वासुदेव लुइँटेलमसँग मितेरी लाउनुहुन्छ ?
खोसुवामा परेको भए सके साविककै जागिर थमाउने, नसके सिधै सही, पेट पाल्नको लागि सयुक्त मोर्चा कस्ने तर्खरमा लाग्ने थिएँ । सबै छाडी गाइने गायकै भएको भए पनि गोरखापत्रै गाएर किन नहोओस् सबैलाई लठ्याइदिन्थेँ ।
वासुदेव शर्मा लुइँटेल :
म यति प्रसिद्ध छु कि मेरो नाम, उपनाम, साहित्यिक नाम, सर्वनाम, थर, वतन, जात, पेशा, उमेर, तीनपुस्ते कुनै कुराको जरूरत पर्दैन- ‘म’ यत्ति नै काफी छ ।
पढाइ- संस्कृततर्फ न्वारानदेखि किरियासम्म कण्ठाग्रै गराइदिन्छु । सत्य- नारायणको कथा र गरुड पुराण त गफ गरेजत्तिकै छ । सामग्री-रत्नावलीदेखि लिएर धर्मसिन्धु, निर्णय-सिन्धुसम्म स्वस्थानी सरह छ । ज्योतिष विद्यामा पात्रै चाहिँदैन। जुठो बर्नेबारे बार गनेजत्तिकै छ । झारफुकेमा चुट्कीले काम तमाम । नजानेको रकम-कलम केही छैन । जगतैले पणित् भन्छ ।
भाषाशास्त्रमा ‘जय जगदीश्वर’ देखि ‘गोर्खा शिक्षा’ तेस्रो भागसम्म पढीकन जाँच पास गरेको छु । अङ्ग्रेजी अक्षर नचिनेर हुन्छ र ! सबैले ‘माड्साप्’ भनेकै छन् । मेरो माथिल्लो उपाधि हो- ‘वर्णमाला विशारद्’ ।
चाकरी – खुट्टा लागेदेखि पछि लागेर र बोली फुटेदेखि तारीफ गरेर धनीलाई रिझाउँदै आएको छु । मीठो पाए जूठो खान्छु, राम्रो पाए जडाउरी लाउँछु, दोमन कहिल्यै गर्दिनँ ।
सोख – पौडी खेल्नेदेखि हवाईजहाज हाँक्नेसम्म छ । कौवा कराएकोदेखि रेडियो बजाएकोसम्म सुन्न चाहन्छु । सवैजसो पत्रिकाको नाम कण्ठै छ। ज्याला पाए आचीको पनि आची सोर्नुदेखि लिएर नोटको बिटो बटुल्नसम्म पछि हट्तिन । माछेको आकार लिएर जन्मेका जोसुकैसँग पनि आफ्नो मतलव साध्य गर्न परेको छ भने, ‘हजुर’ ‘हस्’ लाई थेगो नै बनाउँछु ।
नयाँ मोटरलाई ठाडै, खोलभित्र झण्डा भएकोलाई नुहेर र झण्डा फरफराएको मोटरलाई कुप्रिएर नमस्कार गर्छु- मान्छे चिन्नु पर्दैन ।
भएको भए-
थाेक व्यापारी भएको भए प्रतिशतको झमेलातिर नलागेर धोक्राभरि नोट पाए निकासी या पैठारीको प्रमाणपत्र बेचिदिने थिएँ ।
खुद्रा व्यापारी भएको भए नूनदेखि लिएर सुनसम्मका सरसामानमा मिसोट गरी राति राति मात्र बेच्ने थिएँ । कथंकदाचित् पक्राउ परिहालें भने सम्भावित जरीमानाको अङ्कलाई दोब्राएर नजराना चढाइदिने थिएँ ।
धार्मिक भएको भए गोरक्ष-मण्डल खोली धर्मको ढोलक ठोक्तै सिमानामा गौशाला खोली गाई निकासी गर्ने थिएँ ।
राजनीतिज्ञ भएको भए आफू नभएको मन्त्रीमण्डल विल्कुलै बेकम्मा र आफू बसेको मन्त्री-मण्डल ज्यादै जागरूक र उत्तम भन्ने थिएँ ।
संवाददाता भएको भए माइजूहरूको स्वागत सत्कार खाई मामाहरूलाई खबर बेची बाँकी बचेको समाचार मात्र स्वदेशी हाकिमलाई बुझाइदिने थिएँ ।
सम्पादक भएको भए निर्देशानुसार सम्पादकीय लेखी थपघटको लागि चन्दादाताकहाँ तुरुन्त पठाएर पास भएपछि मात्र प्रकाश गर्ने थिएँ ।
कवि-लेखक भएको भए सके अनुवादै गरेर नसके सुनेकै भरमा भए पनि केही अण्ट-सण्ट कुरा लेखेर ‘योग्यता नपुगेका नेपालीहरूले मेरो कृतिकाे मर्म बुझ्न सक्तैनन्’ भन्दै हिँड्ने थिएँ ।
समालोचक भएको भए आफ्ना गुणगान गर्नेलाई तालुमा र बदनाम गर्नेलाई पैतालामा पुऱ्याएर लेख्ने थिएँ ।
विद्यार्थी भएको भए पढ्नपट्टिभन्दा पैसा कमाउनपट्टि बर्ता ध्यान दिने थिएँ ।
खसी भएको भए सङ्गठन-सम्मेलनको खाने पिउने हुलमूलमा पसेर आफू सिंगोरे भएको कुरा कुमार पाठीहरूको कानकानमा फुकी रजाई गर्ने थिएँ ।
खोसुवामा परेको भए सके साविककै जागिर थमाउने, नसके सिधै सही, पेट पाल्नको लागि सयुक्त मोर्चा कस्ने तर्खरमा लाग्ने थिएँ ।
सबै छाडी गाइने गायकै भएको भए पनि गोरखापत्रै गाएर किन नहोओस् सबैलाई लठ्याइदिन्थेँ ।
भाग्यले भनौं या दुर्भाग्यले त्यस्तो केही पनि हुन सकिएको छैन । अकेला यस्तो जिम्मेदारीपूर्ण काम गर्ने आँट पनि आएन। यस्तो पुनीत कर्तव्य पूरा गर्ने कार्यमा उमेर, नागरिकता, जाति, धर्म, लिङ्गको भेद आदि कुनै बार बारिएको छैन, मानिस-मात्रको निम्ति खुला छ । ल त अब तपाईं मसँग मितेरी लाउनुहुन्छ कि ?
०००
आधुनिक नेपाली हास्यव्यङ्ग्य (२०६०)
Subscribe
Login
0 Comments
Oldest










































