अर्जुन दाहाल (क)आधा सत्य, आधा भ्रम – ४७
यति सब हुँदाहुँदै पनि यतातिरका घण्टी समितिका घण्टबहादुर भने चिसो मौसममा तातो सिरकभित्र घण्टी बजाइरहेका छन् भन्ने आरोप छ।

अर्जुन दाहाल (क) :
नेपाल चुनावमय भएको छ। थरिथरिका, परिपरिका उम्मेदवार देख्न पाइएका छन्। विदेशबाट भोट हाल्ने त उही टिकारामको फेसबुकमा मात्रै हो आखिर। विदेशमा नेपाली चुनावको प्रभावबारे आज केही कोट्याउन बाध्य छ नुन–चिनी–पानी।
हिजो मात्रै भर्जिनियाबाट रायन दाइको फोन आएको थियो। फोन उठाउनेबित्तिकै उहाँ रन्किँदै भन्नुभयो, ” तिमी घण्टे हो भाइ?” बिहान–बिहानै (दाइको त सुत्ने बेला) किन यति रिसाउनुभएको होला भनेर मेरो मनको घण्टी बजिरह्यो। खासमा उहाँको श्रीमती (मेरी भाउजू) ले बजाएको घण्टी र नेपालबाट भाइले बजाएको घण्टीको रिस बिहानै मलाई पोख्नुभएको रहेछ।
अर्का मित्र चन्द्रायानलाई मैले नै फोनको घण्टी बजाएँ। साथी अध्यात्मिक भएकाले मन्दिरमा घण्टी बजाउँदै हुनुहुँदो रहेछ। छोटो कुरा गर्दा उहाँले “के पीले हार्छ कि” भन्ने डरको घण्टी बजिरहेको कुरा सुनाउनुभयो।
चुनावी सरगर्मीको घण्टी हामी विदेशियालाई राम्रैसँग बजिरहेको देखिन्छ। यता मेरै सहरका बच्छगोत्री प्रचण्ड दिनमा दस पटक ‘घण्टे’ लेखेर मात्र सुत्ने—उहाँको दैनिकी नै बनेको छ। मेरा मुक्तकहरूमा निरन्तर लाइक–कमेण्ट गर्ने टेक्सास निवासी हरिओम भट्टराई आजभोलि मुक्तकमा घण्टीको गन्ध आएको आरोप लगाउँदै तर्किन थाल्नुभएको छ।
पर्शुनारायण दाइलाई चाहिँ एल्गोरिदमले दुःख दिएको छ रे। यसो फेसबुक खोल्यो—उही घण्टी, फेरि पनि घण्टीकै भिडियो। एक दिन त आफ्नै ८६ वर्षीया आमाले मुस्कुराउँदै “घण्टी–घण्टी” भन्दै गरेको भिडियो देखेपछि उहाँ भावुक हुनुभएको कुरा बताउनुभयो।
उता बोस्टनमा भने सि. वैज्ञानिक विष्णुलाल झोला भरी घण्टी बोकेर ल्याब जाने गरेको कुरा उहाँका सहयोगीले बताए। म आफैं समय काट्न यसो टिकटक छिर्न पर्यो भनेको भिक्टर दुलाल १००० भन्दा बढी लाइभ दर्शक राखेर भाषण दिदै।
यति सब हुँदाहुँदै पनि यतातिरका घण्टी समितिका घण्टबहादुर भने चिसो मौसममा तातो सिरकभित्र घण्टी बजाइरहेका छन् भन्ने आरोप छ। घण्टा हानेर पैसा ल्याउने अनि बुढी खुसी पार्ने यस्ता घण्टबहादुरबाट चुनावी घण्टीलाई खासै फाइदा नहुने कुरा उनीहरूकै अभिभावक प्रदीप थापा दाइजीले डराइडराइ सुनाउने गरेका छन् ।
०००
(व्यङ्ग्य लेखक दाहाल “नुन–चिनी–पानी अमेरिका” का परिकल्पनाकार हुन् ।)








































हैट लास्ट कडा 😄