको मार्मिक उदगार – कुकुरले आची खाँदैन भन्नु र यस गाउँको राजा कविलाई बिहे गर्न मन लाग्दैन भन्नु बराबरी हो । फेरि उनको कविता फुर्छ-
म पनि त चाहन्छु
मेरो एउटी स्वास्नी होस्
गाउँमा सबैभन्दा सुन्दरी होस्
तिनै सुन्दरी स्वास्नीको ब्यूटीको
लाइसेन्स बोकेर यो राजाकवि
धमासले हिँड़्न सकोस्…
तर यो खप्परमा स्वास्नी कहिले जुरेन ।

कविता बुझे बुझिनँ… त्यसको कुनै मतलब भएन । तर यी राजा कवि चाहिँ बिहे गर्न नपाएर ओसिएको डम्फू जस्तो छ्यातछ्याती देखेँ । हुन पनि हो यो फुर्कै कविको… के नै पो छ र ? काम दाम छैन । आयस्ता केही छैन । अचेलका तरुणीहरूले पैसा हेर्छन् पैसा । फेरि हिजोआजका तरुणीहरूले रङ न रुपकालाई कहाँ हेर्छन्। उनीहरूलाई त पैसा सँगसँगै ह्याण्डसम् केटी हेर्छन्। अनुहार न दनुवारकालाई कसले पो पत्याउँछ र ? हुनु पनि हो विचाराको निम्ति घरबाट मगनी गर्न कम्ति ठाउँ धाएको होइन । तर जहीँ पनि रिजेक्ट । यसैकारण त फेसबुकमा तरुणी केटीहरूको नक्सा देख्यो कि फ्रेण्ड रिक्वेष्ट पठाइहाल्छन् । तर उनको लक्ष्य अहिलेसम्म पूरा भएको देख्दिनँ म ।

एकदिन झुक्केर हो कि अत्तालेर हो आफ्नै बुहारी छ्वाँकी मायालाई म्यासेञ्जरमा आई लभ यू लेखिपठाएछ। बुहारी छ्वाँकीले मलाई भन्दै थिइन् ।

गाउँमा कुनै तरुणी देख्नै हुँदैन…किलोमा बाँधेको साँड़ जस्तो उफ्रिन थाल्छ यी राजा कवि । तर किन ढाँट्नु यी राजा कविले मलाई चाहिँ रेसपेक्ट गर्छन् । अस्ति एउटा कविताको पुस्तक लोकार्पण गरेदेखि यी कविले मलाई देख्दै मुण्टो बङ्गाउन थालेका छन् ।

एकदिन कुरै कुरामा मैले सोधेँ हाम्रा गाउँमा चर्चित कविजीलाई – अच्छा…गोज्याङ्ग्रे भाइ…कविता कसरी लेख्नुपर्छ हँ ? उनको लम्बेतान भाषण शुरु भइहाल्यो – राम्रो कुरा । खास कुरा त यो हो नि । अब कविता लेख्ने दुइ थरिका हुन्छन् । पहिलो बुनबाने कवि अनि अर्को तानतुने कवि । बुनबाने कविले साँच्चै हृदयभित्रबाट कविता वमन गर्छन् । जस्तो देवकोटा, गिरी, कटुवाल, वर्डसवर्थ, मिल्टन आदि ।

मलाई सोधे – देवकोटा, गिरी, कटुवाल, वर्डसवर्थ. मिल्टन आदि कविहरूको नाउँ सुन्नुभएकी ? मैले सोझै भनेँ- मैले ता हाम्रो गाउँका एकमात्र गोज्याङ्ग्रे कवि बाहेक अरु कुनै कविको नामै सुनेकी छैन । कविजी गजक्क । मैले भनेँ तपाई चाहिँ कविता कसरी लेखनुहुन्छ हृदयभित्रबाट ? मनको अथाह गहिराइबाट ?

फुर्कै हुँदै उनी बोले – म मनको गहिराइबाट कविता कथ्ने थोत्रे कवि होइन । म चाहिँ दस-पन्ध्रवटा कविताको किताब मेरो अघिल्तिर राख्छु अनि त्यहाँबाट जुन लाइन मनपर्छ किताबबाट एक एकवटा लाइन जोड़्दै कविता बनाउँछु । खतरा कविता बनिहाल्छ ।

कार्यक्रममा तिनै कविता वाचन गर्दा मेरा लबीकाहरूले वाह वाह…इन्कोर इन्कोर भनेर गगनचुम्बी थपड़ी बजाएपछि म सुपर कवि । रातो रात हिट ।

एक फ्वाँक गुटखा मुखमा हाल्दै उनी बोले – लु भन्नोस् म कस्तो खाले कवि । मेरो मुखबाट निस्कि त हाल्यो – “तानतुने कवि।”

“तानतुने कवि” सुन्ने बितिकै हाम्रो गाउँका गोज्याङ्ग्रे कवि गुटखाले सर्केर हुरुक्कै भए ।

०००
खाेलाफाप्री, सिलिगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x