सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जस्तो आफू उस्तै च्यापु

‘कहिले सासूको पालो कहिले बुहारीको पालो’ अर्काले खेद्यो भने प्रजातन्त्रको कुरा गर्ने, आफूले खेद्न पाए जनताको दुहाई दिने !

Nepal Telecom ad

मेरा हजुरबाको नाम मुक्तिनाथ हो । उहाँलाई सबै गाउँलेले भन्ने गर्थे रे- “ऊ उखानका धनी आए । अब उखान र टुक्काले सताउने भए । बूढाले हसाउँने भए । शभा नै खलबलाउने भए ।” हुन पनि हजुरबा उखान र टुक्का भनेर सबैलाई जुरुक-जुरुक बनाउनुहुन्थ्यो रे । उहाँ हामीलाई भन्नुहुन्थ्यो- ‘जस्तो गुरु त्यस्तै चेला !’ ‘जस्तो बाबु त्यस्तै छोरा !’ ‘जस्तो सङ्गत त्यस्तै भविष्य !’ ‘जस्तो आफू त्यस्तै च्यापू !’ ‘सङ्गते जायते फलम !’ ‘जस्तो बुबा त्यस्तै फल !’ उहाँले भन्नु भएका उखानहरू आज पनि हामी नातिहरूलाई कण्ठ छन् ।

त्यसैले होला एक पटककको घटना मेरो मानसपटलमा सँधै घुमिरहन्छ । एकदिन हाम्रो वाग्ले बन्धु समाजको वार्षिक भेला वाल्मीकि क्याम्पसमा थियो । त्यसबेला चिरञ्जीवी वाग्लेलाई हाम्रो वाग्ले बन्धु समाजले सम्मान गर्ने कार्यक्रम राखेको थियो । त्यसबेला वाल्मीकि क्याम्पसको पछाडिपट्टिको ठूलो हलमा हाम्रा वाग्ले बन्धुहरू खचाखच भेला भएका थिए । मैले त्यस सभाको उद्घोषण गरेको थिएँ । लाटो देशको गाँडो तन्नेरी भनेझैँ उक्त कार्यक्रम सञ्चालन गर्दा मेरा नाकका पोरा घोडाका जत्रा भएका थिए । मेरो परिवारका झन् हात्तीका जत्रा भए होलान् । मान्छेलाई सानो कुराले उचाल्ने र पछार्ने गर्ने मनभित्रकै पशुत्वले त होला नि ! हैन र ? त्यसैले होला मेरो ३ वर्षको छोराले पनि उक्त सभाको वास्तै नगरी कहिले अगाडि, कहिले पछाडि गरेर पूरै सभाको वरिपरि नाचेको थियो । त्यति बेला मन्त्रीज्यूको गार्डले निकै जिस्काएको थियो । तर त्यो तीन वर्षको बच्चाले झन् ठूलोठूलो स्वरले तोतेबालीले धम्काउँदै भन्दो रहेछ- “तेरो बन्दुक भन्दा मेरो घरमा ठूलो बन्दुक छ, घरबाट ल्याएर हान्दिम !” कसैसँग पनि नडराउने लामो कपाल पालेको गोरो बच्चा देखेर सबैले जिस्क्याउँदा रहेछन् । त्यो उल्लुले त अगाडि पसलबाट चाउचाउ, चकलेट, विस्कुट के के हो के के ठगेर पनि ल्याएछ ।

म त दङ्ग परेँ । हाम्रो सभाको कार्यक्रम समाप्त पारेर अर्को चरणको अर्थक्रम शुरु भएको थियो । एउटा ग्रुप एक ठाउँमा हाँसेर बसेको देखेर गएको त बीचमा छ आफ्नो छोरो ! सबैलाई हसाउँदो रहेछ । यो बिस्कुट, चाउचाउ यी हातमै नअटाएका चीजहरू कहाँबाट ल्यायौ हँ भनेको त एकजना इन्जिनियर वाग्लेज्यूले भन्नुभयो- “आँपको बोटमा के फल्छ आँपै त फल्छ नि ! जस्तो बाउ उस्तै छोरा ।” अर्कोतिर मेरा बुबा र श्रीमतीजी त्यो बच्चालाई खोज्दै हिँड्दा रहेछन् । मलाई त्यतिबेला लाग्यो मेरो छोरो ठूलो मान्छे हुन्छ होला ! राम्रो अग्लो, गोरो, क्लासमा फस्ट, स्कुलमा टप र संसारले चिन्ने कुनै अनौठो व्यक्तित्व बन्छ होला जस्तो लाग्थ्यो । मेरो सपना यति ठूलो भयो कि सबैको अगाडि नाकका दुई पोहरा चल्न थाल्यो । गजक्क !

तेस्रो वर्षपछि नेपालमा पनि निरङ्कुशता सकिएर लोकतन्त्र आयो ! शान्ति सम्झौतामा साइन गर्न लाग्दा प्रचण्ड, माधव नेपाल, शेरवहादुर, गिरिजाप्रसाद आदि एकै ठाउँमा हुँदा गिरिजाले भने “तपाईं हामीले फोटामा ठूला-ठूला जुँगा भएका डरलाग्दा देखिने प्रचण्ड आज हाम्रो अगाडि सामान्य हुनुहुन्छ । द्वन्द्वलाई हामी आफैले समाधान गर्‍यौँ र देशमा शान्ति ल्यायौँ र आज संसारलाई चकित बनायौँ । पहिला हामीले अरु देशको उदाहरण लिन्थ्यौँ भने अहिले हामी नै उदाहरण बन्यौँ । त्यस्तो टेरोरिस्टलाई हामीले प्रजातन्त्रवादी बनायौँ । प्रजातन्त्रकै मूल्यमान्यताको मूलधारमा समेट्यौँ” भने बा । ‘आफैँ बोक्सी, आफैँ सुँडिनी !’ द्वन्द्वको संघारमा पुर्‍याउने र जाने गिरिजा र प्रचण्ड नै त हुन् नि ! अनि त्यहाँ बस्ने माधव, शेरबहादुर र आज ल्यायौँ भन्ने पनि तिनै त हुन् नि हैन र ? ए साँच्चै अर्को मूलनाइके छन् ती निलम्बित नाइके देशकै शोषक, चुसाहा, मिचाहा ठूलामान्छेको पदवी यही हैन त ?

तर आज दस्तावेजमा लेखिएका अक्षरहरू सिरानीमै होलान् ! लेखिएको मसी सुक्ना पाएको छैन । तर आज हामी गरिबका घरघरमा भात पकाऊ भन्ने । अपहरण चन्दा, असुल्ने असुलेका असुलै छन् । हाम्रा एउटा दाइ थिए उनी एक किसिमले प्रचण्ड जस्तै डरलाग्दा, काला, अग्ला ! ठूला-ठूला जुँगा भएका आएछन् र झोला छाम्दै देखाउँदै “दश जनालाई खाना बनाउ नत्र …” भनेछन् । डराईडराई खाना बनाएर ख्वाएको त, बेलुका रेडियोले समाचार भन्यो- काठमाडौँको मुटुमा पर्ने पब्लिक-युथ क्याम्पस नै ध्वस्त ! नौ वटा मोटरसाइकल जले ।”

कतै चन्दा आतङ्क, कतै झण्डा आतङ्क ! कतै भात आतङ्क त कतै भ्रष्ट आतङ्क । ओहो साधारण देखिने प्रचण्डको न त जुँगा सानो भयो । न त बुँदा नै समान भयो । त्यसैले पहिलाका नेता र आजका नेतामा के फरक छ त ? गिरिजा पनि उनै हुन् ! प्रचण्ड पनि उनै हुन् । माधव पनि उनै हुन् ! शेरवहादुर झन् राजाका साडुभाइ नै हुन् । बेला र खेलाले अल्ली बूढा बनाएको मात्रै रहेछ । शान्ति पनि जनताकै चापले आएको रहेछ । सचेत पनि जनतै रहेछन् ।

‘जस्तो नेता त्यस्तै कार्यकर्ता’ मेरा हजुरबाले भन्नुहुन्थ्यो- ‘जस्तो आफू त्यस्तै च्यापु ।’ त्यस्तो दादागिरीको बेला त कति दिन पो हुन्छ र ? ‘कहिले सासूको पालो कहिले बुहारीको पालो’ अर्काले खेद्यो भने प्रजातन्त्रको कुरा गर्ने, आफूले खेद्न पाए जनताको दुहाई दिने ! मेरो छोरो पनि कति फुर्तिलो थियो । कति राम्रो थियो । तर आज ‘पढ्नुगुन्नु कौनै काम, हलो जोत्यो बुबुमाम’ भनेझैँ अहिले तराईको खेत जोतेर बुबुमाम खाएको छ । सधैँको समय एउटै हुन्छ र ? आज ऊ जस्तो कालो दुब्लो ख्याउटे मान्छे नै छैनन् होला । पढ्नै सकेन । दुई जनासँग बोल्न पनि डराउँछ । अर्काको भरमा दादागिरी देखाउने हविगत त यस्तै पो हुँदो रहेछ बा !

हाल अमेरिका

फित्काैली अङ्क ३५, २०६९

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दमदार दमडी

दमदार दमडी

सर्वज्ञ वाग्ले
साँढे

साँढे

सर्वज्ञ वाग्ले
नेता बन छोरा

नेता बन छोरा

सर्वज्ञ वाग्ले
मुर्ख समाज !

मुर्ख समाज !

सर्वज्ञ वाग्ले
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे