वासुदेव लुइँटेलनिम्तालुमा नाम दरिएन
स्वास्नीको निम्तामा लोग्ने आयो प्रगतिशीलको पदवी पायो । हल्ला गर्ने, साइनु पर्ने, सबका सबले निम्ता पाए ! भूल आफ्नै हो मौका छोपी चाकरी गरिएन, निम्तालुमा नाम दरिएन !

(१)
खरासम्म नखारेकी कप्तानीले
कवि सम्मेलनको निम्ता पाइन् ।
ज्वाइँ साहबको धक्कु लाइन्,
चिनियाँ पुतली हाँस्ते आइन्,
कविता सुन्दै अलख मिलाइन्,
विश्राम पारी पाउडर लाइन् ।
आफू –
निम्ता दिनेको नाता परिएन,
त्यसैले होला –
निम्तालुमा नाम दरिएन !
(२)
बागबजारमा बरफ बेच्नेले
पाटी-सदस्यको नाता लायो,
अतिथि-सत्कार समितिमा ठाउँ पायो,
थर्मस थन्क्याई सिंहदरबार धायो,
बिदाइ भोजमा दुई बोतल खायो ।
आाफूले त
झण्डा बोक्ने काम गरिएन,
अनि
निम्तालुमा नाम दरिएन !
(३)
सांस्कृतिक कार्यक्रममा हल्याहा आए,
मेच ठटाए, सिट्टी बजाए ।
गण्यको लहरमा ड्राइभर आयो,
बल्कोनीमा बस्न पायो ।
मान्यको निम्तो पुरोहितले पाए,
टोलभरिमा धक्कु लाए ।
बदाम बेच्ने साहू गनिए,
तमाखु पसले महाजन भनिए,
दरबारियामा ढोके आयो,
धाकले गर्दा निम्ता पायो ।
कलाकारमा बाङ्गे आयो,
काउचमा बसी भटमास खायो ।
विदेशी प्रतिनिधि हजाम आयो
चून मिसाई सुर्ती खायो ।
स्वास्नीको निम्तामा लोग्ने आयो
प्रगतिशीलको पदवी पायो ।
हल्ला गर्ने, साइनु पर्ने,
सबका सबले निम्ता पाए !
भूल आफ्नै हो
मौका छोपी चाकरी गरिएन,
निम्तालुमा नाम दरिएन !
०००
‘भीमसेनपाती’ (२०२७)
Subscribe
Login
0 Comments
Oldest









































