साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मसँग मितेरी लाउनुहुन्छ ?

खोसुवामा परेको भए सके साविककै जागिर थमाउने, नसके सिधै सही, पेट पाल्नको लागि सयुक्त मोर्चा कस्ने तर्खरमा लाग्ने थिएँ । सबै छाडी गाइने गायकै भएको भए पनि गोरखापत्रै गाएर किन नहोओस् सबैलाई लठ्याइदिन्थेँ ।

Nepal Telecom ad

वासुदेव शर्मा लुइँटेल :

म यति प्रसिद्ध छु कि मेरो नाम, उपनाम, साहित्यिक नाम, सर्वनाम, थर, वतन, जात, पेशा, उमेर, तीनपुस्ते कुनै कुराको जरूरत पर्दैन- ‘म’ यत्ति नै काफी छ ।

पढाइ- संस्कृततर्फ न्वारानदेखि किरियासम्म कण्ठाग्रै गराइदिन्छु । सत्य- नारायणको कथा र गरुड पुराण त गफ गरेजत्तिकै छ । सामग्री-रत्नावलीदेखि लिएर धर्मसिन्धु, निर्णय-सिन्धुसम्म स्वस्थानी सरह छ । ज्योतिष विद्यामा पात्रै चाहिँदैन। जुठो बर्नेबारे बार गनेजत्तिकै छ । झारफुकेमा चुट्‌कीले काम तमाम । नजानेको रकम-कलम केही छैन । जगतैले पणित् भन्छ ।

भाषाशास्त्रमा ‘जय जगदीश्वर’ देखि ‘गोर्खा शिक्षा’ तेस्रो भागसम्म पढीकन जाँच पास गरेको छु । अङ्ग्रेजी अक्षर नचिनेर हुन्छ र ! सबैले ‘माड्साप्’ भनेकै छन् । मेरो माथिल्लो उपाधि हो- ‘वर्णमाला विशारद्’ ।

चाकरी – खुट्टा लागेदेखि पछि लागेर र बोली फुटेदेखि तारीफ गरेर धनीलाई रिझाउँदै आएको छु । मीठो पाए जूठो खान्छु, राम्रो पाए जडाउरी लाउँछु, दोमन कहिल्यै गर्दिनँ ।

सोख – पौडी खेल्नेदेखि हवाईजहाज हाँक्नेसम्म छ । कौवा कराएकोदेखि रेडियो बजाएकोसम्म सुन्न चाहन्छु । सवैजसो पत्रिकाको नाम कण्ठै छ। ज्याला पाए आचीको पनि आची सोर्नुदेखि लिएर नोटको बिटो बटुल्नसम्म पछि हट्तिन । माछेको आकार लिएर जन्मेका जोसुकैसँग पनि आफ्नो मतलव साध्य गर्न परेको छ भने, ‘हजुर’ ‘हस्’ लाई थेगो नै बनाउँछु ।

नयाँ मोटरलाई ठाडै, खोलभित्र झण्डा भएकोलाई नुहेर र झण्डा फरफराएको मोटरलाई कुप्रिएर नमस्कार गर्छु- मान्छे चिन्नु पर्दैन ।

भएको भए-
थाेक व्यापारी भएको भए प्रतिशतको झमेलातिर नलागेर धोक्राभरि नोट पाए निकासी या पैठारीको प्रमाणपत्र बेचिदिने थिएँ ।

खुद्रा व्यापारी भएको भए नूनदेखि लिएर सुनसम्मका सरसामानमा मिसोट गरी राति राति मात्र बेच्ने थिएँ । कथंकदाचित् पक्राउ परिहालें भने सम्भावित जरीमानाको अङ्कलाई दोब्राएर नजराना चढाइदिने थिएँ ।

धार्मिक भएको भए गोरक्ष-मण्डल खोली धर्मको ढोलक ठोक्तै सिमानामा गौशाला खोली गाई निकासी गर्ने थिएँ ।

राजनीतिज्ञ भएको भए आफू नभएको मन्त्रीमण्डल विल्कुलै बेकम्मा र आफू बसेको मन्त्री-मण्डल ज्यादै जागरूक र उत्तम भन्ने थिएँ ।

संवाददाता भएको भए माइजूहरूको स्वागत सत्कार खाई मामाहरूलाई खबर बेची बाँकी बचेको समाचार मात्र स्वदेशी हाकिमलाई बुझाइदिने थिएँ ।

सम्पादक भएको भए निर्देशानुसार सम्पादकीय लेखी थपघटको लागि चन्दादाताकहाँ तुरुन्त पठाएर पास भएपछि मात्र प्रकाश गर्ने थिएँ ।

कवि-लेखक भएको भए सके अनुवादै गरेर नसके सुनेकै भरमा भए पनि केही अण्ट-सण्ट कुरा लेखेर ‘योग्यता नपुगेका नेपालीहरूले मेरो कृतिकाे मर्म बुझ्न सक्तैनन्’ भन्दै हिँड्ने थिएँ ।

समालोचक भएको भए आफ्ना गुणगान गर्नेलाई तालुमा र बदनाम गर्नेलाई पैतालामा पुऱ्याएर लेख्ने थिएँ ।

विद्यार्थी भएको भए पढ्नपट्टिभन्दा पैसा कमाउनपट्टि बर्ता ध्यान दिने थिएँ ।

खसी भएको भए सङ्गठन-सम्मेलनको खाने पिउने हुलमूलमा पसेर आफू सिंगोरे भएको कुरा कुमार पाठीहरूको कानकानमा फुकी रजाई गर्ने थिएँ ।

खोसुवामा परेको भए सके साविककै जागिर थमाउने, नसके सिधै सही, पेट पाल्नको लागि सयुक्त मोर्चा कस्ने तर्खरमा लाग्ने थिएँ ।

सबै छाडी गाइने गायकै भएको भए पनि गोरखापत्रै गाएर किन नहोओस् सबैलाई लठ्याइदिन्थेँ ।

भाग्यले भनौं या दुर्भाग्यले त्यस्तो केही पनि हुन सकिएको छैन । अकेला यस्तो जिम्मेदारीपूर्ण काम गर्ने आँट पनि आएन। यस्तो पुनीत कर्तव्य पूरा गर्ने कार्यमा उमेर, नागरिकता, जाति, धर्म, लिङ्गको भेद आदि कुनै बार बारिएको छैन, मानिस-मात्रको निम्ति खुला छ । ल त अब तपाईं मसँग मितेरी लाउनुहुन्छ कि ?

०००
आधुनिक नेपाली हास्यव्यङ्ग्य (२०६०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
निम्तालुमा नाम दरिएन

निम्तालुमा नाम दरिएन

वासुदेव लुइँटेल
ए मान्छे !

ए मान्छे !

वासुदेव लुइँटेल
म लामो कुरो जान्दिनँ !

म लामो कुरो जान्दिनँ...

वासुदेव लुइँटेल
गाउँले– गुण्डा

गाउँले– गुण्डा

वासुदेव लुइँटेल
निम्तालुमा नाम दरिएन

निम्तालुमा नाम दरिएन

वासुदेव लुइँटेल
फेरि दर्शन पाइनँ !!!

फेरि दर्शन पाइनँ !!!

वासुदेव लुइँटेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x