सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दिमाग भुट्ने कला

‘भुराको’ गर्भधारणको समाचारलाई बाघ टाउके अक्षरमा छपाउनु र बिरालाको ‘हनिमून- यात्रा’ को खबरले पत्रिकाको पेज रित्याउन्, यी दुवै पाठकहरूको दिमाग भुट्ने । ‘स्टायल स्टायल’ का हतियारहरू हुन् ।

Nepal Telecom ad

मनोज गजुरेल :

मानिसको ‘दिमाग भुट्नु’ सर्वसाधारणको बुताभन्दा बिल्कुल बाहिरको कुरो हो । कारण, दिमाग भुट्नु माटोको हाँडीमा मकै भुटे जस्तो सजिलो छैन, शासकहरूको बन्दूकले जनता भुटेजस्तो सरल पनि यो छैन । फेरि दिमाग भुट्नु भनेको बाँसका कप्टेराले मकैलाई फुल उठून्जेल हाँडीमा हल्लाउनु जस्तो पनि हैन । दिमाग भुट्ने त खाली दुईवटा काइदा मात्रै छन् – कि त खर्लप्पै गिदी झिकेर कराहीमा पर्परी भुट्नु पर्‍यो, कि भने, पत्रिकाहरूमा तीन न तेह्रका कुराहरू छपाएर घुमाई घुमाई पाठकहरूको बुद्धि लुट्नु पर्‍यो ।

काम गाह्रो भए पनि आजकाल यो ‘दिमाग भुट्ने’ व्यवसाय एकदमै सजिलो व्यवसाय भएर देखापरेको छ । तर जसतसले यो व्यवसाय टिकाउनै सक्दैन । पत्रकारहरू भनेका देशका अमूल्य निधि मात्र हैनन्, दिमाग भुट्ने कलाका खाँटी प्रतिनिधि पनि हुन् । राष्ट्रिय ढुकुटी लुट्ने कुरामा राजनेताहरू जति चतुर हुन्छन्, पाठकहरूको दिमाग भुट्ने कलामा पत्रकारहरू उत्तिकै माहिर भेटिन्छन् । ‘भुट्ने’ कुरामा पाठकहरू भन्दा पत्रकारहरू चैगुना चलाक हुन्छन् । हामीहरू मकै भुटेर सातुले ‘भोकको रोग’ ठीक गर्छौँ, उनीहरू हाम्रै दिमाग भुटेर आफ्नो ‘खल्तीको रोग’ निको पार्ने गर्दछन् ।

आउनोस्, यस पटक दिमाग कसरी भुट्ने भन्ने बारेमा एउटा सानो छलफल गरौँ ।

यहाँ पत्रिकाको माध्यमले पाठकहरूको दिमाग भुट्न पत्रकारहरूलाई छुट दिइएको छ, किनकि उनीहरू राष्ट्रका चौथो अंग हुन् । पहिलो अंग न्यायपालिकाको कार्य रूपैयाँ धुत्नु, कार्यपालिकाको कार्य सर्वसाधारण जनतालाई कुट्नु र व्यवस्थापिकाको कार्य पाएसम्म लुट्नु हो भने, चौथो अंग पत्रिकारिताको कार्य विभाजन नै पाठक-जनताहरूको ‘दिमाग भुट्नु’ भएको छ । मान्छेको दिमाग भुट्नु तावामा सिंगो माछो भुटे जस्तो अप्ठेरो चाहिँ हुँदैन । पत्रपत्रिकाहरूमा उल्पट्याग गफ र लटरपटर लेखहरू छापेर पाठकहरूको दिमाग मजाले भुट्न सकिन्छ । अरू पेशाहरूमा जस्तो यसका लागि न कुनै डिग्रीको आवश्यकता पर्दछ, न त अत्याधिक अनुभवको जरूरी नै रहन्छ । घाँटीमा प्रेस काउन्सिलको लकेट झुण्ड्याउने बित्तिकै ‘वरिष्ठ दिमाग भुटर’ को नामले बजारमा बिक्न सकिन्छ । यो नै हालका लागि दिमाग भुट्नका लागि आवश्यक योग्यता र अनुभव हो ।

भुटरहरूले दिमाग कसरी भुट्छन् त ?

हिट पार्ने मेसिनको नाम ‘हिटर’ प्रेस गर्नेको नाम ‘प्रेसर’ भएजस्तै, दिमाग भुट्नेलाई ‘भुटर’ भनेर चिन्ने गरिन्छ । ‘यसभित्र छापिएका सामग्रीहरूसँग सम्पादकको सहमति अनिवार्य छैन भनेर शुरूमै पाठकको दिमाग भुट्ने काम भुटरहरूले गर्ने गर्दछन् । जब पत्रिकामा छापिएका कुनै कुराहरूसँग पत्रकारको सहमति नै हुँदैन भने उसले पाठकको दिमागलाई हाँडीको मकै सम्झेर भुट्न खोजेको हो भन्ने कुराको भेउ सजिलै पाउन सकिन्छ ।

‘भुटर’हरू पाठकहरूको दिमाग भुट्न थरिथरिका हतियारहरूको प्रयोग गर्ने गर्दछन् । ‘आकाशबाट सुन बर्सेको’ कुरोदेखि ‘पातालमा नुन उम्रिएको’ जमीनको ‘दुगो टुसाएको’ खबरदेखि ‘मान्छेको सिंग पलाएको’ भन्नेसम्मका उडन्ता हतियारहरूले भुटरहरू हाम्रो दिमाग भुटिरहेका हुन्छन् । आग्राको कुराबाट शुरू भएर गाग्रामा सकिने समाचार, कपालबाट शुरू भएर नाइटोमा रित्तिने मनोरञ्जनका खबर पनि पाठकहरूको दिमाग भुट्न उध्याइएका चमकदार हतियारहरू हुन् ।

दिमाग भुटनका लागि पत्रकारहरूले थरिथरिका कप्टेराहरू ताछेर राखेका हुन्छन् । आउनोस् -दिमाग भुट्न पत्रकाहरूले प्रयोग गर्ने ती हतियारहरूको बारेमा जानी राखौँ ।

सन्देश :

मानिसको दिमाग भुट्न प्रयोग गरिने सबैभन्दा सरल र लाग्ने हतियार भन्नु नै आजकाल केही पत्रपत्रिकामा छापिने ‘सन्देश’ हो । यसले विशेष गरी युवा युवतीको दिमाग भुट्ने काम बडो सशक्त तरिकाले गर्ने गरेको छ । यति मात्र हैन, यसले अकाको बेइज्जति गर्न पनि मजाले सहयोग गर्ने गर्दछ । आफूले मन पराएकी केटी होस् वा हेर्दै रीस उठ्ने केटा होस् – दुवैका नाममा चाहिने नचाहिने ‘सन्देश’ छपाएर एउटै हतियारले दुई जनाको शिकार गर्न सकिन्छ ।

यही सन्देश नामको हतियारकै कारण कसैले चिन्दै नचिनेको मान्छेकी प्रेमिका भईदिनु परेको छ, कतिले जान्दै नजानी मान्छीको प्रेमी बनिदिनु परेको छ ।

यो ‘सन्देश’ पाठकहरूको दिमाग भुट्ने कप्टेरो मात्र हैन, मानिसको जिन्दगी नै लुट्ने हतियार पनि हो । पत्रपत्रिकामा छापिने यो हतियार मान्छेलाई तर्साउन पनि प्रयोग गर्न थालिएको छु । आजकाल कसैलाई थर्काउनु पर्‍यो भने – ‘होश गर है, पत्रिकामा सन्देश छापिदिउँला नि !’ भन्ने बित्तिकै मान्छेहरू बेइज्जति हुने डरले आच्छु आच्छु हुने गर्दछन् । यसरी पत्रपत्रिकाहरूमा छापिने ’शन्देश’ दिमाग भुट्न मात्र हैन, शत्रु तर्साउनदेखि केटी वा केटा फकाउन, मान्छे मार्नदेखि तन्नेरी बहकाउनसम्मको लागि सशक्त हतियार साबित भएको छ ।

राशीफलः

दिमाग भुट्नको लागि प्रयोग गरिने अर्को शक्तिशाली हतियारको नाम ‘राशीफल’ हो । भारतका पाँच वटा परमाणु हतियारले लाखौं प्राणीलाई पटक पटकमा भुट्न सक्छ भने, पत्रिकामा छापिने राशीफल नामको हतियारले करोडौं मान्छेहरूको दिमागलाई एकै चोटी स्वाहा पार्न सक्दछ । कसरी भने, कहिले काममा हिँडेको मान्छेलाई ‘साहुले छेक्छ, कहीँ क्रान्तिमा निस्किएको योद्धालाई ‘केतुले’ किच्छ । कुनै बेला ‘शनिको’ नाम सुन्नासाथ सामान्य मान्छेको सातो उड्छ भने कसैले ‘मंगल को भूत देखाएर मस्तिष्कलाई उजाड जंगल नै बनाइदिन पुग्छ ।

यी सबै मानिसको दिमाग भुटेर आफ्नो पुर्पुरो बाल्ने कलाहरू हुन् । तर यो हतियारले पाठकहरू मात्र हैन, स्वयं भुटरहरूको दिमाग पनि भुटिइरहेकै हुन्छ । एक दिनमा कसैले ‘मिस्टान्न भोजन’ भनेर छाप्नु, कसैले ‘भोकले आन्द्रा बटारिने’ भनेर लेख्नु बालक बबुरोको राशीमा ‘पत्नी सुख पाउनु, पितृ हजूरबाको फलमा प्रेमिका भेट्न पाउनु यी पनि राशीफल’ को हतियारले मान्छेको दिमाग भुट्ने कलाका उदाहरणहरू हुन् ।

स्वास्थ्य चर्चाः

कतिपय पत्रिकाहरूमा छेउ न टुप्पाका ‘स्वस्थ्य चर्चा’ नामका हतियारहरू पनि पाठकको दिमाग भुट्नमा शक्तिशाली मानिन्छन् । स्वास्थ्यको कुरो उठाएर मानिसलाई स्वस्थ्य बनाउनु डिग्रीवाला डाक्टरहरूको पहुँचको कुरो हो भने, अगाडिबाट ‘स्वास्थ्य चर्चा’ को कुरा छपाएर पछिल्तिरबाट हाम्रो दिमाग भुट्नु पत्रकारहरूको क्षमता हो । ‘फर्सी एक फाइदा अनेक’ ‘बक्यौला खानोस् क्यान्सरबाट मुक्त हुनुहोस्’, ‘हाँसिरहने दश उपाय, खुर्सानीका फाइदाहरू’ जस्ता सम्पादक आफैले तर्कना गरी लेखेका रचनाहरूले हाम्रो दिमागलाई भित्रभित्रै भुटिसकेको कुरो हामीलाई पत्तै हुँदैन ।

कतै पत्रिकामा छापिएको ‘डण्डीफोर निको पार्ने काइदाको फाइदाले मान्छेको अनुहार हेर्नेनहुने गरी छ्याकटे हुन पुग्दछ । कहीँ, ‘खुर्सानीको फाइदा’ पढेर जीवनभर ग्यास्ट्रिक पालेर बस्नु पर्ने हुन्छ । यस्ता प्रमाण न पत्यारविनाका कुरामा बहकिनु हाम्रो दिमाग भुटिएको कारणले नै हो भन्ने ठहर यो पंक्तिकारको छ । यी खबरहरू न डाक्टरको पढाइबाट आएका हुन्छन्, न त वैद्यहरूले आफ्नो अनुवभबाट थाहा पाएका हुन्छन् । यी त केवल हाम्रो दिमाग भुट्नको लागि राम्रा अक्षरमा सम्पादकजीद्वारा नै तयार पारिएका मन्द विषयुक्त परमाणु हतियार मात्रै हुन् ।

यस बाहेक पनि थुप्रै हतियारहरूले हाम्रो दिमागमाथि धावा बोलिरहेका हुन्छन् । आफ्ना मान्छेको आँगको उडूस नदेख्नु, अर्काको ज्यानमा लिखा पर्दा ‘डायनोसर’ नै बस्यो भनेर डंका पिट्नु पनि पाठकहरूको दिमाग भुटन् बराबर नै हो । मासिकदेखि दैनिक राजनैतिक हुँदै साहित्यिक सबै खालका थुप्रै पत्रिकाहरू हाम्रो दिमाग भुट्न आतुर र चतुर देखिन्छन् । ‘भुराको’ गर्भधारणको समाचारलाई बाघ टाउके अक्षरमा छपाउनु र बिरालाको ‘हनिमून- यात्रा’ को खबरले पत्रिकाको पेज रित्याउन्, यी दुवै पाठकहरूको दिमाग भुट्ने । ‘स्टायल स्टायल’ का हतियारहरू हुन् ।

“त्यसैले पाठकवृन्द, होश गर्नुस् है । दिमाग भुट्ने भुटरहरू पत्रकारको नाममा तपाईलाई पनि भुट्न आउँदैछन् । भुटेको मकै रोपेर नोट उमार्न नसकिए जस्तै । भुटिएको दिमागबाट केही पनि जुटाउन सकिदैन नि । केही नलागेपछि के लाग्छ र !

०००
लुखास्त (२०५८)

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x