केशवराज अर्याल ‘निश्चल’दाह्री
भारदारी, इज्जतदारी, भुवादारी, हावादारी,
इमानदारी, समझदारी, मुसेदारी, झुसेदारी,
कविदारी, रविदारी, सद्धामदारी, बाबुरामदारी,
बाकेदारी, पोकेदारी, बफादारी, सफादारी,
शिकारीदारी, भिखारीदारी, झप्पुदारी, लम्बुदारी,
तल दारी, माथी दारी, यता दारी, उता दारी,
जताततै दारी नै दारी । तर, खबरदारी,
कुनैकुनै चाहिँ इमानदारी,
नत्र सबै हावादारी ।।
न यसको अवधि छ, न करार छ,
न कसैले नपाल भन्छ, न मन पराछ ।
पहिलेका दारीवालहरू सबै ऋषिमुनि,
अहिलेका दारीवालहरू सबै सिसीमुनि ।
भोजबस्तीमा दही खानोस, पहिला दारीले नै खान्छ ।
मोजमस्तीमा म्वाइ खानोस्, पहिले दारीले नै खान्छ ।
न भोक न तिर्खा भन्छ, न रुन्छ नक्कल पारी,
जता जानोस् सँगै जान्छ, कस्तो इमानदारी ।
नवकिशोर दाह्री मुसार्छ, दर्पणमा दशफेर हेर्छ,
दारी बढ्न थालेपछि बाउको बिहे देख्छ ।
दारी बढी पाल्यो भने कविता बर्सिने,
दारी काट्न गयो भने हजाम तर्सिने ।
माक्र्सवादी, लेनिनवादी ,ऋषी, सन्त, महाराजदारी,
ठूला व्यक्तिको गालामा बस्ने, कस्तो इज्जतदारी ।
फुल्यो भने मेहँदी लाए कालो भइहाल्छ,
खौरिएर फाल्यो भने फेरी आइहाल्छ,
खाने मुखलाई दारीले छेक्दैन,
नियालेर हे¥यो भने मुखै देख्दैन ।
अमेरिकी पञ्जावी चाइनीज न बिहारी,
दारी दारी नै हो जङ्गल र घारी
सोच्नुस त केटीको नि दारी पलाए के होला ?
के हुनु बाख्रीले झैँ दारी हल्लाउँछन् होला ।
त्यही दारीमा मानसम्मान इज्जत फैला पारी,
त्यही दारीमा बूढीले कति लिखा मारी ।
दारीले धनी गरिब केही भन्दैन,
जताततै पलाइदिन्छ , कुन ठाउँ हो? जान्दैन ।
भन्नुहोला दारी एउटै हो, के गर्छ सेतोले, के गर्छ कालोले,
दारी कालो भएरै हिजो दुईटा स्वास्नी ल्यायो सालोले ।
दारीजुँगा के हो कसरी बचाउने कुरो बुझ्या खोई ?
दारी फोहर भएरै तल्लाघरे कान्छाको बुढी पोइल गई ।
धक्कु लाउँछ ऊ सदनमा मेरो लामो क्रान्तिकारी दारी,
थाहा छैन दारीभित्र कति छन् जुम्रा ढाडी ।
नेताले चुनाव हारे कार्यकर्ता कुटे,
झुसेदारी देखाएर लुट्नुसम्म लुटे ।
त्यो दारीवाल जो बढी चुरोट सल्काउँछ,
कुन दिन उसले चुरोट हैन दारी सल्काउँछ ।
टाउकोमा कपाल छैन, च्याप्पुतिर सरी,
गाला सबै चाउरीसक्यो लामालामा दारी ।
झगडामा बाबु कपाल भुत्ल्याउने, आमा तान्छिन् दारी ।
छोरो हेर्छ टुलुटुलु हाँस्छ मरीमरी ।
मैले सोधेँ दाइ दारी सेभ गर्नुपर्दैन ?
उसले भन्यो दारी ? सेभै त छ नि, डिलिट पो ग¥या छैन ।
न लाग्छ सही जिन्दगी, न लाग्छ गलत,
के गर्नु भाइसाप यस्तै छ मेरो हालत ।
महिलाको पहिचान सिन्दुर पोते र सारी,
पुरुषको पहिचान उहि त हो नि जुँगा र दारी ।
भारदारी, इज्जतदारी, भुवादारी, हावादारी,
इमानदारी, समझदारी, मुसेदारी, झुसेदारी,
कविदारी, रविदारी, सद्धामदारी, बाबुरामदारी,
बोकेदारी, पोकेदारी, बफादारी, सफादारी,
शिकारीदारी, भिखारीदारी, झप्पुदारी, लम्बुदारी,
तल दारी, माथी दारी यता दारी उता दारी,
जताततै दारी नै दारी तर, खबरदारी,
कुनै–कुनैचाहिँ इमानदारी,
नत्र सबै हावादारी ।
चारघरे, नुवाकोट
Subscribe
Login
0 Comments
Oldest







































