फित्काैली डटकमस्रष्टा इन्द्रकुमार श्रेष्ठ ‘सरित्’काे ‘मेरी छोरी मान्या’ विमोचित
प्रमुख अतिथि तथा वरिष्ठ कथाकार भागीरथी श्रेष्ठले उक्त बालकथा सङ्ग्रहको विमोचन गर्दै इन्द्रकुमार श्रेष्ठ सरित् एक समर्पित र अब्बल कथाकार भएको चित्रण गर्नुभएको थियो ।

काठमाडाैं । वरिष्ठ आख्यानकार, कवि, साहित्यिक पत्रकार तथा सङ्गठक इन्द्रकुमार श्रेष्ठ ‘सरित्’द्वारा रचित बालकथासङ्ग्रह ‘मेरी छोरी मान्या´को विमोचन तथा समीक्षा कार्यक्रम राइजिङ स्टार बोर्डिङ स्कुल मन्डिखाटारमा आयोजना गरियो।
प्रमुख अतिथि तथा वरिष्ठ कथाकार भागीरथी श्रेष्ठले उक्त बालकथा सङ्ग्रहको विमोचन गर्दै इन्द्रकुमार श्रेष्ठ सरित् एक समर्पित र अब्बल कथाकार भएको चित्रण गर्नुभएको थियो ।उहाँले ‘बालमनोविज्ञानलाई आत्मसात् गरेर इन्द्रले रच्नुभएको ‘मेरी छोरी मान्य’ उत्कृष्ट बालकथासङ्ग्रह भएको चर्चा गर्दै ती कथाहरूले बच्चालाई जीवन र समाज बुझ्न सहज तुल्याएको उल्लेख गर्नुभएको थियो।
विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ चेतनाथ धमलाले कथाकार इन्द्रकुमार श्रेष्ठ सरित्द्वारा रचित ‘मेरी छोरी मान्य’ कृतिमा समेटिएका बालकथाहरू प्रायः बालबालिकालाई उत्प्रेरित गर्न सामर्थ्य राख्ने खालका छन् भन्नु भयाे ।
विशेष अतिथि साहित्यकार लक्ष्मी उप्रेतीले कथाकार सरित्को लेखनमा बालमनोविज्ञान चामत्कारित रूपमा आएको बताउनुभएको थियो।
साहित्यकार तथा समालोचक डा.छायादत्त न्यौपानेले सरित्को बालकथासङ्ग्रह ‘मेरी छोरी मान्य’ले बालसाहित्य सिर्जनामा विद्यार्थीलाई प्रोत्साहित गर्न सफल रहेको चर्चा गर्दै समाजमा व्याप्त विकृति र विसङ्गतिविरुद्ध ती कथाले जीवन, समाज र ज्ञानबिचको तादात्मय बारे आफ्नो दृष्टिकोण राख्नुभएको थियो।
विमोचित बालकथा कृति ‘मेरी छोरी मान्या’का सर्जक तथा वरिष्ठ आख्यानकार इन्द्रकुमार श्रेष्ठ सरित्ले बालसाहित्य कुनै खरिदारको टेबलवर्क जस्तो नभई आफू बाँचिरहेको समयमा व्याप्त बालमनोविज्ञानमा आधारित हुनुपर्छ, जसमा आफूले सामयिक घटना, पात्र र उद्देश्यलाई सन्तुलित रूपमा मिलाउन सक्नुपर्छ भन्नु भयाे ।
कार्यक्रमका सभाध्यक्ष तथा राइजिङ स्टार बोर्डिङ स्कुल मन्डिखाटारका प्रिन्सिपल कृष्णकुमार बहोराले आफूले विद्यार्थीहरूलाई नियमित पठनपाठनसँगै सिर्जनात्मक गतिविधिमा समेत सक्रिय तुल्याएको बताउनु भयाे ।
नियमित पठनपाठनबाहेक सिर्जनात्मक र अतिरिक्त क्रियाकलापमा समेत अब्बल यस राइजिङ बोर्डिङ स्कुलद्वारा आयोजित उक्त कार्यक्रममा साहित्यकार श्रीराम क्षेत्री र डा. रचना नकर्मी लगायतले आआफ्ना धारणा राख्नुभएको थियो । लोकार्पित कृतिमाथि उक्त विद्यालयका विद्यार्थी उत्सान गिरी,स्मृति ,प्रमिशा कँडेल र रिसिका गुरुङले मन्तव्य राखेका थिए । साथै, कार्यक्रमको सञ्चालन साम्राज्ञी दाहाल र सृष्टि अधिकारीले गर्नुभएको थियो ।
०००
– दुर्बिन शर्मा ‘विवेक’ काे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































