मनोज गजुरेलसंविधानको मस्यौदामा गजुरियल सुझाव
(नयाँ संविधानको मस्यौदा तयार भैसक्यो । सुझावका लागि जनतामा आएको छ । थप्नुपर्ने केही रियल सुझाव गजुरियल शैलीमा तयार गरेको छु । ठीक लागे सभासद्सम्म पु¥याएर संविधानमा उल्लेख गर्न दबाब दिनुहोला, बेठीक लागे एक मुखले पढेर अर्को मुखले उडाइदिनुहोला ।)
प्रधानमन्त्रीको योग्यता
कम्तीमा कृषि, अर्थ तथा परराष्ट्र विषयमा तीनवटा पिएचडी गरेको, उमेर नढाँटेको, ५० नकाटेको, बोली प्रस्ट, शरीर स्वस्थ र स्मरणशक्ति चुस्त रहेको, परस्त्रीसँग नाम नजोडिएको, स्व–स्त्रीसँग नाता नतोडिएको तथा कम्तीमा तीन पटकसम्म विपश्यना ध्यानको कोर्स पूरा गरेको नेपाली नागरिकमात्र संघीय गणतन्त्र नेपालको प्रधानमन्त्री बन्न पाउनेछ ।
शिक्षा तथा संस्कृति मन्त्री
स्वदेशबाटै एजुकेसनमा मास्टर्स डिग्री गरेको, अन्तर्राष्ट्रिय युनिभर्सिटीको पिएचडी होल्डर, कम्प्युटर चलाउन जान्ने, सादा जीवनशैली भएको, पारिवारिक सम्बन्ध सुमधुर भएको तथा एक दर्जन अन्तर्राष्ट्रिय भाषा फरर बोल्न सक्ने नागरिकमात्र शिक्षामन्त्री हुन पाउनेछ । संस्कृति मन्त्रीका हकमा कम्तीमा बाह्र वटा भाषाभाषीका गीतमा नाँच्न सक्ने, चौबीसवटा राष्ट्रिय भाषा जानेको हुनुपर्नेछ । योग तथा ध्यानको डिप्लोमा दुवै मन्त्रीका लागि अनिवार्य छ ।
वातावरण तथा स्वास्थ्यमन्त्री
स्वास्थ्य विज्ञानमा डक्टरेड, वातावरणमा मास्टर डिग्री तथा जलवायु परिवर्तनमा ब्याचलर गरेको, खैनी, चुरोट र गुट्काको लत नभएको, शारीरिक एवं मानसिक स्वस्थताको डाक्टरी सर्र्टििफकेट प्राप्त, स्वास्थ्यमा प्रतिकूल असर पार्ने उद्योगमा लगानी नगरेको, वातावरण विरोधी साधन प्रयोग नगर्ने तथा नियमित प्राणायाम गर्नेमात्र वातावरण तथा स्वास्थ्यमन्त्री हुन पाउनेछ ।
उड्ययन तथा पर्यटन मन्त्री
हवाई उडानको लाइसेन्स भएको, जहाज मर्मत कोर्स पूरा गरेको, ६७ जिल्ला घुमेको, सगरमाथा आरोहण गरेको, विदेशी भाषाको कक्षा लिएको, नेपालका डाँडाकाँडा सजिलै हिंड्न सक्ने, मूलघर नबेचेको, छोरी विदेशमा नबसेको तथा छोरालाई नागरिकता दिने व्यक्ति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्न सक्छ । नोट ः बुद्धको अस्टांगिक मार्गको दीक्षा अनिवार्य छ ।
कृषि तथा वनमन्त्री
वनविज्ञानमा मास्टर्स तथा एग्रो इन्जिनियरिङमा पिएचडी गरेको, हलो जोत्ने अनुभव भएको, ट्रयाक्टर चलाउने लाइसेन्स प्राप्त, काठ व्यापारमा असंलग्न, धानमिलवाला आफन्त नभएको, स्वदेशी उत्पादनमात्र प्रयोग गर्ने, मोही पार्न जान्ने, घिउ बनाउने ज्ञान भएको, दिउँसै नमात्ने, महिला नसमात्ने जस्ता योग्यता भएको मानिसमात्र कृषि तथा वनमन्त्री हुन पाउनेछ । संयक व्यवहारसम्बन्धी नैतिक शिक्षाको कक्षा अनिवार्य लिएको हुनुपर्नेछ ।
सांसद्को योग्यता
कम्तीमा एसएलसी उत्तीर्ण गरेकाले पहिलो प्राथमिकता पाउनेछन् तर, पढाइमा पास अनि जीवनमा फेल भएकाले सभासद् हुन पाउनेछैनन् । घरकी नछोडेको, अर्की नजोडेको, चोरीको बात नलागेको, ऋण तिरेको, बाँकी नखाएको, डिभी नभरेको, पीआर नलिएको, पासपोर्ट नबेचेको, पत्नी कुटपिटको केस नभएको, पति चिथोरेको मुद्दा नचलेको, बाहिरभन्दा घरकाको, आफूभन्दा अर्काको काम गर्ने मानिस संसद्को सदस्य हुन पाउनेछ । माथिका योग्यताहरू सही छन् भन्ने कम्तीमा ५ हजार जनाको हस्ताक्षर निर्वाचन अधिकृतलाई प्रमाणस्वरूप पेश गरेपछि मात्र नोमिनेसन गर्न पाइने छ ।
नागरिकता हरण
सार्वजानिक स्थलमा होहल्ला गरे, गुण्डागर्दीमा संलग्न भए, झुटो बोले, अनैतिक कार्य गरे जो–कसैको पनि नागरिकता निलम्बन हुनेछ । निलम्बितको मोबाइल खोसी ६ महिनादेखि ५ वर्षसम्म दुर्गमको सुधारकेन्द्रमा पठाइनेछ । सुध्रिएकाको नागरिकता पुनर्वहाली गरिनेछ भने नसुध्रनेको हकमा अरबको गर्मीमा काममा पठाइनेछ र तलब सोझै नेपालको राष्ट्रिय कोषमा जम्मा हुने व्यवस्था गरिनेछ । हत्या, बलात्कार, अपहरण, भ्रष्टाचार, राष्ट्रघात एवं शत्रुसँग साँठगाँठ प्रमाणित भए नागरिकता र पासपोर्ट खोसी देश निकाला गरिनेछ र अर्को देशमा पनि पस्न पाउनेछैनन् ।
साप्ताहिकबाट
Subscribe
Login
0 Comments
Oldest










































