अमर अधिकारीपाँचतोला सुनको दाम्लोधारी सुकुम्बासीका नाममा…!
सुकुमबासी क्षेत्रमा पनि दलाली चल्छ र तिम्रा हर्ताकर्ताहरुले पाँचतोला सुनको दाम्लो घाँटीमा लट्काएर डान्सबार र क्याफेतिर रमाउँछन्। यता देखिने सुकुमबासी उता भने हुकुमबासी !!

अमर अधिकारी ‘कीर्तिमानी’ :
कहिँ नभा जात्रा हाँडीगाउँमा भने झैँ हाँडीगाउँ मात्र के ? काठमाडौँ खाल्डो मात्र के ? पूरै देशमा चटक र नाटक कति हेर्नु ?? म सिंहदरबारभित्र बाह्र वर्ष बिताउँदा कथित नेताहरुले सिंहदरबारलाई नाटक मञ्चन गर्ने रंगमञ्च गराएनन् कि, विभिन्न खेलहरु खेल्ने रंगशाला बनाएनन् कि ! दाबीका साथ म भन्छु सैतानहरुले देशाँ जनताको भावनालाई दाइँ गरेर सातपुस्ता पुग्ने सम्पत्ति जोडेकै हुन्। स्विस बैंकका कुरा निकै सुनिन्छन्, त्यो स्विस बैंकको नाम धेरै सुनियो। त्यो बैंक ठूला खालका चीलगाडीमा हालेर थपक्क नेताटोलमा स्थानान्तरण गरेको भए किन स्विस बैंक र फ्विस बैंक धाउनुपर्थ्यो ? अझ मेरो व्यक्तिगत कुरा गर्ने हो भने मसँग सापटी लगेर गएका मामुली नेता पछि मन्त्री बनेपछि सापटी भुसुक्कै बिर्सेछन्, सुक्को पनि फिर्ता गरेका छैनन्। त्यति मात्र कहाँ हो र ? विभागीय निर्देशकले समेत मेरो पैसा दमपच पार्ने सुरसारमा छन्, सोझो हुनु पनि दशा नै हो। न झार्न सकिने न त उताको पैसो यता सार्न सकिने।
अब शीर्षक अनुसारको बखान गर्नु नै बेश होला। भारतको साविक बम्बई हालको मुम्बईमा उहिलेदेखि झुपडबस्ती कायम छ। त्यहाँ एउटा झुपडीमा बस्ने खाइलाग्दा आदमीको सहरमा भने ठूलो खालको मीठाइ पसल छ रे। उनी पसलमा बस्दासम्म घाँटी वा गर्धन र नाडीमा गरेर छ तोलाको सुनका छेलामाला लगाउछन् रे, खास शब्दमा भन्नुपर्दा उनले सुनको मोटो खालको दाम्लो लगाउछन् भने मिठाइ पसलबाट झुपडीमा फर्किनुअघि सो फुकालेर गोजीमा हालेर झ्याउरे बनेर सुकुम्बासी बस्तीमा पस्छन् रे।
त्यस्तै नेपालमा पनि त्यसताखालका औतारीहरुको जमात छ। सुकुमबासीको नाममा हुकुमबासीहरुको जगजगी अर्थात् बिगबिगी छ। सुकुम्बासी बस्ती पनि एक प्रकारको भोट बैंक नै हो आध्यात्मिक वा धार्मिक संस्था झैँ। जसरी आध्यात्मिक संस्थाका बाबा-गुरुहरुले भनेपछि उनका चेलाहरुले आज्ञा वा आदेश मान्दै निर्देशित उम्मेदवारलाई मत दिन्छन्। त्यस्ता उम्मेदवारहरुले चुनाव जितेपछि त्यस्ता अखडाहरुको स्तर बढाउन बजेट छुट्याउन लगाउछन्। पहिलेका जस्ता छैनन् आध्यात्मिक संस्था पनि। पब्लिक लिमिटेड कम्पनीको कारोबारभन्दा कम हुन्न यस्ता नौटंके संस्थाहरुको आर्थिक कारोबार। बाहिर बाहिर झिनो शुल्कमा सदस्यता बनाउने र बिस्तारै बिस्तारै शिष्य वा चेलाबाट विभिन्न बहानामा धन तानेको तान्यै गर्छन्। विना रसिद असुलिने त्यस्ता रकमको संस्थामा लेखाजोखा हुँदैन र जान्छ सीमापारी बाबा वा गुरुका सन्तानको मोजमस्तीका लागि।
यता अन्धभक्तहरु धर्म पालना गरेको भ्रममा पर्छन्। हिप्नोसिस र ब्रेनवासको माध्यमबाट बाबा वा गुरुहरुले भक्तहरुको तन-मन-धन लुटिरहेका हुन्छन्। त्यसरी अधार्मिक जालोमा नफस भन्दा उल्टै अरिंगाल जस्तो गरेर जाइलाग्ने गर्छन् पटमुर्ख अन्धभक्तहरु।
आध्यात्मिक वा धार्मिक संस्थाहरु झैँ भोट बैंक बन्ने सुकुमबासी बस्तीका बारेमा कुरा गर्दा यहाँ साध्य नै हुँदैन। गाउँघरमा रहेका सुन्दर खेतबारी, बगैँचा अनि हुँदाखाँदाका घरगोठ सत्यानास गरेर सहरका नदी किनारामा बस्ने अनि सुकुम्बासीले दुःख पाए भनेर कराउने ? पहिले बुद्धि हराउने अनि बर्बराउने। सुन्दर गाउँ छोडेर प्रदूषित सहरमा पस्न कसले भनेको छ तिमीहरुलाई। तिम्रा हर्ताकर्ताहरुको सम्बन्ध नेताहरुसम्म जोडाउने अनि सहरबासीहरुको मन फोडाउने ? त्यति सुन्दर गाउँ हुँदाहुँदै के धुलोमुलो खान आएका हौ सहराँ। प्रकृतिले त तिमीहरुलाई सहर पस, धुलोमुलो खाउ भनेको त छैन तोर्पेहरु हो !
धेरै ल्याङल्याङ गर्दै सहर पस्ने होइन, गाउँ के ठाउँ होइन र अबुझहरु हो ! तिम्लाई सहरमा कस्ले चिन्छ ? तिम्रो उत्पादन कसले किन्छ ? खुरुक्क गाउँमा फर्कियौ भने गाउँभरीका मान्छेहरुले चिन्छन् तिमीहरुलाई। ह्याँ बगरमा कसले चिन्छ तिमीहरुलाई ? नचाहिँदो बबाल मच्याउने पछि ज्ञापनपत्रमा शब्दहरु सच्याउने? बुद्धि नभाका तोरीलाउरेहरु हो !!
काठमाडौँ खाल्डो भनेको सतहत्तर जिल्लाका मान्छेले फोहोर गर्ने ठाम हो। तिम्रा गाउँमा त तिमी र थोरैले मात्र फोहोर गर्ने ठाउँ हो। काठमाडौँ खाल्डो सतहत्तर जिल्लाको फोहोर मात्र कहाँ हो र ? बिहारदेखि तिब्बतसम्मकाहरुको फोहोर थुप्रिने ठाम हो काठमाडौँ सहर, नचाहिँदो रहर। गाउँमा गाई-भैँसी पाल्नु, शुद्ध गोरस खानु। अर्गानिक अनाजबाट बनेका स्वस्थकर खाना खानु। ह्याँ सहर पसेर चाउचाउ र कुरकुरे जस्ता मन्दविष खान कति ठूलो इच्छा तिम्रा लालाबाला वा भुराभुरीहरुलाई। बुद्धि नभएका ट्वाँटहरु हो ! गाउँबाट फरिया लगाएर सहर पस्न पाको छैन, फरिया मिल्काएर कट्टु लगाएर बाटोतिर हिँडेर तमासा देखाउने ? अझ सुकुमबासी बन्ने ? निहुँ खोज्छौ ?
सुकुमबासी क्षेत्रमा पनि दलाली चल्छ र तिम्रा हर्ताकर्ताहरुले पाँचतोला सुनको दाम्लो घाँटीमा लट्काएर डान्सबार र क्याफेतिर रमाउँछन्। यता देखिने सुकुमबासी उता भने हुकुमबासी !!
हरि ॐ तत्स्त !
०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।
Subscribe
Login
0 Comments
Oldest










































