डा. खगेन्द्र लुइटेलनेपाली हास्यव्यङ्ग्यका जिजु वासुदेव लुइटेल- जिन्दाबाद !
यसपटक संयोग नै भनूँ— श्रद्धाञ्जलि लेख्ने, छाप्ने र लेखिने तीनै लुइटेल नै परेछन् । नेपाली हास्यव्यङ्ग्य फाँटका विशिष्ट महारथि वासुदेवको पुण्यस्मृतिमा विशेषाङ्कै निकाल्न तम्सिने फित्कौली लुइटेलको पनि जय होस् ।
नेपाली हास्यव्यङ्ग्य साहित्य भन्नेबित्तिकै वासुदेव लुइटेलको नाम स्वतः आइहाल्छ । यिनी यस कित्ताका अग्रणी व्यक्तित्व हुन् । यिनको नाम धेरै पहिँलेदेखि नै सुनिँदै-पढिँदै आइएको भए पनि यिनीसँग मेरो प्रत्यक्ष चिनजानचाहिँ निकै पछि मात्र भएको हो । दुवैजना लुइटेल, तर चिनजान किन यति पछि मात्र भन्ने ठानिएला ? कुरो नाजायज पनि होइन, तर म परें तेरथुमे लुइटेल उनी परे नैकापे लुइटेल । चिनजान ढिलो हुने एउटा कारण यही हो, तर त्यति मात्र होइन अर्को कारण पनि छ— उनी सारै टिमुर्किएका छन्, बाउँठा छन्, भेटेपछि एउटा न एउटा नाम राखिहाल्छन्… आदि भन्ने सुनिएकाले पनि उनलाई भेट्न उति जाँगर नचलेको हो । यसैले म काठमाडौं आएको पनि धेरै वर्ष बितेपछि मात्र उनीसँग मेरो परिचय भएको हो ।
वासुदेव लुइटेल मेरी श्रीमती लीलालाई धेरै पहिँलेदेखि राम्ररी चिन्दा रहेछन् र उनले एक दिन मसँग भेटेर परिचय गर्ने इच्छा व्यक्त गरेछन् । उनी निकै खरा छन् भन्ने सुनिए पनि त्यसले मलाई खासै फरक पार्नेवाला थिएन त्यसैले ठीकै छ जे भए पनि एकपटक भेटौं न त भनी २०५० साल पुसमा उनले काम गर्ने ठाउँ मदन पुरस्कार गुठीमा हामी बुढाबुढी पुग्यौं । त्यतिखेर उनी त्यहाँका कार्यालय सचिव रहेछन् । हामी त्यहाँ पुग्दा उनका कोठामा रहेको थोत्रो कुर्सीमाथि कोट मात्र झुन्डिएको थियो, मान्छे कोही थिएनन् । वासुदेवलाई उनका कुर्सीमा नदेखेपछि यताउति सोधपुछ गर्दा पत्ता लाग्यो उनी कमल बाबुकहाँ छन् भन्ने । त्यहाँ सोझै पस्ने अनुमति रहेनछ । नाम लेखेर एउटा स्लिप भित्र पठाएपछि कमल दीक्षित स्वयं हामीलाई लिन बाहिरर आए । त्यतिखेर उनी पनि हाम्रै बाटो हेरेर हामीलाई नै पर्खिरहेका रहेछन् । कोठाभित्र पस्नेबित्तिकै दौरासुरुवाल लगाएका एकजना तालुखुइले लुरिकान्ते देखिए । वासुदेव लुइटेल तिनै हुन् भनी चिन्न गारो परेन । त्यत्तिकैमा औपचारिकतावश कमल दीक्षितले हाम्रो परिचय गराइदिए । मैले पनि पितृतुल्य वृद्ध वासुदेवका हातमा ढोगिदिएँ । उनी केही नबोली मेरा मुखमा हेरेकोहेर्यै भए । म छक्क परें । केही छिनपछि उनले मुखको बिर्को खोले— ‘वासुदेवसँग टक्कर लिएर युनिभर्सिटीमा पढाउने खगेन्द्र लुइटेल भनेको तपाईं नै हो त ?’ भन्दै । मैले हजुर म नै हो किन र ?’ भनें । उनी केही क्षण पुनः अवाक् भए र फेरि बोल्न थाले— ‘लौ सारै अचम्म भयो । मेरो अनुमान र कल्पना आज पूरै फेल खायो ।’ खास कुरा के रहेछ भने उनी मलाई निकै पहिँलादेखि नै नामबाट चिन्दा रहेछन् अनि मेराबारेमा उनलाई अनेक कुरा सुनाइएको रहेछ । त्यसबाट उनले मबारे एउटा अजङ्ग जिउडालको धमर्धुस भुसतिघ्रे लुइटेलको बिम्ब बनाएका रहेछन्, तर ठीक विपरीत दुब्लोपातलो गोरो चिटिक्क परेको खगेन्द्र लुइटेललाई देख्दा तिनी आश्चर्यचकित भएका रहेछन् । ती कुरा उनले कत्ति पनि लुकाएनन्, खरर त्यहीँ बताए । मेराबारेमा कुरा लाउनेहरूप्रति झोँक्किए पनि । पहिँलो भेटमै उनको स्पष्टवादिता खुलिहाल्यो । मैले पनि खुलस्त रूपमै भनें— ‘तपाईं त सारै टकनटेउडीको बाउँठो हुनुहुन्छ भन्ने सुनेको थिएँ, तर मलाई त त्यस्तो लागेन ।’ हाम्रा यस्ता बाङ्गाटिङ्गा कुरा सुनेर कमल दीक्षित खित्का छाडेर हाँसे ।
चिया खाएर हामी वासुदेवका कोठामा आयौं । उनले मलाई टेलिफोन गर्न लगाएर उनको थोत्रो कुर्सी र कोट आउने गरी मेरो फोटो खिचे । उनले यस्ता फोटा धेरैको खिचेका रहेछन्, त्यो उनको शोख नै रहेछ । खिचेका फोटा अरूलाई पठाइदिए कि पठाइदिएनन् थाहा छैन, मलाईचाहिँ खामबन्द गरेर केही दिनमै पठाइदिए । त्यस दिन निकैबेर कुराकानी गरेर दिन अलि ढल्किएपछि हामी उनले दिएका केही पुस्तकहरू च्यापेर त्यहाँबाट कीर्तिपुर फर्कियौं । त्यतिखेर मलाई उनीसँग भेट गरी परिचय गर्न ढिलाएको महसुस भयो ।
केही दिनपछि वासुदेवले हामीलाई घरमा खान बोलाए । बाटो राम्ररी नदेखे पनि उनले बताएअनुसार हामी हिँंडेरै गयौँ । म समयमा अलि पक्का मान्छे भएकाले ठीक समयमै हिँंडेका थियौँ । उनी निकै वरसम्म हामीलाई लिन आएका रहेछन् । हामीलाई नदेखुन्जेल यताउति ओहोरदोहोर गर्दै हामी आउने बाटो हेर्दै थिए । त्यो दृश्य हामी देखिरहेका थियौँ, तर उनी हामीलाई देख्नेबित्तिकै नदेखेजस्तो गरेर लुसुक्क अर्कातिर फर्किए… हामीले बोलाएपछि मात्र पछाडि फर्केर ए आइपुग्यौ, समयमा त पक्का रहेछौ नि’ भने । भित्र त्यस्तो दिलदार, बाहिरर त्यस्तो खस्रो व्यवहार कम उदेकलाग्दो थिएन । दुवैले कुरा बुझेपछि तैँ चुप मै चुप भयौं… ।
हामीले बिहानको खाना सँगै खायौं । दिनभर घाम तापेर बस्यौं, खानपिन-बसउठ गरिएका थुप्रै फोटा खिचिए, ती सब अहिले मसँगै सुरक्षित छन् । दिनभर उनीसँग भलाकुसारी गर्दा पटक्कै दिक्दार लागेन, दिन गएको पत्तै भएन । हामी खाजासमेत खाएर बेलुकातिर घर फर्कियौँ । उनी निकै वरसम्म पुर्याउन आए । त्यस दिन किन हो म हर्षले निकै गदगद भएको थिएँ ।
वासुदेव नाम राख्ने काममा महापण्डित नै थिए । उनी हरेकलाई पहिँलो भेटमै एउटा न एउटा नाम राख्थे । भँगेरे काँग्रेस, भुसतिघ्रे काँग्रेस, स्वास्नीको लोग्ने, कालेबाजे, लाटीको छोरो, खुस्कान, बाहुन सार्की, घ्याम्पो, भालु ठकुरी, लाहुरे, छेत्री, जङ्गबहादुर, दालभात, भाइसाप, हजुरिया जर्नेल, माले, लमीराज तीनपाथी, बित्ते, राईबाहुन, झालेमाले, घटेरो, बाकी छोरी, बोक्सी, दन्तकाली, दखिनकाली, नेप्टी, नेपाली बुहारी, कायममुकायम, अर्नाभैंसी, गधाको गोठालो, ढाक्रे, ज्यानमारा, हवल्दार, बगलीमारा, गुपुचा, नारानघाटे, दन्तमन्जन, हेमुजी, भैंसीपाटी, जाँडको घैंटो, गोर्खे, कुपुत्र, खपरचिन्डे, तीनतारे, भुइँभालु आदि उनले राखेका नामका नमुना हुन् । कुनैकुनै नाम त अलि आपत्तिजनक पनि हुन्थे । सायद वृद्ध भएकाले होला उनले राखेका नामप्रति कसैले आपत्ति गर्दैनथे । कसैकसैले चाहिँ उनले राखिदिएका नामबाटै आफूलाई चिनाउन थालेको पनि देखिन्थ्यो । उनी टेलिफोन डायरी पनि सक्कली नामबाटभन्दा आपूmले राखेकै नामका क्रममा राख्थे । उनले मेरो नाम भाइसाब राखेका थिए । यसो भन्दा कसैले नचिनेमा कीर्तिपुरे लुइटेल भन्थे । उनी अरूका मात्र होइन आफ्नै पनि अनेक नाम राख्थे । भूतको भिनाजु, नैकापे काका, धुपौरे काका, लम्फु, बाउँठे बाजे, ताहाचलको स्याल, ढाडे बिरालो, डेढ अक्कली, अढाई अक्कली, भूतपूर्व जुँगेदाइ, जम्बुमन्त्री, टपरीनाथ, कान्छाकाजी, कुमारी शोभा, भेना, श्रीमान्, ठुटेभाइ, तनेबासे, अनाथ, सुब्बा, टेकनाथ, ओमकारनाथ उपाध्याय, खत्री, ओममणि आचार्य आदि अनेक नामबाट यिनले साहित्य सिर्जना गरेका छन् । यिनमा भूतको भिनाजु यिनको प्रसिद्ध नाम हो ।
यसपछि वासुदेवको र मेरो निकै हिँमचिम बढ्यो । टेलिफोनमा पनि लामै कुराकानी हुनथाल्यो । यो क्रम पछिसम्मै कायम रहृयो । विश्वविद्यालयसम्बन्धी, छात्रवृत्तिसम्बन्धी अनि त्यस्तै अरू केही कुरा गर्नु-बुझ्नु पर्यो भने उनी मलाई फोन गरिहाल्थे । उनीसँग प्रत्यक्ष रूपमा अनगिन्ती पटक भेट र भलाकुसारी पनि भयो । अनेक दुखसुखका कुरा भए । अझ भनौं पारिवारिक सम्बन्धै गाँसियो । उनका छोराबुहारी विद्यादेव र नन्दितासँग पनि घनिष्ठता बढ्यो, आवतजावत प्रशस्तै हुन थाल्यो । उनी बाहिररबाट जति टर्रा र शुष्क देखिन्थे भित्र त्यति नै गुलिया र रसिला पनि थिए । उनी झर्रा र खरा अवश्य थिए, तर सारै कोमल र संवेदनशील पनि थिए । मसँग दुखसुखका अनेक कुरा गरेर उनी धेरै पटक रोएका छन् र त्यस रुवाइमा मैले पनि आँसु झारेरै साथ दिएको छु । उनी रोएको मात्र होइन खितखिताएर हाँसेका क्षणहरू पनि मसँग प्रशस्तै छन् । बेलाबखत उनी मलाई अनेक अर्तीउपदेश दिन्थे, म तिनलाई सहजतापूर्वक ग्रहण गर्थें पनि । उनी मेरो उन्नति-प्रगतिमा सारै खुसी हुन्थे र खुलेर अरूसँग पनि प्रशंसा गर्ने गर्थे । उनी कुरा लुकाउन पटक्कै जान्दैनथे, एउटा किताबभन्दा पनि खुला थिए । शारीरिक रूपमा उनी निकै चाउरे र दाउरे भए पनि उनको मन सारै ठूलो र फराकिलो मात्र होइन स्वच्छ र सफा पनि थियो । यसको मतलब उनी कुनै कमीकमजोरी नै नभएका असामान्य व्यक्ति थिए भन्ने होइन, उनमा पनि सामान्य मान्छेका झैँ प्रशस्तै कमीकमजोरीहँरू थिए, तर उमेर र अन्य सत् गुणका कारण ती कमीकमजोरी गौण बनेका थिए ।
वासुदेवसँग भेट हुँदा सुरुमा निकै बाउँठा र सन्की खालका देखिए पनि क्रमशः अति मिलनसार हुँदै जान्थे । सामन्तीहँरूका संसर्गमा हुर्किएकाले उनमा त्यसको छाप केही परे पनि उनमा शोषणकलाभन्दा पोषणकला नै व्यापक थियो । वासुदेवका हरेक बानी अनौठा र हास्यव्यङ्ग्यात्मक पाराका थिए । उनी अतिथि भएर कहीँकतै कार्यक्रममा जा“दैनथे । कतैकतै फोटो पठाउँथे । अरूलाई पुरस्कार दिन्थे, आपूm लिंदैनथे । उनी झन्डावाल र डन्डावाल पटक्कै मन पराउँदैनथे । वासुदेव लुइटेल पुरस्कार वितरणमा पनि उनको फोटोमा ओढाइएको रामनामी झिकेर कार्यक्रम चलाइन्थ्यो र पछि छोपेर समापन गरिन्थ्यो । हरेक व्यक्तिका बेग्लाबेग्लै नाम राख्थे, तर सबैका प्रिय र सम्मान्य थिए ।
यस्ता विशिष्ट व्यक्तित्व वासुदेव लुइटेलले नेपाली साहित्यलाई पनि ठूलो गुन लाएका छन् । कसैको किताब छापिदिएर, कसैलाई अन्य सहयोग गरेर… । उनले कौवा प्रकाशन, हाम्रो प्रकाशन, भैरव प्रकाशन, ढुङ्गाअड्डा प्रकाशन, नैकाप भन्ज्याङ प्रकाशन, तेत्तीस पुतली प्रकाशनजस्ता विभिन्न प्रकाशन संस्थाहरू खोलेर थुप्रै हास्यव्यङ्ग्यात्मक कृतिहरूका साथै विभिन्न व्यक्तिहरूका जीवनी पनि छापिदिएका थिए । यिनले विभिन्न पत्रपत्रिकाको सम्पादन पनि गरेका थिए ।
१९७४ साल भदौ २३ गते जन्मिएका वासुदेव शर्मा लुइटेल १९९७ साल वैशाखदेखि लेख्न थालेका हुन् । उनका भूत छैन, चिठीचपेटा, भीमसेनपाती, जय नेपाल, …बाट, …बाटको बाँकी, कुराउनी, काकाका कुरा, व्यक्तिगत चिठी, बढारकु“ढारजस्ता थुप्रै कृतिहरू प्रकाशित छन् । उनका रचनाहरू होचापुड्का सङ्घमै दर्ता गर्न लायक निकै पुन्टा भए पनि सारै चोटिला र पेचिला छन् । ती जति रोचक छन् त्यति नै घोचक पनि छन् ।
त्रिभुवन विश्वविद्यालयबाट नेपाली एम्.ए. मा हास्यव्यङ्ग्य विषयक शोध गर्ने विद्यार्थीलाई दिइने भैरव-वासुदेव छात्रवृत्ति तथा पीएच. डी. गर्नेलाई दिइने वासुदेव-शान्ति विद्यावारिधि विद्वत्वृत्तिको स्थापनामा पनि यिनको महत्वपूर्ण योगदान रहेको छ । यी वृत्तिहरूबाट थुप्रैले लाभार्जन गरिसकेका छन् । २०५० सालमा ललितपुर पुल्चोकस्थित आफ्नो घर बेचेर एक लाख रुपैया“को वासुदेव लुइटेल पुरस्कार स्थापना गरिएको छ । त्यसपछि कालासेता अरू थुप्रै ठूलासाना पुरस्कार स्थापना गरिए पनि त्यो त्यतिखेरसम्म जनस्तरबाट स्थापित सबभन्दा ठूलो राशिको पुरस्कार थियो ।
२०५१ सालमा वासुदेव लुइटेलका बारेमा त्रिवि नेपाली केन्द्रीय विभागले एउटा शोध गराउने भयो । एकजना अन्धा विद्यार्थीले शोध लेख्ने भएर वासुदेवसँग भेटेछन् । ‘मेरा बारेमा गर्नु पर्दैन…’ आदि भनेर वासुदेवले हप्काएपछि ती विद्यार्थीले अर्कै शीर्षक लिएर मेरै निर्देशनमा शोध पूरा गरे । अर्को साल सोही शीर्षकमा शोध गर्न केशबहादुर नाम गरेका एकजना राई भाइले शोधप्रस्ताव बुझाए, स्वीकृत भयो । यी दुवै पटकको शोधनिर्देशक म नै थिएँ । राई भाइ पनि सामग्री सङ्कलनकै क्रममा वासुदेवको बाघे झम्टाइमा परेछन् । उनले पनि मसँग आएर त्यस विषयमा शोध गर्न नसक्ने बताए । मैले पनि तत्कालै फोन गरेर ‘आफूलाई कति ठूलो ठान्या…’ भनी वासुदेवलाई निकै हप्काएँ, उनी बोलेनन् । पछि ती राई भाइलाई रामै्र सहयोग गरे र तिनले मेरै निर्देशनमा वासुदेव शर्मा लुइटेलको जीवनी, व्यक्तित्व र कृतित्व शीर्षक शोधकार्य सम्पन्न गरे । त्यो शोधपत्र हास्यव्यङ्ग्यकार वासुदेव शर्मा लुइटेल शीर्षकमा २०५४ सालमा पुस्तकाकार रूपमा छापियो पनि । त्यसलाई मैले छाप्न हुन्छ नभनी नछाप्ने उनको अडान थियो । मैले हुन्छ भनेर आवश्यक सम्पादन गरिदिएँ र भूमिका पनि लेखिदिएँ । किताब छापिएपछि उनी सारै खुसी भए र त्यो किताब खुब बाँडे पनि ।
त्यसबेला उनले एकजनालाई सयवटाजति किताब साइकलमा हालेर मकहाँ पठाइदिएछन् र साथमा एउटा बन्द खाम पनि । खाम खोल्दा पैसा रहेछ, कति थियो मैले गनिन ।“ मैले ती किताब र खाम जस्ताकोतस्तै त्यही मान्छेमार्फत फिर्ता पठाइदिएँ र तत्काल फोन गरेर यस्ता काममा मैले अहिलेसम्म पैसा लिने गरेको छैन भनी कड्किएँ । उनले नरम भएर भने— भाइसाप, यो त सामान्य पारिश्रमिक हो लिनुपर्छ, सधैं सित्तैँ काम गर्न पनि त सकिन्न नि’ आदि आदि … । यसरी दोस्रो पटक मैले वासुदेवलाई गाली गरें । पछि लाग्यो— यति वृद्ध मान्छेलाई मैले त्यसो नगरेको भए पनि हुन्थ्यो भन्ने, तर उनले त्यसलाई कहिँल्यै नकारात्मक रूपमा लिएनन् । उनी पटकपटक धेरैसँग भन्ने गर्थे— ‘कीर्तिपुरे भाइसापले जबर्जस्ती मेरा बारेमा शोध गरायो, मलाई जीवनमा पहिँलो पटक गाली पनि गर्यो, तर उसको गाली मलाई रमाइलो लाग्यो… ।’ यसबाट उनको सहनशीलता र स्पष्टवादिता पनि छर्लङ्गिन्छ ।
२०६३ भदौ २३ गते बेलुका सुषमा दिदी (वासुदेवकी जेठी छोरी) बाट बाबा सारै सिकिस्त हुनुहुन्छ भन्ने खबर सुनेपछि भोलिपल्ट हास्यव्यङ्ग्य साहित्यकार मित्र नरेन्द्रराज पौडेल र हामी बुढाबुढी उनलाई हेर्न घरमै गयौं“ । उनी निकै सिकिस्त रहेछन्, वाक्य बसिसकेको रहेछ । मलाई देख्नेबित्तिकै उनी बर्र आँसु झारेर रोए, म पनि निकै भक्कानिएँ । भोलिपल्ट अर्थात् २०६३ भदौ २५ गते बिहानै उनी बिते भन्ने फोन आयो । रामबाबु अधिकारी र म रुझ्दैभिज्दै ढुङ्गाअड्डा पुग्यौं । त्यस दिन सारै ठूलो पानी परिरहेको थियो । प्रकृतिले पनि शोक व्यक्त गरेर आँसु झारेझैँ लाग्यो । उनलाई बाहिरर निकालिसकेको रहेछ । कसैलाई खबर नगर्ने भनिएको भए पनि त्यहाँ थुपै्र मान्छे भेला भइसकेका रहेछन् । मैले भावविभोर हुँदै दुई थोपा आँसुका साथ झुकेर श्रद्धाञ्जलि दिएँ । त्यहाँबाट रुझ्दैभिज्दै मलामी गइयो, घाटमा अन्तिम श्रद्धाञ्जलि दिई निथ्रुक्कै भएर निकै अबेर मात्र घर आइयो । त्यो रात निकै बेर निन्द्रा परेन, उनको सुकेर एक मुठीको दाउरा जत्रो भएको शरीर मानसपटलमा आइरहृयो । हुन त उनी जिउँदामा पनि लुरिकान्ते नै थिए, तर मर्ने बेलामा झन् फिस्टै भएका थिए । उनको जन्म महिना र गते अनि मृत्यु महिना र गतेमा दुई दिनको अन्तर परे पनि संयोगै भनूँ तिथिचाहिँ उही परेछ ।
आजीवन आफ्ना लागि भन्दा अर्काका लागि बाँचेका खुला दिलका वासुदेव माड्साब बितेर गए पनि उनको योगदान सधैं ताजा रहनेछ । नेपाली हास्यव्यङ्ग्य साहित्यलाई मलजल गरेर हुर्काउन उनको ठूलो योगदान रहेको छ, उनी नेपाली हास्यव्यङ्ग्य फाँटका जिजु नै हुन् । यो कुरा लुइटेल भएर भनेको होइन, सबैले मान्नै पर्ने सत्य कुरा हो । वासुदेवको भौतिक देह हाम्रा सामुबाट टाढिए पनि उनको सत्कार्य सदासर्वदा जीवित रहनेछ र उनी नेपाली साहित्यको हास्यव्यङ्ग्य फाँटमा सधैं अमर रहनेछन् भन्ने कुरामा शङ्कै छैन ।
अन्त्यमा, वासुदेव बितेर गए पनि नेपाली हास्यव्यङ्ग्य फाँटमा यिनको आत्मा घुमिरहने पक्का भएकाले त्यसलाई जिन्दाबाद भन्छु र यस्ता महान् व्यक्तित्व हास्यव्यङ्ग्यका जिजु वासुदेव शर्मा लुइटेलका आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु । यसपटक संयोग नै भनूँ— श्रद्धाञ्जलि लेख्ने, छाप्ने र लेखिने तीनै लुइटेल नै परेछन् । नेपाली हास्यव्यङ्ग्य फाँटका विशिष्ट महारथि वासुदेवको पुण्यस्मृतिमा विशेषाङ्कै निकाल्न तम्सिने फित्कौली लुइटेलको पनि जय होस् ।
०००
‘फित्कौली’ अङ्क १४, हास्यदेव वासुदेव स्मृति विशेष, (फागुन २०६३)
Subscribe
Login
0 Comments
Oldest









































