लेख निरौलासमाचार सालीलाई
किनेँ तेल मैले लुकाएर आफैँ
किनेँ ग्यास पैसा लुटाएर साफै
गरे खर्च राम्रो यहाँ छैन खाली
सबै वस्तु मिल्दो यहाँ रै’छ साली ! ।।
सुनेथेँ यहाँ बन्द नाका पुरानो
सबै शून्य छन् रे सुनेथेँ बिरानो
त्यसो हैन साली लुकाएर सारा
यहीँ मिल्छ साँच्चै म साक्षी किनारा ।।
तिमी छोड चिन्ता सबै ठप्प भो’रे
अभावै छ सारा पसारा भयो रे
कुनै सत्यता छैन भन्दै छु आज
लुकाएर पैसा दिँदा छैन लाज ।।
बिहे भोज उस्तै पुरानै छ चाला
यता जाम लामै सबारी खटारा
कहाँ बन्द अग्ला नयाँ पाँचतारे
कतै ग्यास वा तेल सारा ओसारे ।।
अरू के भनूँ खर्च गर्ने र सक्ने
सबै मस्तमै छन् कतै छैन छेक्ने
गरे खर्च सारा सबै थोक रास
जहाँ छैन पैसा त्यहीँ नै निराश ।।
महङ्गी छ पक्कै खुला छैन माल
मिलाए सबै मिल्छ पैसा कमाल
सके गर्न कालो बजारी छ पैसा
लिएँ ग्यास मैले लिएँ तेल ऐसा ।।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































