केशवराज अर्याल ‘निश्चल’मै हुँ चिडियाखाना
कति बेला कोइली बनेर गाउन खोज्छ, कहिले डाँफेझैं नाच्छ त कहिले पिँजडाको सुगा । कहिले कागजस्तो कर्कस बनेको छ, जिन्दगीको अर्थै छैन बुङ्गा हुँ म बुङ्गा ।

केशवराज अर्याल :
किन जानुपर्यो चिडियाखाना
आउ हेर मलाई
मै हुँ चिडियाखाना ।
सानैदेखि आमाले कुकुर भनिन्,
बाले गधा पाजी,
कसले के के भने सुनाइदिन्छु ।
कति राख्ने बाजी ?
मेरो भाइ बाघ हो भन्दै, बुई चढेर दिदी बन्थी दुर्गा
होमवर्कको निहुँले मिसले बनाइदिन्थिन् मुर्गा ।
छिमेकीले कतिपल्ट लाटोकोसेरो भने,
साथिभाइले नै कतिपल्ट बोका भने ।
भिनाजुले नै कहिलेकाहीँ गोरु भन्थे ।
कुनै काम गर्न आँट्दा दाइले भेडो भन्थ्यो,
अनुहार राम्रो थिएन भाइले च्याङ्रो भन्थ्यो
खान लाग्दा बहिनीले गिद्ध भन्थी मलाई ।
म बोले काका भन्थे, बढी बोल्छ्स् फ्याउरो तँलाई ।
चार वर्षमा एकपल्ट आउँथी भान्जी
आफूलाई मैनाचरी ठान्थी ऊ, मलाई चिम्पान्जी ।
रुख चढ्न सीपालु मलाई कोहि भन्थे लङ्गुर
धुलोमैलोमा खेल्दा, कोहि भन्थे सुङ्गुर ।
भाइबहिनीको नजरमा सिंह भए पनि
गुरुको नजरमा म स्याल हुँ स्याल ।
पुरै चिडियाखाना मै हुँ कान्छी थुनिहाल झ्याल ।
छाउरो भन्दा उहिले छिमेकीको छोरोले कुटाइ खायो ।
मलाई सिंह भन्दा बरु एउटाले मिठाई पायो ।
मलाई डन्की भन्दा अस्ति एउटाको दाँत झर्यो ।
मन्की भन्दा हिजो अर्कोको आँखा फुटेर मर्यो ।
केटाकेटीको उमेर गैसक्यो, मेरो गैंडा भो ज्यान ।
कालो अक्षर भैंसी बराबर मलाई भनेनी म दिन्न ध्यान ।
कहिले, काग जस्तो बाठो बन्दा धोका खाइयो ।
कहिले, बाख्राझैं बाली चोर्दा ढुङ्गाको पोका खाइयो ।
तिमीले बिरालो जस्तो देखे पनि म बाघ हुँ बाघ ।
धेरै जिस्किँदै नआऊ गर्जुला, बरु भाग ।
तिमीले चाहे, भालु भन चाहे कालो गाई
केही फरक पर्दैन सर्पजस्तो गुजुल्टेको मनलाई ।
कति बेला कोइली बनेर गाउन खोज्छ,
कहिले डाँफेझैं नाच्छ त कहिले पिँजडाको सुगा ।
कहिले कागजस्तो कर्कस बनेको छ,
जिन्दगीको अर्थै छैन बुङ्गा हुँ म बुङ्गा ।
किन जान्छौ तिमी पैसा तिरेर जु
कहिले नागिन बनेर नाच तिमी
कहिले कुकुर भन मलाई ।
म पनि खुट्टा उचालेरै गरिदिन्छु सुसु !
०००
हाल : काेरिया
Subscribe
Login
0 Comments
Oldest







































