केशवराज अर्याल ‘निश्चल’चिलिमचट
१. राजनिति
राजनीतिमा बाह्र बज्यो घण्टी लागेन,
सबै सुते नेताहरू कोही नि जागेन ।
बजेट आयो जब देशमा उठे फटाफट
बजेट हिसाब गर्नै नपाई सबै चिलिमचट ।
२. विकास
देशको विकास भन्दाभन्दै केहि भ्याएन,
सबै हेराहेर भयो, गोरु ब्याएन ।
किसानलाई मल छैन, महंगी बढिरा’छ,
विकास ओल्र्यो, राजनीति माथि चढिरा’छ ।
निर्माण गर्न भन्दा भत्काउन चासो,
नेपालीको बुद्धि देख्दा सारा दुनियाँ हाँस्यो ।
पर्यटन क्षेत्रभित्र कर्मचारीको खटपट,
कमिटी बन्छ भन्दाभन्दै सबै चिलिमचट ।
३. भट्टितिर
तिनपानेले नपुगेर बोत्तल सुक्र्याइयो,
साँइलीको तिघ्रा हेर्दै खल्ती रित्याइयो ।
यो पाराले कसरी हो सन्तान हुर्काउने,
नुनबिनाको खोले खुवाउने अनि फुक्र्याउने,
श्रीमतीको ढुङ्ग्री बेच्या पैसा कता गो,
बारी बेच्यो खेत बेच्यो हालत यस्तै भो ।
बिहान रामराम जप्दै दुई बोत्तल घटघट,
दुई तिन बोत्तल थप्दै जाँदा मान्छे चिलिमचट ।
४. म मास्टर
यसले पढ्यो डाक्टर बन्यो, ऊ नेता भो’
संगै पढ्या हर्केसाइँलो विदेहतिर गो
दाँयाबायाँ महल ठडियो आफ्नो झुपडी,
आफ्नो दशा देखेर,अरु बजाउँछन् थपडी ।
विद्यार्थीले सिँगाने सर भन्दै जिस्काउँछन् ।
आफू फेल हुन्छन् ,मलाई धम्क्याउँछन् ।
के को समाजसेवा केको मास्टर चल भाइ फटाफट,
नत्र अर्को बर्षदेखी जागिर चिलिमचट ।
चारघरे, नुवाकोट
Subscribe
Login
0 Comments
Oldest





































