लेख निरौलाजय शम्भो !
शिव शङ्कर हे शम्भो ! कसरी सम्झना गरूँ
नगरूँ कसरी आफू, को अर्को भरमा परूँ ।
परेथेँ भर त्यो वेला भूकम्प त्रासमा हुँदा
त्राहि त्राहि पुकारेथेँ आसका साथ आत्तिँदा ।।
कहाँ फुर्सद हे शम्भो ! धन दौलतको धुन
बिर्सिएँ अरू ती बेला कहाँ मन्दिरमा छुन ।
उद्देश्य धनको मात्र जो थियो त्यो भएपछि
सम्झिएँ प्रभु त्यो बेला अख्तियार पसेपछि ।।
सम्झना कहिले हुन्छ वेला वेला डराउँदा
नसम्झी कसरी सक्छु संसारमा हराउँदा ।
अस्ति नै पनि सम्झेथेँ भिसा लाग्ने कुरा हुँदा
तर ढुक्क भयो फेरि बिर्सिएँ काम भै’दिँदा ।।
चुनावी दौडमा जाने प्रतिस्पर्धा भयो जब
सम्झिँदै छु पुनः शम्भु नहारूँ जान्छ वैभव ।
बरु काम बनून् मेरा जे गर्न पनि धाउँछु
उपवास बसी भोलि शिवरात्रि मनाउँछु ।।
म हारे पनि के भो र जितून् मित्र घनिष्ठ नै
इसारा साथमा आफ्नो रहोस् आफू वरिष्ठ नै ।
शम्भो हे ! बिर्सिए मैले नबिर्सनू तपाईँले
मान्छे हुँ लोभले गर्दा बिर्सिइन्छु मपाईँले ।।
भोकले खान खोजिन्छ लोभले झन् उसै गरी
कहिले मन बिग्रिन्छ बिर्सिइन्छु त्यसै गरी ।
सूर्य ग्रहण भोलि रे शिवरात्रि सँगै सँगै
चुनावी चापको वेला सम्झिन्छु है जसै गरी ।।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































