लेख निरौलाएकताको होली
नयाँ पालुवाको स्वरूपै अनन्त
नयाँ रंग छर्ने उदायो वसन्त
हिमाली पहाडी तराई छ होली
सबै रंग होली खुसीकै छ बोली ।
नया रंग होली सुनौलो गुलाबी
कतै लालिमाको छटापूर्ण थाली
कतै नीलिमा दूरता चम्किइन्छ
सबै रंग लाली बढी नै सजिन्छ ।
पँहेलो छटाको निसाना नखोजूँ
घना मेघजस्तो न ता रंग रोजूँ
निशा चाँदनीझैँ कतै श्वेत छाओस्
सुगन्धी सबै रंग होली रमाओस् ।
नयाँ वस्त्रमा रंग खेलूँ म नाचूँ
न ता सप्तरंगी खुसी साट्न साँचूँ
मिठाई जलेवी पुरी मात्र हैन
म खाऊँ खुवाऊँ जहाँ मिल्छ चैन ।
कतै सिंहिकाको कथा गुन्गुनाऊँ
कतै भक्त प्रह्लाद सम्झी रमाऊँ
कहाँ शक्ति कस्तो म सोच्नै नसक्ने
विना सप्तरंगी म होली नखेल्ने ।
कहाँ कृष्ण राधा कहाँ गोपिका छन्
कहाँ रंग खेल्ने हजारौँ कथा छन्
म सम्झूँ नसम्झूँ सबै ती पुराण
यही एकतामै रमाऊँ समान ।
कुनै द्वेष मेरो कसैमा नपाऊँ
न ता रंगले धर्म मेरो चिनाऊँ
बढी रंग छाऊँ जहाँ एकता छ
घना मित्रताको कसी साथमा छ ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































