सर्वज्ञ वाग्लेलोकतन्त्रकी परी
लोकतन्त्रकी परी संविधान लिएर झरी ! लोकतन्त्रकी परी हतार हतार ‘ओल्लो घरको नरे पल्लो घर सरे’ भने झैं तानाबाना वुनेर भित्रिइन् रे भन्ने पनि सुनेकै हो । मेरा त कुरै छोडौं मेरा बाले सुरवालाँ सु गर्ने बेलाँ लोकतन्त्रकी परी उतावाट झरिन् यतावाट हराइन् रे भन्ने पनि सुनेकै कुरा हो । लोकतन्त्रकी परी माथिवाट झरिन् भन्ने सुनेको धेरै भयो न त देख्नै पाइयो न त बोलाउनै र बोल्नै, मनका कुरा खोल्नै । आफ्नो नाम पछि सावरसँगै पावर बढाई मेकप, लाली पाउडर, शृङ्गारसँगै ड्रेस चेन्ज गरेर फ्रेस हुन्छिन् रे भन्ने पनि सुनेकै हो ।
उनलाई जति पटक ड्रेस फेर्नु पर्छ त्यति पटक प्रेससँग सम्वन्ध जोड्दै फ्रेस हुनु पर्छ भन्ने पनि नसुनेको होइन । कहिले लोकतन्त्री परी कहिले वहुदलीय जनवादकी शोड्षी, त कहिले नौलो जनवादकी रुपवती त कहिले प्रजातन्त्रकी प्रेयसीको नामसँगै राजा महाराजकी कान्छी महारानी भन्ने गर्छन् रे हो ? चार पार्टीका साठी जवानले कहिले राजा महाराजा ढोकाँ धकेल्छन् त कहिले द्रोपदी झैं भागबण्डा र अंशबण्डा गर्छन् भन्ने पनि घोइरो–घोइरो सुनेकै हो ।
सारा दुनियाँ आँगनाँ छम्मछम्म पाउजुआँ भाउजूसँगै झुम्का लगाएर तिजाँ ठुम्का मार्दै नाच्न छोडेर सबैका घराँ चेली बनेर बाँच्न छोडेर चार पार्टीका घराँ राजा महाराजा तलाँ धरो हालेर द्रौपदी बन्दैछन् भन्ने सुन्दा सारा लोकले लोकतन्त्रकी परी कता झरी सारा लोकको दुनियाँ छैनन् वरिपरि भन्दै दिन गन्दै छन् ।
हे परी ! जब तिमी तिनकै घराँ बराबर धरै हाल्यो भने लोकतन्त्रकी परी अहिले संविधान लिएर नेपालमा झरी भन्ने एउटा हल्ला मात्रै हुन्छ । तिमी तिनका आन्तरिक परी बन्छ्यौ । जब तिमी आन्तरिक परी बन्छयौ बाहिरको लाई लोकतन्त्रकी परी पनि छ ! भन्ने भ्रम मात्रै जात्रै बन्ल्यौ है ? फेरि तिमी भित्रिया बन्यौ भने तिमीलाई दुरविनले मात्रै नभई माइक्रोस्कोपको आविष्कार पनि धिक्कार बन्न सक्ला ।
म त चार पार्टीका साठी जवानलाई तिम्रो बारेमा बिन्ती गर्दै छु । जब लोकतन्त्रकी परीलाई यहाँ महाशयहरूले भित्रै लुकाएर राख्नु हुन्छ भने महाशय त्यो त साह्रै अन्याय होला किनकी सौन्दर्यको वस्तु त लुकाउने होइन महाशय बाहिर सारा दुनियाँको अगाडि देखाउने हो । म त के भन्छु भने महाशय लोकतन्त्रकी परीलाई यसरी बाहिर देखाई दिनुहोस् कि संसारका लोकतन्त्रवादीले पनि परी खोज्न स्वर्ग धाउन अनि थाहा पाउन् र चार पार्टीका साठी जवान र राजा महाराजका बौद्धिक क्षमताले परीको नाम उनको काम वाँडफाँडको पारदर्शी प्लान यहाँ आएर हेर्दा हेर्दै मुर्छा परून् ।
चार पार्टीका साठी नेताजी राजा महाराजा, साहु, महाजन ब्युरोक्याट, प्रशासन र व्यापारीका अपार लोकतन्त्रकी परी वरिपरि छम्मछम्म पातलो कम्मर हल्लाउँदै चाँदनी रातसँगै कम्मर भाँच्दै कर्के नजरले परेली झिमझिम गर्दै नाच्छिन् रे भन्ने सुनेको हो । सारा नब्बे प्रतिशत जनता जनार्दनको नजरबाट लुकाउँदै गरीब र निमुखालाई झुक्याउँदै लोकतन्त्रकी परीको नाम कहिले प्रजातन्त्रकी परी त कहिले गणतन्त्रकी त्यस्तै कहिले जनवादकी परी त कहिले नौलो जनवादकी परीको नामले छिन छिनमा छेपाराले काँचुली फेर्दा झैं नाम फेर्ने र ठुलावडा घराँ मात्रै धरो हाल्ने परीको नजर दुनियाँलाई लाग्न नदिने नाचसँगै बाँच्ने भयौ त परी ?
विचरी लोकतन्त्रकी परी स्वर्गवाट झरी भन्ने हल्लासँगै तिन करोड जनताको परी हेर्ने पल कहिल्यै ढल्केन । परीको नाचगान र बजानको चर्चाले कुनै रात रंगिन साँझ त कुनै रात परीको नाचगानको टिकट र उनकै पालन र पोषणको झोलीले हिजो चप्पल लगाउने खुटटा आज पजेरोमा विराजमान हुँदैछन् । उनकै नाम रंगिन सामको नामले वादैवादका झोली फैलाउँदै लोकतन्त्रकी परीको पेट भर्ने जरी बन्दैछ ।
परीको नाममा ‘चामल पैसा धामीलाई बेथा जति हामीलाई’ भने जस्तै ठुला पार्टीका साठी भगतज्यूहरू ठुला ठुला पार्टी अफिस, त्यसभित्र, पजेरो र महंगा गाडी, टिकट दिने र पार्टी चलाउने तीजोरी भर्ने जोहो, लगान गर्ने र कमाउने काम्माँ त जनताका लागि जनताद्वारा जनताले गर्ने शासन पद्धती नै त हो नी हैन र ? त्यसमा पनि लोकतन्त्रकी परीको तस्विर पार्टी र पार्टी अफिसमा ठुला पार्टी त्यहाँका साठी जवानहरूका घराँ र पजेराँ मन तथा मस्तिष्काँ राजा महाराजा साहु महाजन र सरकारी अफिसरका घर दैलाँ तथा मन्त्रालय र सचिवालयाँ टाँसिएकैछ । लोकतन्त्रकी परी तिमी भन्दा राम्रो त तिम्रो तस्विर छ ।
लोकतन्त्रकी परी तिम्रो नाममा हुने हरेक रंगिन शामसँगै ठुला पार्टी ठुला व्यक्त्तित्व ज्यूहरूले चुनावाँ निकाल्ने घोषणा पत्रसँगै तिम्रो घाँटी निमोठेको र तिम्रो छाती निचोरेको तिमी पत्तै पाउँदिनौ कि क्या हो ? अव त्यसरी तिमी लोकतन्त्रकी परी तिमीलाई तिम्रो जवानीसम्म मात्रै नचाउने राजा महाराजा साहु महाजन व्यपारीको हाताँ तिमीलाई रखेल बनाउनेसँग तिमी बस्न सुहाउँदैन । आऊ आमाका काखाँ छोरी, चेली, बुहारी र सुन्दरी बनेर हरेकको घर घर आऊ गरिबको दुखाँ साथ दिन निमुखाको नियाँ निसाफाँ माफ दिन देशको आँगनिआँ संविधान बोकेर छम्मछम्म नाच्न आऊ । तिम्रो सुन्दर रुप सवैलाई देखाऊ, विन्ती छ सबैलाई देखाऊ ।
हाल– अमेरिका
Subscribe
Login
0 Comments
Oldest







































