साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनावी महाभारत

चुनावको बेला नेताहरूको माया देख्दा लाग्छ— हामी त उनीहरूको नातेदार रहेछौँ। पाँच वर्षसम्म नदेखिएका नेताजी अचानक ढोकामा आइपुग्छन् ।

Nepal Telecom ad

केशवराज अर्याल :

नेपालमा चुनाव भनेको मौसमजस्तै हो—आउँछ, गड्याङ्ग गुडुङ्ग हुन्छ, पोस्टर उडाउँछ, भाषण बर्सिन्छ, अन्तिममा सपनाहरू बाढीले बगाएर लैजान्छ । फेरि शान्त हुन्छ। तर, यो शान्ति पनि धेरै टिक्दैन असारको घामपानीजस्तै—छिनमै घाम फेरि छिनमै बादल, परिवर्तन निरन्तर ।

चुनाव घोषणा हुनासाथ शहरदेखि गाउँसम्म नातिदेखि हजुरबाउसम्म नेता–कार्यकर्ता अचानक सक्रिय देखिन्छन् । हिजोसम्म “जनता कहाँ छ?” भनेर गुगल म्याप खोज्नेहरू आज “जनताकै बीचमा छु” भनेर सामाजिक संजालको लाइभमा देखिन्छन्। अनि जितेपछि फेरि नेतालाई पो खोज्न गूगल सर्च गर्नुपर्छ । पाँच वर्षसम्म मुख नदेखाउने नेताहरु पनि ‘हजुर त आफ्नै मान्छे पो हुनुहुदोरहेछ’ भन्दै गफ जित्न तम्सिहाल्छन । चिया पसलमा पहिले जसलाई उधारो पनि नदिने, त्यही नेताजी आज त्यही पसलेलाई “दाइ, तपाईँकै आशिर्वादले देश बनाउँछु” भनेर मुस्कुराइरहेका हुन्छन् । चुनाव आउँदा घोषणापत्र यस्तो हुन्छ कि पढ्दा लाग्छ—अब नेपाल सिंगापुरभन्दा अगाडि र अमेरिकाभन्दा अलिकति मात्रै पछाडि छ । दिन अमेरिकालाई पनि उछिन्न बेर छैन ।

चुनाव जितेको पाँच वर्षपछि हाम्रै करले किनेको गाडी सडकको खाल्डोमा धस्दै र धुलो उडाउँदै आएका नेता बेफ्वाकको भाषण छाँट्न थाल्छ, – अब हामी सुरु गर्छौं “हरेक युवालाई रोजगारी”, “हरेक घरमा निःशुल्क वाइफाइ”, “सडक यस्तो कि खाल्डाखुल्डी आफैं भाग्छ।” कति बेला मासु र भात पाक्छ भन्दै घरी भान्सामा घरी भाषणमा पुग्ने हामीले पनि मनमनै सोच्छौँ— उहिलेको भन्दा राम्रो भाषण गर्‍यो, यसपटक त काम गर्छ जस्तो छ । तर अघिल्लो चुनावमा पनि त्यही भनिएको थियो।

घोषणापत्र भनेको कविता जस्तै हुन्छ— सुन्न मिठो, पढ्न रमाइलो, तर कार्यान्वयनमा भने आकाशको फलजस्तै । चुनावको बेला नेताहरूको माया देख्दा लाग्छ— हामी त उनीहरूको नातेदार रहेछौँ। पाँच वर्षसम्म नदेखिएका नेताजी अचानक ढोकामा आइपुग्छन् । कोहि, उखु बोक्ने, कोहि बन्दै गरेको घरमा इटा थपिदिने, मकै भुट्ने । तर, विचरा जनताहरुलाई के थाहा ? जितेपछि उनीहरुको एउटै उद्देश्य हो देश लुट्ने ।

पहिले चुनाव भनेको गाउँको चौतारो र मञ्चमा सीमित हुन्थ्यो। अहिले त चुनाव फेसबुक कमेन्ट सेक्सनमा जितिन्छ। कसैले केही लेख्यो भने तल ५०० कमेन्ट— “देश बचाउने यही पार्टी!” सत्य कुरा के हो भने, कमेन्ट लेख्नेहरू मध्ये आधाले त मतदान केन्द्र पनि भेट्दैनन् ।

युवा भन्छन्— “देश बदल्नुपर्छ।” तर मतदानको दिन आएपछि भने कोही घुम्न जान्छन् , कोही सुत्छन्, कोही भन्छ—“मेरो एक भोटले के हुन्छ ?”
त्यसपछि परिणाम आयो भने— “देश किन यस्तो ?”
देशले पनि भन्छ होला—“तिमीले मतदान नगरेपछि म कस्तो हुन्छ ?

चुनाव आएपछि देशमा कोही पनि नेपाली हुँदैनन् । कोहि भन्छन् म काङ्ग्रेस कोहि एमाले कोहि नेकपा कोहि रास्वपा कोहि राप्रपा , को हुने नेपाली ? यतिबेला गाउँ समाजमा कोहि बिरामी त के मान्छे नै पुर्लुक्कै ढले पनि उठाउने कोहि हुन्नन । उसलाई उठाए उसकै पार्टीको होकि भन्ने शंका फैलिने डरले अचेल मान्छेभित्र मानवता भन्ने शब्दले बसाइँ सरिसकेको छ ।

आफ्नो मतदानको दिन मतदान केन्द्रमा लाइन लाग्छ। केही त फोटो खिच्नमै व्यस्त—इंक लागेको औँला फेसबुकमा राख्न। क्याप्सन— “आज मैले देश बनाउने काम गरेँ।”देशले मनमनै सोच्छ— “ठिक छ, अब पाँच वर्ष म पनि तिमीहरूलाई हेर्छु।” परिणामपछि जसले जित्छ, ऊ भन्छ—“यो जनताको विजय हो।”
जसले हार्छ, ऊ भन्छ— “यो जनताको गल्ती हो।”

जनता भने चिया पसलमा बस्छन् र विश्लेषण गर्छन्— “हामीले त सोचेरै भोट दिएका थियौँ।” अनि भोलिपल्ट औंलाको मसी नसुक्दै छोराछोरीको पासपोर्ट बनाएर उनीहरुलाई त्रिभुवन विमानस्थल कटाइन्छ । रोएको नाटक गर्दै एउटा सेल्फी खिच्छन, फेसबुकमा हाल्छन् । अनि हिजो भोट दिएको नेतालाई आफैं गाली गर्न थाल्छन् ।

चुनाव त फेरि आउँछ, पोस्टर फेरि टाँसिन्छ, भाषण फेरि गुञ्जिन्छ। अन्तिममा चुनावी बाढीले लाखौं युवाहरुको सपनाहरू बगाइदिन्छ । तर, यदि जनताले पनि आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिए भने— साँचो परिवर्तन सम्भव छ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
लालपुर्जामा फोटो टाँस्न त पाइन्थ्यो

लालपुर्जामा फोटो टाँस्न त...

केशवराज अर्याल ‘निश्चल’
मै हुँ चिडियाखाना

मै हुँ चिडियाखाना

केशवराज अर्याल ‘निश्चल’
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x