नन्दलाल आचार्यनारी दिवस सन्दर्भका पाँच मट्याङ्ग्राहरू
बाहिरबाट महिलाहरूको नाराजुलुसको आवाज आयो । नारा हावामा रुखका पातझैँ फिँजिन थाले । “यी किन यति चिच्याइरहेका होलान् ?” उसले झ्यालबाट झुक्दै सोध्यो ।

नन्दलाल आचार्य :
१. पर्दाको उज्यालो
“आज तिमीहरू मलाई किन यति गहिरिएर हेर्दै छौ ?”
मञ्चको पछाडिको सानो कोठामा त्यो प्रश्न एक्कासि गुञ्जियो । बाहिर आँगनभरि रातो झण्डा हावासँग खेलिरहेको थियो । माइकमाथि फूलको माला झुन्डिएको थियो । फाल्गुनको घाम झ्यालबाट छिर्दै थियो, मानौँ पुरानो समाजको कुहिरो चिर्दै आएको उज्यालो ।
“हेरेका होइनौँ, हामी त सुन्दै छौँ,” अर्को स्वर आयो, “आज तिमीले भाषण दिन्छौ रे !”
महिलाहरूको सानो घेरा कुर्सी वरिपरि बसेको थियो । कसैले हरियो चुरा समाइरहेकी थिई, कसैले कागजमा लेखिएको ‘समानता’ शब्द मिलाइरहेकी थिई ।
“भाषण ?”
“हो त, आज नारी दिवस हो । तिमी त अध्यक्ष हौ नि !”
उनी हल्का मुस्काइन् । त्यो मुस्कानमा घाम थियो, तर आँखाको कुनामा कतै बादल पनि लुकेको थियो ।
“अध्यक्ष हुनु भनेको भाषण दिनु मात्रै हो र ?”
“त्यसो भए के ?”
बाहिरबाट नारा उठ्यो-
“समानता ! सम्मान ! अधिकार !”
कोठाभित्र एकछिन मौनता बस्यो । त्यो मौनता कागजमा टाँसिएको नाराभन्दा गह्रौँ थियो ।
उनी बिस्तारै उठिन् । झ्यालबाहिर हेर्दै भनिन्-
“तिमीहरूलाई थाहा छ ? भान्सामा बल्ने चुलो पनि कहिलेकाहीँ मशाल बन्न चाहन्छ ।”
सबै हाँसे । कसैले ठट्टा गर्यो-
“त्यसैले त आज चुलो बन्द गरेर यहाँ आएका छौँ ।”
अर्कीले गुनगुनाई-
“तर घरमा श्रीमान्ले थाहा पाए भने ?”
त्यत्तिकैमा बाहिरबाट आयोजकको आवाज आयो-
“अध्यक्षज्यू, तपाईंको पालो भयो ।”
उनी ढोकातिर बढिन् । चौकटमा पुगेर फेरि फर्केर हेरिन् ।
“डर लाग्यो ?” कसैले सोध्यो ।
उनी हल्का मुस्काइन्-
“डर ?”
“हो, पहिलोपटक मञ्चमा बोल्दै हुनुहुन्छ नि !”
उनी क्षणभर मौन रहिन् । त्यसपछि बिस्तारै भनिन्-
“मलाई मञ्चसँग होइन… घरको ढोकासँग डर लाग्छ ।”
“किन ?”
उनी फेरि हल्का हाँसिन् ।
“किनकि आजको नारी दिवसको भाषण सुन्ने पहिलो मानिस… मेरो श्रीमान् नै हुन सक्छ ।”
००
२. ऐनाको हाँसो
“तिमीले आज त्यो ऐना किन ढाक्यौ ?”
भान्साको ढोकाबाट आएको प्रश्नले कोठाको शान्ति हल्का चिरियो ।
“ऐना होइन, भ्रम ढाकेको हुँ,” कुर्सीमा बसिरहेकी महिलाले बिस्तारै भनिन् ।
मार्चको घाम झ्यालबाट पसिरहेको थियो । आँगनका राता गुलाबहरू हावामा डुलिरहेका थिए, काँडाहरू अझै उस्तै तीखा । भित्तामा टाँसिएको पात्रोमा रातो घेरो परेको मिति चम्किरहेको थियो- मार्च ८ ।
“आज त उत्सवको दिन हो- नारी दिवस,” उसले हाँसो मिसायो ।
“उत्सव ?” उनले शब्दलाई चिया जस्तै उमालिन्, “उत्सव त त्यो दिन हुन्छ, जब गुलाबलाई काँडाले होइन, माटोले रक्षा गर्छ ।”
बाहिरबाट महिलाहरूको नाराजुलुसको आवाज आयो । नारा हावामा रुखका पातझैँ फिँजिन थाले ।
“यी किन यति चिच्याइरहेका होलान् ?” उसले झ्यालबाट झुक्दै सोध्यो ।
“हावा बोल्न थालेपछि रूख पनि हल्लिन्छन्,” उनले रहस्यमय मुस्कान दिइन् ।
त्यत्तिकैमा ढोकामा कडा दस्तक पर्यो ।
“ढोका खोल न,” उसले भन्यो ।
“आज ढोका मात्रै होइन, सोच खोल्ने दिन हो,” उनी उठ्दै भनिन् ।
ढोका खुल्यो । बाहिर महिलाहरूको भीड थियो- आँखामा ज्वाला, हातमा प्लेकार्ड ।
“के भयो ?” उसले अचम्म मान्दै सोध्यो ।
महिलाले भीडतर्फ हेरेर शान्त स्वरमा भनिन्-
“केही होइन… आजदेखि घरको ऐना बाहिर राख्ने निर्णय भयो, ताकि जसले नारीलाई हेर्छ- पहिले आफ्नो अनुहार देखोस् ।”
००
३. मुखुण्डोको चिया
“आज चियामा चिनी कम किन छ ?”
सडकछेउको टिनको छानोमुनि चिया उम्लिरहेको वाफसँगै प्रश्न उठ्यो ।
“आज त नारी दिवस रहेछ नि,” पसलेनीले मुस्कुराउँदै कप अघि सारिन् ।
चिया पिउँदै गरेका तीन पुरुष एकअर्कालाई हेरे ।
एकजनाले गम्भीर स्वरमा सोध्यो-
“अनि चिनी कम गर्नुको अर्थ ?”
पसलेनीले भित्तामा टाँसिएको पोस्टरतिर औँला देखाइन् ।
पोस्टरमा रातो अक्षरले लेखिएको थियो- ‘समानता’ ।
“आज मिठास अलिक बाँड्नुपर्छ,” उनले भनिन्,
“अहिलेसम्म चिनी जति कपमा हालियो, उति त घरभित्र कहिल्यै परेको थिएन ।”
ती पुरुषहरू हाँस्न खोजे, तर हाँसो ओठमै अड्कियो ।
पसलको कुनामा बसिरहेकी एक वृद्धा चुपचाप सुनिरहेकी थिइन्, जस्तो समय आफैँ साक्षी बनेको होस् ।
“तर आज किन यस्तो व्यङ्ग्य ?” एकजनाले फेरि सोध्यो ।
पसलेनीले कप धोइन् । वाफ फेरि आकाशतिर उड्यो ।
त्यसपछि शान्त स्वरमा भनिन्-
“किनभने आज पहिलोपटक यहाँ चिया बनाउने मान्छे म हुँ…
र पोस्टर टाँस्ने मान्छे- घरभित्र बस्ने मेरो श्रीमान् । ”
००
४. लालीको रहस्य
“आज त तिमीले सिन्दूर किन यति गाढा लगाएकी ?” उसले आँखा झिम्क्याउँदै सोध्यो ।
“किन, डर लाग्यो ?” उनी मुस्काइन्- गुलाबको काँडाझैँ टल्किने मुस्कान ।
आँगनमा फागुनको घाम सुनौलो चुराझैँ झन्किरहेको थियो । रेडियोमा नारी दिवसको चर्चा बगिरहेको थियो । भित्ताको ऐनाले दुबैको अनुहार चुपचाप हेरिरहेको थियो, जस्तो कुनै पुरानो रहस्य थामेर बसेको साक्षी ।
“आज तिमी केही फरक देखिएकी छौ ।”
“फरक ? कि डर लाग्दो ?”
उसले गिलासमा चिया घोल्यो । बाफ माथि उठ्यो, मानौँ वर्षौँको मौनता पग्लेर आकाशतिर उड्दै होस् ।
“सच्याऊ न, के कुरा हो आज ?” उसले फेरि सोध्यो ।
उनी हाँसिन् । त्यो हाँसोमा श्रृङ्गार पनि थियो, व्यङ्ग्य पनि, र हल्का विद्रोह पनि ।
“आज नारी दिवस हो नि ।”
“त्यसो भए ?”
उनी नजिक आइन् । आँखा सिधै उसका आँखामा रोपिन् ।
“केही होइन… आजदेखि म तिम्रो ‘अर्धाङ्गिनी’ मात्रै होइन-
आफ्नो ‘पूर्णाङ्गिनी’ पनि भएको घोषणा गरेकी हुँ ।”
००
५. घामको छाता
“आज त घरमा सूर्य किन ढाकिएको छ ?”
भान्साको धुवाँबाट आएको प्रश्नले आँगनमा चिसो सन्नाटा झर्यो ।
“ढाकिएको होइन,” आमाले मुस्कुराउँदै भनिन्,
“सूर्यलाई छाता चाहिएको दिन रहेछ ।”
भित्तामा टाँसिएको पात्रोमा रातो घेरा परेको थियो- मार्च ८ ।
बाबुजीले चश्मा मिलाए ।
छोराले मोबाइल सम्हाल्यो ।
दुवैले एकअर्कालाई हेरे- बिहानै फेसबुकमा ‘नारी दिवस’ भन्दै फूल झारेका थिए ।
आँगनमा कुखुरो करायो ।
भान्सामा कराइको तेल चर्कियो ।
आमाको निधारमा पसिनाका मोती टल्किए- जस्तो बिहानैदेखि उदाएको सानो सूर्य ।
“आज त तपाईं आराम गर्नुस् नि,” बाबुजीले औपचारिक स्वर फ्याँके ।
“हो त, नारी दिवस हो नि,” छोराले पनि थप्यो ।
आमाले करछुल रोकिन् ।
एकछिन आँखा झ्यालबाहिरका गुलाबमा टाँसिए ।
त्यसपछि हल्का हाँसिन्- काँडाभित्र लुकेको फूलजस्तो ।
“आराम ?” उनले बिस्तारै भनिन्, “त्यो त राम्रो कुरा होछ ।”
दुवै पुरुष चकित भए ।
भान्साको आगो झन् बल्यो ।
केही बेरपछि आमाले एप्रोन खोलेर केवल यति भनिन्-
“आजदेखि नारी दिवस मनाउने तरिका सिकौँ है…”
बिहानको चिया तपाईंहरूले पकाउन थालेपछि ।”
०००
२०८२/११/२४
उदयपुर
Subscribe
Login
0 Comments
Oldest









































