साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डुब्लिकेट नक्कली र ओर्जिनल नक्कली

Nepal Telecom ad

एकाबिहानै एक जना शुभचिन्तकले सचेत गराए, ‘तपाईं पनि ख्याल गर्नोस् है ।’ मैले सोधें, ‘किन र ?’ उनले भने, ‘नक्कलीहरू धमाधम पक्राउ पर्दैछन् ।’ मैले सहज जवाफ दिएँ, ‘नबिराउनु, नडराउनु, मैले कुन नक्कली काम गरेको छु र !’ उनी मुसुक्क हाँस्दै बोले, ‘नक्कली राजा तपाईं, नक्कली प्रचण्ड तपाईं, नक्कली मोदी तपाईं ।’ यति भनेर फेरि एक रिल हाँसेपछि थपे, ‘प्रहरीले कुनै पनि नक्कलीलाई छोडिन्न भनेको छ क्या !’

मैले बुझिहालें, साथी ठट्टा गर्ने मुडमा छन् । ‘सबैभन्दा खतरा त तपाईंलाई देखिरहेको छु ।’ अलि चनाखो भए, ‘मैले अहिलेसम्म कसैको नक्कल गरेको छैन ।’ मैले उनको ओठमा औंला राख्दै जवाफ दिएँ, ‘यो अगाडिको दाँतचाहिं सक्कली हो र !’

सोच्दै नसोचेको व्यंग्यवाण आफैंतिर फर्किएपछि उनी अट्टहास गर्दै बोले, ‘साँच्ची हामी नक्कलीलाई त मान्छेले जोक नै पो बनाए त ।’ मैले भनें, ‘डुप्लिकेट नक्कलीको जोक हुन्छ, ओर्जिनल नक्कलीको बिजोग हुन्छ ।’ सोधें, ‘के फरक छ, डुप्लिकेट र ओर्जिनल नक्कलीमा ?’ जवाफ दिएँ, ‘ओर्जिनल नक्कलीहरू ती हुन् जसलाई प्रहरीले पक्राउ गरिरहेको छ, डुब्लिकेट नक्कलीहरू ती हुन्, जो नक्कली हुन् तर गैरकानुनी होइनन् ।’ शुभचिन्तक अलमलमा परे, ‘कानुनी नक्कली भन्नाले ?’

‘सुन्नोस्,’ म बेलिविस्तार लगाउन थालें । ‘प्रहरीको यो अपरेसनबाट हामीजस्ता नक्कल गर्ने कलाकारहरूले डराउनु पर्दैन । तपाईंजस्ता नक्कली दाँत लगाउनेहरूले पनि आत्तिनु जरुरी छैन । नक्कली केश प्रयोग गर्नेहरूले हतोत्साही हुनु आवश्यक छैन । नक्कली सुन लगाउनेहरू, नक्कली खुट्टाले हिंड्नेहरू, नक्कल पार्ने नानीहरू, झक्कल पार्ने बाबुहरू कसैले पनि तर्सिनु र झस्किनु पर्दैन भन्ने गजुरियल ठम्याइ हो ।

नक्कलीसम्बन्धी ठट्टा चलिरहेका बेला उनी अकस्मात् सिरियस भए, ‘हजारौं युवा नक्कली पुलिस रिपोर्ट बनाएर विदेश पुगेका छन् । नक्कली कागजातका आधारमै भए पनि रोजीरोटी चलाउनेहरूको संख्या पनि त्यत्तिकै होला । के ती सबैलाई कारबाहीको दायरामा ल्याउन सम्भव छ ?’ उनको प्रश्न गलत थिएन । ‘कारबाही त गर्नैपर्छ,’ उनी ध्यान दिएर सुन्न थाले, ‘कानुनको खिलाफमा हुने जुनसुकै कार्यको कानुनी कारबाही गर्न गराउन हामीले दबाब दिनैपर्छ ।’

उनी झनै गम्भीर भए । ‘तर नक्कलीलाई कारबाही गर्ने विषय यति वृहद छ कि यसको सही तरिका भएन भने भोलि ठूल्ठूला समस्या आउन सक्छन् । मेरो विचारमा उनीहरूको कार्यक्षेत्रको संवेदनशीलता हेरी कारबाहीको रूप फरक हुनुपर्छ ।’ उनको कुरोको चुरो बुझ्न मलाई अलि गाह्रो भयो, ‘भन्नाले ?’ उनी प्रस्टिए, ‘मान्छेको ज्यान, राष्ट्रियताजस्ता संवेदनशील क्षेत्रका नक्कलीलाई चाहिं हदैसम्मको कारबाही गर्नुपर्छ तर सामान्य केशमा भने निष्कासन गर्ने, सचेत गराउने, दण्ड–जरिवाना भर्ने–भराउनेजस्ता काम गर्नुपर्छ जस्तो लाग्छ ।’

नक्कलीको ठट्टाबाट सुरु गरेको कुरो गम्भीरतातिर मोडिएपछि मैले भनें, ‘तपाईंलाई आफ्नो कुरो ठीक लाग्छ, मलाई मेरो कुरो ठीक लाग्छ तर सक्कली ठीकचाहिं को हो भन्ने कुरा तपाईं–हाम्रो भावनाले होइन, देशको नियम–कानुनले गर्छ ।’ साथी अलमलिए, ‘तपाईंले त कानुनजस्तै घुमाउरो कुरो गर्नुभयो, कलाजस्तै सोझो बताउनोस् न ।’ मैले बताएँ, ‘जुन विषय हाम्रो मस्तिष्कले जान्दैन, बुझ्दैन वा विश्लेषण गर्न सक्दैन, त्यसमाथि छलफल गर्दैमा समाधान निस्किँदैन । त्यसैले हामी अहिले ओर्जिनल नक्कलीका विषयमा कुरा नगरौं, डुप्लिकेट नक्कलीकै विषय प्रवेश गरौं ।’

त्यसपछि हामी प्रहरी निगरानीमा रहेका सक्कली नक्कलीका बारेमा होइन, हामीजस्तै डुब्लिकेट नक्कलीलाई नडराउने आह्वान गर्ने कुरामा सहमत भयौं । सोही सहमतिअनुसार सानो वक्तव्य पनि जारी गरेका छौं ।

‘नक्कलीलाई गाली गर्ने नाममा नक्कली दाँतावाला, नक्कली कपालवाला, नक्कली अंगवाला, नक्कली गहनावाला, मेकअप गर्ने नक्कली, क्यारिकेचर गर्ने नक्कले आदि हामी ‘डुप्लिकेट नक्कली’ लाई हाँसो र व्यंग्यको विषय नबनाइयोस् भनी हामी जोडदार माग गर्दछौं ।’

साप्ताहिक, असार १०, २०७३

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x