रामशरण न्याैपानेहोली
पर्व परेको अरि-जन क्षयको लोक रमेको हरिहर जयको रङ्गसँगै लिनु रमझम वयको चाड बसन्ती अति मधुरम यो॥

रामशरण न्याैपाने :

रङ्गछ होली सबतिर अहिले
त्यो ललनाकै घरतिर पहिले
मानवचोला रसिक छ जहिले
घुम्नु रमाई रनबन कहिले?॥१
वृक्ष बधू झैँ पुलकित यसरी
पीत छ सारी पहिरन जसरी
वास सुगन्धी वरिपरि लसरी
चल्दछ मीठो पर हुनु कसरी ?॥२
दूर भयो लौ घन पनि नभको
दीप्त गरायो मन पनि सबको
भीर गुराँसे रजमय पवको
चड्दछ लाली सबतिर वयको॥३
बग्दछ झर्ना अभिनव रसमा
फूल बसन्तीसित उठ बसमा
मात पलाई सब छ सकसमा
गर्न छ गाह्रो मनकन वशमा॥४
वस्त्र भिजाई लफलफसित नै
हुन्छ सबैको तन परिचित नै
मौसम छायो प्रिय परिमित नै
छैन कसैको मन भयभित नै॥५
पर्व परेको अरि-जन क्षयको
लोक रमेको हरिहर जयको
रङ्गसँगै लिनु रमझम वयको
चाड बसन्ती अति मधुरम यो॥६
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































