साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुसको जाडो रौँहरू ठाडो

नम्बर प्लेटमा ‘डिएल….’ लेखिएका गाडी रोल्पामा गुडेको देख्दा आगामी फागुन २१ मा चुनाउ हुन्छ हुन्छ कि जस्तो लाग्यो। किन कि “नेपालको राजनीतिक द्वारमा लगाइने ताल्चाको साँचो दिल्लीमा हुन्छ” भनिन्छ पनि।

Nepal Telecom ad

अमर अधिकारी :

गत पुस १६ गते हाम्रा ८९ वर्षीय पिताजीको निधन बारे समाचार प्रकाशन गर्ने मिडियाहरूमध्ये फित्कौली पनि एक हो। सो समाचार फेसबुकमा सम्प्रेषण गरेपछि करिब सात हजार भ्युज देखियो भने करिब एक सय जना पाठक महोदयले सो समाचार सेयर गर्नुभएको देखियो। एक त काज किरिया त्यसमाथि पुसको महिना, दुःखमाथि दुःख त हुने नै भयो। एक किसिमले पिताजीको निधनमा दुःख मान्ने कुरा त भएन। तर पुसको जाडोले चाहिँ दुःख दिएकै हो।

कोरा बारिएको कक्षमा साँघुरिएर १२/१२ दिन-रात बिताउदा चिसोको सामना गर्नैपर्‍यो। गरुड पुराण वाचनका क्रममा अधिकांश कुरा थाहा भएकै हुँदा त्यस समयमा मैले समय बिताउन मोबाइलमै एउटा लेख लेख्ने काम गरेँ। रोल्पामा काज किरियाकै अवस्थामा कोरिएको सो लेख एकै दिनमा तयार भयो। सो लेख इमेलबाट पठाएको भोलिपल्ट सेतोपाटीमा प्रकाशित पनि भयो। कोराभित्रै कोरिएको अर्को लेख आर्थिक दैनिकमा प्रकाशन भयो। कोराभित्र रहेर लेख लेख्ने, इमेल गरेर पठाउने र प्रकाशन भैहाल्नाले कोहीकोही चकित, आफू भने थकित।

पिताजीलाई श्रद्धा सुमन र हामी चार दाजुभाइ तथा चार बहिनीहरूलाई समवेदना प्रकट गर्न प्रदेश प्रमुख समेतको उपस्थिति भयो भने प्रहरी अतिरिक्त महानिरीक्षकसम्मका व्यक्तित्वहरूबाट लिखित सन्देशहरू पनि प्राप्त भए। तेस्रो दिनदेखि एघारौँ दिनसम्म ९ भन्दा बढी आगन्तुकहरू आएको अभिलेखबाट देखियो। काज किरियाका क्रममा कतिऔं दिनमा के के गर्ने कुनकुन समयमा के के गर्ने भन्ने कुरामै पुरेत वा ब्राह्मण वा पण्डितबीच मत बाझाबाझ भएको पनि देखियो।

शास्त्रको आधार कसैले पनि नलिएको थाहा भो। “जसोजसो पण्डित उसैउसै स्वाहा” भन्ने उखान पहिल्यै सुकोको थिएँ। काज किरियाका लागि लगाइएका बस्त्रहरू पधेरोमा नुहाइ धुवाइका क्रममा झिक्न र लगाउन व्यवधान चाहिँ भयो, माथिको बस्त्र फुकाल्दा तलको बस्त्र फुस्किने र तलको बस्त्र फुकाल्दा माथिको बस्त्र फुस्किने भएकोले विकल्प अपनाएर झिक्ने लगाउने काम भयो। सिलाएको बस्त्र लगाउन नपाइने मान्यता भएर पनि त्यसो भयो।

बिहान नुहाइ धुवाई, बाफ उडिरहेको देखिने मूलको तातोपानीले ख्वाल्ल नुहाउँदा जाडो महसुस नभए पनि बस्त्र फेर्दा भने चिसो महसुस हुने नै भयो। त्यस्तै पुसको जाडोमा चिसोले गर्दा रौँहरू ठाडोठाडो हुने नै भयो। एघारौं दिनको काममा विशेष कार्जे हुँदोरहेछ। त्यस दिन ब्राह्मण अर्थात् पण्डितहरूको संख्या आधा दर्जन भएका कारण एउटाले एउटा भन्ने र अर्कोले अर्को भन्ने हुँदा काममा ढिलाइ भयो, ब्राह्मणहरू पनि फरकफरक विचारका, दलका नेताहरू झैँ। हाइवे छेउँको घर, गाडी चालकहरूको अन्धाधुन्ध हँकाइ, धन कमाउन तँछाडमछाड। हिन्दुस्तानको नयाँदिल्लीमा दर्ता भएका नम्बर प्लेटमा ‘डिएल….’ लेखिएका गाडी रोल्पामा गुडेको देख्दा आगामी फागुन २१ मा चुनाउ हुन्छ हुन्छ कि जस्तो लाग्यो। किन कि “नेपालको राजनीतिक द्वारमा लगाइने ताल्चाको साँचो दिल्लीमा हुन्छ” भनिन्छ पनि।

मान्छेका बालबच्चा र बाख्राका पाठा सडकतिर कुद्नाले गाडीहरूले हिर्काएका घटनाहरू नदोहोरिएका होइनन्। मेरो जन्मथलो रोल्पाको खुंग्रीमै तीब्र गतिका गाडीका कारण केही ठूला मान्छे समेत ठहरै भएका छन्। कोराभित्र बाह्र रातसम्मको सुताइमा व्यवधानहरू पनि आए। रातमा निदाइरहेको बेला सानो रातो रङको प्याकेटको किनारा च्यातेर चर्‍याप चर्‍याप पारेर हत्केलामा खन्याएर फाँको मार्ने भाइबाट भने डिस्टब भई नै रह्यो। चार्जरहरू झोस्ने मल्टिप्लग पनि कोराकक्षको छेउँमै हुँदा कोही राती एघार बजे मोबाइल झोस्न र कोही बिहानै तीनबजे नै मोबाइल झोस्न आउनेहरूले घरिघरि ढोका खोल्दा र बन्द गर्दा आउने आवाजले पनि बेलाबेला मध्यान्तर भैरहन्थ्यो अर्थात् बेलाबेला झस्किएर निद्रामा डिस्टब भैरहन्थ्यो। रातको समयमा पनि फाँको मार्ने कुलत छोड्नुपर्छ, सभ्य बन्नुपर्छ भनेर घरिघरि सम्झाउँदा पनि फाँको मारिरहने भाइलाई जति भने पनि केही लाग्दैन।

दिनको पचास रुपियाँको दरले वार्षिक करिब बीस हजार खर्च गर्नुभन्दा त्यो पैसो उपलब्धिमूलक काममा सदुपयोग गरे पो हुन्थ्यो। फाँको मारिने त्यो वस्तुले एकातिर धनको नाश र अर्कोतिर तनको नाश। फाँको मारिने ती वस्तुहरूका खोस्टाहरू जथाभावी फ्याँकिनाने गाउँ र सहरका बस्ती नै कुरुप बन्दै गएका छन्। यस्ता सुर्तीजन्य वस्तुहरूमाथि प्रतिबन्ध लगाइएमा सबैभन्दा खुशी म नै हुनेथिएँ होला। सहरका आधुनिक घरहरूमा रहेका बेसिनहरूमा आउने समस्याका कारणहरूमध्ये सूर्तिजन्य वस्तुको थुकाइ पनि एक हो। फाँको हाल्यो, घरिघरि बेसिनमा थुक्नाले जाम हुने। घरधनीले मिस्त्री बोलाएर बेसिनको जाम खुलाउँदा दुईतीन हजार खेर गएको फाँको मार्नेलाई के थाहा ? फाँको मार्‍यो बेशिनमा जथाभावी पिच्च थुक्यो, के मतलब ? हगि ?

काज किरियाको तेह्रौँ दिनमा बिहानै ३ बजे नै हामीलाई ब्युँझाइयो, चारैबजे नुहाउनलाई पधेरोतिर भगाइयो। १० बजेअघि नै तेह्रौँ दिनको पुण्य तिथिको विविध चरणका कर्म पनि भ्याइयो। हरि ॐ तत्सत!!!

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौं।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x