बद्रीप्रसाद दाहाल ‘भस्मासुर’भाषा कुरुपै भयो !
हाम्रा धीर प्रकाण्ड पण्डित–प्रभा, हौ भारती– भाष्कर ।
हाम्रा संस्कृति सभ्यता सिप कला, हौ एकता दीपक ।।
पूरै वाङ्मय काव्य– कानन फुल्यो, माली सुसारे तिमी ।
भाषा वा कविता सुधा–रस दिने, हौ राष्ट्र सञ्जीवनी ।।१।।
नेपाली जनका मुहार हँसिला, पारेर लेख्थ्यौ कवि !
नेपाली मनका पुकार रसिला, सारेर लेख्थ्यौ कवि ! !
भाषा व्याकरणै सजाउन गयौ, आफ्ना महा–काव्यमा ।
चोखो मौलिकता अलङ्कृत कला, खोल्यौ घना–साधना ।।२।।
हे भानू ! तर आज विज्ञ जनले, भाषा बिगार्दै गए ।
आफ्ना गौरव उच्च पौरख भुली, मात्रै बिकाऊ भए ।।
भत्काई सब वर्ण अक्षर यहाँ, वित्यासमा रल्लिए ।
प्राडा–का पगरी अराजक बनी, भूकम्पझैं हल्लिए ।।३।।
भाँड्भैलो छ अचाक्ली विज्ञ जनमै, गम्भीर बन्नै भुले ।
छैनन् खोज–गवेषणा सतहमै, मस्ती गरेरै झुले ।।
मात्रै नक्कल गर्दछन् पर–प्रथा, मेटेर आफ्ना पन ।
हाम्रो वाङ्मय काव्य खोक्रिन गयो, रित्तेछ प्रज्ञा किन ? ।।४।।
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































