सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अक्षर आतङ्क

मेरो त यही अनुरोध छ कि ‘स’ को आतङ्कबाट देशलाई बचाउन शासन सुधार गर्नुपर्‍यो या त, नेपाली वणर्मालाबाट ‘स’ अक्षरलाई नै किकआउट गर्नुपर्‍यो । कि कसो ?

Nepal Telecom ad

मनोज गजुरेल :

मलाई ‘राम्रो म’ भनेर पढ्दाखेरी एउटा प्रश्न बारम्बार दिमागमा पस्ने गर्दथ्यो । ती चारतिर धर्को चिरेर, टुप्पोमा गाँठो पारिएको जोकर जस्तो अक्षरलाई किन राम्रो भनिएको होला ? तर आजकाल यो प्रश्नको राम्रोसँग उत्तर आएको हुनाले म दङ्ग भएको छु ।

आफू जतिसुकै खराब भए पनि ऐना अगाडि उभिएर हेर्दा राम्रै देखिने भएकोले ‘राम्रो म’ भनेको हुनुपर्छ भन्ने टुङ्गोमा पुगेको पनि धेरै समय भएको छैन । सबैभन्दा राम्रो भन्नु नै ‘म’ भएपछि ‘तँ’ को तारिफ किन गर्नु ? त्यसैले ‘म पुराण’ को प्रवचन सुरु गर्न सोच्दै थिएँ, एक्कासि मःमः पार्टनर खप्परधोजको फोन आयो- ‘नमस्कार मनोजजी ।’

खप्परधोजको ‘नमस्कार’ को आवजले घाँटीसम्म आइपुगेको ‘म पुराण’ ठ्याप्पै रोकिएर मेरो दिमाग ‘न’ को वरिपरि नाच्न थाल्यो । मैले मनमनै सोचें- ‘म भन्दा न पो ठुलो रहेछ । नभए, खप्परधोजको एउटा नमस्कारले मेरो ‘म पुराण’ लाई कसरी माथ खुवाउन सक्दथ्यो त ?’ खप्परधोजसँगको औपचारिक कुराकानी पछाडि मैले फेरि ‘न’ को नालीबेली सुरु गरें- ‘नेपाली जनताले अब नजानिंदो पाराले परचक्रीको इशारामा नाच्ने दिन आउछन् कि कुन्नि ।’ यसरी म ‘न’ को नन्स्टप नालीबेली सुरु गर्दै थिएँ, एक्कासि रेडियो कराउन सुरु गर्‍यो- ‘यो रेडियो सगरमाथा हो, अब सञ्जयसागर सापकोटाबाट समाचार सुन्नुहोस् । शाही नेपाली सेना र सशस्त्र छापामार बीचको सङ्घर्षमा सयौँजना स्वाहा भए ।’ समाचारले मेरो सातो गयो । श्वास बढेर आयो । सिरानीमा टाउको अड्याएर म सुस्ताउन थालेँ ।

लामो सुस्केरा तानिसकेपछि मैले पुनः सोच्न सुरु गरेँ- ‘अहँ न ‘म’ राम्रो हो न त ‘न’ को कुनै विशेष महत्व छ । देशमा यदि कुनै अक्षर शक्तिशाली छ भने ‘स’ मात्रै छ । ‘स’ सिवाय अरू सबै शून्य हुन् ।’ त्यसैले म आज तपाईंलाई ‘स’ को विशाल संसारमा स्वागत गर्न चाहन्छु ।

देशमा सङ्कटकाल लागेकोले मात्रै ‘स’ को महत्व बढेको होइन । आदिकालमा शिवको जति महत्व थियो, राणा शासनमा ‘शमशेर’ हरूको पनि उत्तिकै चल्ती-फिर्ती हुने गर्दथ्यो । शाहवंशीय राजा भएकाले मात्र होइन, आजकालकै कुरा गर्ने हो भने पनि देशमा जताततै ‘स’ ले शासन चलाइरहेको छ ।

‘स’ को सरगर्मी देखेर यस्तो लाग्छ- नेपालको कुण्डलीमा अहिले ‘स’ को राहुले रजाईं पो गरिरहेको छ कि ! राज्यको सिरानदेखि पुछारसम्म ‘स’ को नै शक्ति छ । शाहवंशीय राजा भएको देशमा शेरबहादुर दाइले प्रधानमन्त्री पद सम्हालेकैले मात्रै यहाँ ‘स’ को सलहले सत्यानास गरेको भन्न मिल्दैन । तर सेना र सशस्त्र प्रहरीहरू माओवादीहरूलाई सखाप पार्ने सनकपूर्ण सङ्घर्षमा होमिएकाले चाहिँ यसको पुष्टि गर्दछ ।
सामन्तको सत्यानाश गर्ने नाममा सर्वसाधारणको टाउको होम गरी स्वाहा पार्ने माओवादी स्वाँङले ‘स’ को आतङ्कलाई जति सघाएको छ, सञ्चारको संरचनामाथिको सशस्त्र आक्रमणले समेत ‘स’ को सत्यानाशी अभियानलाई समाएकै देखिन्छ ।

त्यतिमात्रै होइन, अहिले सञ्चारमाध्यमहरूबाट सबैभन्दा बढी सुनिने शब्दहरू पनि ‘स’ कै सेरोफेरोमा घुम्ने गरेका छन् । सेना, सशस्त्र, सत्ता, सर्च, सामन्त, सफायाजस्ता शब्दहरू जति धेरै सुनिन्छन्, त्यति नै रूपमा शान्ति, सुरक्षा, सम्झौता, समय परिस्थितिजस्ता शब्दहरू यिनै कानले सुन्नुपरेको छ । कतै संविधान संशोधनको साङ्लोले बाँधेर मुलुक सुधार्ने कुरो सुनिँदै छ, कतै सर्वदलीय सहमतिको सुरुवालको इँजारमा अड्याउने गफ गरिंँदैछ ।

आखिर हाम्रै देशमाथि यो ‘स’ को राहुले किन समात्यो त भन्ने कुरामा जान्नेहरूको भिन्न-भिन्न तर्कहरू सुन्न पाइन्छ । कोही भन्छन्- ‘सत्यजुगमै सतीले सरापेको हुनाले देशमा ‘स’ को साढेसाती दशाले समातेको हो ।’ अर्काथरि समाचार-समीक्षकहरूको तर्क अलि भिन्न खालको छ । उनीहरूको भनाई के हो भने- ‘सत्य भन्ने चीज स्वाहा भएपछि साँच्चै संसार सकिँदो रहेछ बा ।’

यस्तो लाग्छ, मुलुक अब कानुनको किताबका आधारमा हैन, संविधानलाई सूलीमा चढाएर शक्तिको वरिपरि घुम्न थाल्नेछ । त्यसपछि हाम्रो वणर्माला ‘क’ बाट होइन, ‘स’ बाट नै सुरु गर्नुपर्दछ । सायद यस्तो सम्भावना सजिलैसँग सत्यमा परिणत हुनसक्छ । सोच्नेहरूले जे सोचे पनि सानो मुलुक नेपालमा ‘स’ कै हालीमुहाली भएको चाहिँ सत्य हो ।

सगरमाथाको सोलुखुम्बुमा सेना र सशस्त्र माओवादी जनसेनाबीच हानाहान भएपछि देशमा सङ्कटकाल अरू चर्कियो । दाङको सतबरियामा सयौँ सर्वसाधारण स्वाहा भएको घटना होस् अथवा मङ्गलसेनमा शाही सेनाहरू सिद्धिएको प्रसङ्ग होस्- दुबै घटनामा ‘स’ को राहुले समातेको कुरा सबैले भन्दै आएको हो ।

माओवादी नेताको टाउको दिने सुराकीलाई सरकारले सकेजति दक्षिणा दिने घोषणा गरी सक्यो । ‘सुराकी’ दिनेजति सबैलाई दक्षिणा दिने हो भने त राम्रो भयो । तर सुराकी दिनेहरू पनि स्वाहा पारिएका घटनाले गर्दा सरकारको यो ‘सस्तो सिनेमा’ कति सफल हुने हो भन्ने कुरामा पनि शङ्कै छ । यसले पनि के कुरो प्रष्ट देखाउँछ भने, ‘स’ ले सलहझैंँ आफ्नो सन्तान जन्माउने काम गरिरहेको छ ।

संविधानसभाको सवालमा गएर भङ्ग भएको सरकार-माओवादी बीचको सर-सल्लाह पुनः सुरु हुने सङ्केत नै छैन । सेना लगाएर सशस्त्र आतङ्ककारी सखाप पारिछाड्ने सरकारी सनकले समाज सुध्रने संभावना नदेखिएजस्तै सानातिना सरकारी भवनहरूमा सुतलीबम सल्काएर साम्यवादको सपना देख्ने माओवादी सन्काइले सप्रिने सानो सङ्केत पनि देखिँदैन ।

सकेट बमको सिरानी लगाएर सुत्ने जनसेनाहरू स्वाहा हुनु र स्टेनगन शरीरमा झुण्डाएर हिँड्ने शाहीसेना सिद्धिनु जति दुःखदायी कुरा हो, साँढे जुधाइमा मिचिने सर्वसाधारण्म बाछाहरूको जिन्दगी सकिनु त्योभन्दा सयगुना सुखद् होइन ।

गिरिजाबाबु सरकारमा बसेका बेला समाचार सुन्न तोकिएको थिएन, किशुनजीले सत्ता सम्हालेको समयमा गीत सुन्न पनि सतर्क गराइएको थिएन । तर ‘स’ को शासन आएपछि त्यस्ता साझा गीतहरू सुन्न पनि सचेत हुने बेला आएको छ । शङ्काको भरमा जोसुकैलाई समाउने समयले गर्दा पनि ‘स’ ‘साह्रै सन्किँदै’ गएको देखिन्छ ।
सर्वसाधारणले स्वतन्त्र अभिव्यक्ति गर्न पाउँने संवैधानिक अधिकार खोसिएको महसूस हुँदै गएको छ ।

सरकारसँग नसोधी कसैले स्वविवेक प्रयोग गर्न पाएको छैन । तपाई नै भन्नोस् त, के यो ‘स’ को शासन होइन त ? जिल्लाका सदरमुकामहरू ‘स’ को सरगर्मीले सुनसान छन् रे भन्ने सुनिन्छ । साँझ सात बज्न नपाउँदै सडकहरू शान्त हुने गर्दछन् । सातो जाने खालको नेपालबन्दले सबैको हातमुख जोड्ने समस्या झनै बढाएको छ । सानोतिनो व्यापार गरेर खानुपर्नेहरूको ओठ-तालु सुकेर गएको छ ।

शुभ-प्रभातसँगै सिस्नु टिप्न जङ्गल गएकी सुनारनी साईंलीको सास भेट्न त परै जाओस्, लास पाउँने आश पनि मरिसक्न सुरु भो । सानीलाई कुर्तासुरुवाल किन्ने पैसा कमाउन शहर भासिएको सन्ते बेपत्ता पारिएको समाचार सुनेर सन्तेकी स्वास्नी सुन्तली पनि सुईकिई भन्ने सुनिन्छ । ज्योतिषीहरू देशमा ‘स’ को साँढेसात लागेको छ भन्ने गर्दछन् ।

सिमानामा विदेशी सेना सलबलाउन थालेको साचारले चसक्कसँग घोच्ने गर्दछ । शहरमा सिनेमा हलहरू चल्न छाडे । सर्चको अभियान सुनेर कसको मन सिरिङ्ग हुँदैनहोला र ! गाउँतिर सागबारीमा सकेट बमहरू फल्न थालेका छन् । सडकमा एम्बुस ओछ्याइएका भेटिन्छन् । एस.एल.आर. सोझ्याएर हिँड्ने शाही सेना देखेर केटाकेटीको सातो गयो रे भनेर साईंला काका धामी गर्न गाउँभरि कुद्ने गरेका छन् रे भन्ने पनि सुनिएको छ ।
‘स’ बाट सगरमाथा त बन्यो, तर विचरो एक्लो सगरमाथा सुँक्कसुँक्क रोइरहेको देखेर कोही पनि शान्तिको सास फेर्न पाएका छैनन् । नेपाली वणर्मालाको एउटा जाबो अक्षर ‘स’ ले देशमा यत्रो आतङ्क मच्चाएको बेला यहाँका भाषाविद्हरू चाहिँ के गरेर बसिरहेका छन् कुन्नि ?

मेरो त यही अनुरोध छ कि ‘स’ को आतङ्कबाट देशलाई बचाउन शासन सुधार गर्नुपर्‍यो या त, नेपाली वणर्मालाबाट ‘स’ अक्षरलाई नै किकआउट गर्नुपर्‍यो । कि कसो ?

०००
‘हनुम्यान’ हास्यव्यङ्ग्यसङ्ग्रह (२०५९) बाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad