अर्जुन दाहाल (क)आधा सत्य, आधा भ्रम – ४१
हप्तामा तीन दिन विद्यालय जाने र बाँकी चार दिन जे मन लाग्यो त्यही गर्न पाउने नियम बनाउने उनको योजना चाहिँ हामीलाई पनि गज्जबकै लागेको छ।

अर्जुन दाहाल (क) :
नेपालका पार्टीहरूमध्ये सबैभन्दा फरक र चर्चित पार्टी श्रम संस्कृति पार्टी हो भन्नु गलत हुँदैन। श्रम गरौँ, पसिना बगाऔँ, माटो छुऔँ जस्ता राम्रा नारा यस पार्टीका विशेषता हुन्। तर यति मात्र राम्रा पक्ष भने छैनन्।
अन्य राम्रा पक्षहरूमध्ये प्रमुख एक यो पार्टीका अध्यक्ष नै हुन्। गिटार बजाउन जान्ने, फेसबुक चलाउन जान्ने, गीत गाउन जान्ने, बेल्चा चलाउन जान्ने— यी सबै उनका मुख्य विशेषताहरू हुन्। उनी गाली गर्न पनि जान्दछन्। उनी घमण्ड गर्दैनन्, किनकि घमण्डको हजुरबुवा नै उनका साथी हुन्। उनको हातमा रहेको विधान कुन बेला कसलाई पार्टीमा राख्ने वा निकाल्ने भन्ने निर्णय “ग्रीन टी” को चुस्कीसँगै प्रयोग हुने गर्दछ। हाल मेयरको जिम्मेवारीलाई खासै महत्व नदिई प्रधानमन्त्री बन्ने सपना देखेका उनी धरानबाट इलामसम्म हिँडेरै पुगेका थिए।
आफू प्रधानमन्त्री भएर संविधान फेर्ने, कानुन बनाउने र श्रमलाई मुख्य प्राथमिकतामा राख्ने उनको योजना छ। हरेक घरबाट एक जनाले अनिवार्य आर्मी तालिम लिनुपर्ने, स्कुल जाने विद्यार्थीले झोलामा माटोको डल्लो बोक्नुपर्ने उर्दी उनले जारी गरेका छन्। हप्तामा तीन दिन विद्यालय जाने र बाँकी चार दिन जे मन लाग्यो त्यही गर्न पाउने नियम बनाउने उनको योजना चाहिँ हामीलाई पनि गज्जबकै लागेको छ।
फूलमान, लुसिफर र लाम्तानेलाई झरेको केसजत्तिको पनि मूल्य नदिने ती मेयरले अहिलेको सरकार भारतीय दूतावासले बनाएको दाबी गरेका छन्। “प्रधानमन्त्री म बन्नुपर्छ” भनेर टोपी थाप्दै आर्मी मुख्यालय पुगेका उनले ‘थू–थू’ वाला एक थान गीत गाएर फर्किएको कुरा जेन जी सुडानले हिजो मात्र कार्की आयोगमा बयान दिने क्रममा बताएका छन्।
०००
(व्यङ्ग्य लेखक नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार हुन् )
Subscribe
Login
0 Comments
Oldest







































