अर्जुन दाहाल (क)आधा सत्य, आधा भ्रम – ४८
“तिमी देशद्रोही हौ। तिमी मगन्ते, फिरन्ते हौ। तिमीले आफ्नै किताब बेचेर १२ करोड देशलाई बुझाएको रकमले चलेको कृषि औजार कारखाना तुरुन्त बन्द गरिनेछ।”

अर्जुन दाहाल (क) :
आधा सत्य, आधा भ्रमको आजको अंकमा हरामकुमारी झाँक्रीको दोस्रो संस्करण लेख्न कथाले माग्यो।
नेताहरूबाट यसै पनि जनता वाक्कदिक्क भएको बेला हरामकुमारीको दुर्गन्ध अहिले विश्वभर रहेका नेपालीसम्म आइपुगेको छ। उनको खास बिराम नै दुर्गन्ध फाल्ने रहेछ। यो बिरामले हरामकुमारीमा देखिएका लक्षण र त्यसको प्रभावबारे खुलाउन जरुरी पर्यो।
राष्ट्रियसभा सित्तैमा भेटेको बा को नसो खाएर रन्थनिएकी हरामकुमारी गत हप्ता गुल्मी पुगेकी थिइन्। उनी त्यहाँ पुगेर स्टेज चढिन्। स्टेजमै उत्तानो परिन्। घोप्टो परिन्। भित्तामा छिपिएको ढुङ्गामा टाउको ठोकाइन्। स्टेजमै झाडापखालाका संकेत पनि देखाइन् र बिष्ट कमरेडको क्षेत्रमा दुर्गन्धित पारेर नराम्ररी बिस्ट्याउँदै बाटो लागिन्, जसको दुर्गन्ध माथि लेखेजस्तै विश्वभर फैलिएको छ।
हरामकुमारीका प्रमुख शत्रु मलेसियाको बालुवामा उँट चराइरहेका हरि बुढामगरदेखि हार्डबर्डमा अध्यापन गराइरहेका गजेन्द्र गुरुङसम्म रहेछन्। प्रवासमा रहेका हरेक नेपालीलाई हरेक बिहान र बेलुका सरापेर मात्र उनको दैनिकी सुरु र अन्त्य हुने गरेको छ रे। साहुको ऋण मागेर साउदी पुगेको सालीग्रामले बनाएको एकतले घर देख्दा आगो झोसिदिन मन लाग्छ रे उनलाई। इजरायलको बंकरबाट ईश्वर राजवंशीले पठाएको केही रकम देख्दा उनमा रिसको राँको बल्छ रे।
गुल्मीमै उनै हरामकुमारीले जीवनभर देशको सेवा गर्ने अठोट गरेका एक सन्त वैज्ञानिकलाई तथानाम गाली गर्दै भनिन्, “तिमी देशद्रोही हौ। तिमी मगन्ते, फिरन्ते हौ। तिमीले आफ्नै किताब बेचेर १२ करोड देशलाई बुझाएको रकमले चलेको कृषि औजार कारखाना तुरुन्त बन्द गरिनेछ।” यो उनले राष्ट्रियसभामा गरिने प्रस्तावको घोषणा समेत गरिन्।
यस्तो दुर्गन्ध बालाई चाहिँ बस्ना आउँछ वा वाक्क आउँछ ? राष्ट्रियसभाको नासो बाँदरलाई लिस्नो हुन्छ वा हुँदैन ? हे ! मालेहरूको विश्व सञ्जालले यस्तो दुर्गन्ध हटाउन धूप बाल्छ वा नाक तेर्साएर सास लिन्छ, हेर्न बाँकी नै छ।
०००
(व्यङ्ग्य लेखक दाहाल “नुन–चिनी–पानी अमेरिका” का परिकल्पनाकार हुन् ।)
Subscribe
Login
0 Comments
Oldest







































