अर्जुन दाहाल (क)आधा सत्य : आधा भ्रम- ५०
यदि नेपालको चुनावबारे अमेरिका बसेर चिन्ता गर्नुहुन्छ भने “नेपाआइटी” खोजेर मतदान गर्न सक्नुहुनेछ। “जय नेपाल, गए अमेरिका, भए नेता ।

अर्जुन दाहाल (क) :
पानी झरी परेको बेला हिँड्ने बटुवा भिज्नु वा छिटा पर्नु स्वाभाविक नै हो। त्यसरी नै चुनाव लागेको बेला यसैको खेलमेलो गर्नु खासै अन्यथा हो जस्तो लागेन। त्यसैले उचाल्न-पछार्न सुरु गरियो।
अहिले धेरैको चियोचर्चो कुन पार्टीले कति सिट ल्याउला भन्नेमा केन्द्रित छ। आ–आफ्नो रोटी सेक्ने गरी, सूर्यलाई हत्केलाले छेक्ने गरी, नाङ्गो भएको देख्ने गरी मानिस किन प्रस्तुत भएको होला? खै! आँकलन गर्नेहरूले संकलन गर्ने सामग्रीहरू कताबाट झार्छन्, कुन्नि।
मेरो फोन सर्वेक्षणअनुसार क्यालिफोर्नियामा बस्ने कार्की दाइले रास्वपाले १६७ सिट ल्याउने दाबी पेस गरे। केन्टुकीका कडरिया काकाले गगनले ९० सिट पुर्याउने कुरा बताए। कनेक्टिकटका कुन्दन भाइले माओवादी पहिलो पार्टी बन्ने ठोकुवा गरे। उत्तर क्यारोलाइनाका उत्तमजीले राप्रपाको सरकार बन्ने घोषणा गरे। मिनियापोलिसका मिलन भाइले त छाती ठोकेर “अबकी वार धमला सरकार” भने।
यही अमेरिकामा नै हर्कले बहुमतको सरकार बनाउँछ भन्ने माटोरामहरू पनि भेटिए। कति उम्मेदवार मैदानमा छन्, कसले जित्यो भने कसरी सरकार बन्छ भन्ने पत्तो नपाउनेहरूले लुसिफर, युक्रेन, सिआइए र भूराजनीतिको कुरा चाहिँ ट्वाइलेटमा बसेको बेला गर्नु उचित हो कि !
मलाई पनि यो पटक धमलाको पार्टीले सरकार बनाउँछ भन्ने चाहिँ पूर्ण विश्वास छ, किनकि पिपुल्स कलेजमा आईए पढेर मास्टर्स गर्न नभ्याएका पात्र उनै हुन्। खासमा उनी राम्रा गायक मात्र होइनन्, कलाकार पनि हुन्। एक दिन सांसद भएर राम्रो पत्रकारिता पढ्ने उहाँको ठूलो सपना छ।
अन्त्यमा, यदि नेपालको चुनावबारे अमेरिका बसेर चिन्ता गर्नुहुन्छ भने “नेपाआइटी” खोजेर मतदान गर्न सक्नुहुनेछ।
“जय नेपाल, गए अमेरिका, भए नेता ।”
०००
(व्यङ्ग्य लेखक दाहाल ‘नुन–चिनी–पानी अमेरिका’ का परिकल्पनाकार हुन्।)
Subscribe
Login
0 Comments
Oldest






































