नरनाथ लुइँटेलसाँढे बौलाएछ

शनिबारे वाण– २ :: साँढे बौलाएछ 
देख्नै हुन्न जस्लाई पनि आँखामात्रै तर्छ
कान्लातिर सिङ जोत्तै फाँफाँ फुँफुँ गर्छ
पुच्छर ठाडो पार्छ त्यसै, जुरो हल्लाएछ
हेर हेर यो गोठको साँढे बौलाएछ । {{read_more}}
घाँस हाल्न जाँदा पनि होक्काँ गर्छ किन
दाम्लो लाउने गोठालालाई ध्वाँस दिन्छ किन
बाच्छा बाच्छी थर्कमान सातो खेलाएछ
हेर हेर यो गोठको साँढे बौलाएछ ।
सार्वजनिक घाँसेचौर आफ्नै मात्र ठान्छ
सुँघ्नै दिन्न कसैलाई आफै मात्र खान्छ
गोठभित्र छिमेकीका डिँगा बोलाएछ
हेर हेर यो गोठको साँढे बौलाएछ ।
सन्त्रस्त छन् गाई बाच्छा उस्कै फुङ्कारले
त्राहिमाम त्राहिमाम उस्कै हुङ्कारले
डुक्रिन्छ यो बिनसित्ती, पुच्छर डोलाएछ
गोरु बनाइ जोत्नु पर्ने साँढे बौलाएछ ।
अचाक्ली भो भन्न थाले जोतिषि र पाँडे
सारै गारो भयो अब सुमर्नलाई साँढे
खुट्टा बाँधी लडाएर छर्के चिसो पानी
ठण्डा हुन्छ झिकिदिए यस्को राजखानी ।
१५ मङ्सिर ०७४
कलङ्की, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































