साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मधेश प्रदेशको पहिलो लघुकथा सङ्ग्रह लोकार्पित

लघुकथा समाज नेपालका अध्यक्ष गोपाल अश्क र नारायणी वाङ्मय प्रतिष्ठान वीरगंजका अध्यक्ष डा. विश्वम्भर शर्माले संयुक्त रुपमा कृतिलाई लोकार्पण गरेका हुन् ।

Nepal Telecom ad

सङ्घीय संरचनामा गएपछि मधेश प्रदेशमा पहिलो लघुकथा सङ्ग्रहको शनिवार एक समारोहबिच लोकार्पण गरिएको छ । रौतहटको गरुडास्थित रेडियो मधेश मसला एफएमको प्रेक्षालयमा लघुकथा समाज नेपालका अध्यक्ष तथा भाषा आयोगका सदस्य माननीय गोपाल अश्क र लघुकथा समाज नेपालका मधेश प्रदेश अध्यक्ष तथा नारायणी वाङ्मय प्रतिष्ठान वीरगंजका अध्यक्ष डा. विश्वम्भर शर्माले संयुक्त रुपमा ‘रौतहटका लघुकथा’ नामक संयुक्त लघुकथा कृतिलाई लोकार्पण गरेका हुन् ।

रौतहटका साहित्यकारहरू सञ्जय साह मित्र, रेणु गुप्ता, किशुनदयाल श्रीकृष्ण, हरि जिसी, केदार यादव र धनदेव जोशीका पाँच पाँच गरी तिसओटा लघुकथा सङ्ग्रह गरी ‘रौतहटका लघुकथा’ संयुक्त लघुकथा कृति प्रकाशन गरिएको हो । २०७९ मा लघुकथा दिवस मनाउने क्रममा लघुकथा वाचन गर्ने साहित्यकारहरुको सिर्जनालाई समेटेर कृति तयार पारिएको र कृतिको प्रकाशन सिर्जना साहित्य समाज रौतहटले गरेको हो ।

नेपालमा लघुकथाको सैद्धान्तिक परिचय तथा इतिहास नै पहिलोपटक लेखेका माननीय अश्कले मधेश प्रदेशको पहिलो लघुकथा कृतिलाई सार्वजनिक गर्न पाउँदा आफूलाई हर्ष लागेको बताएका छन् । नेपाली लघुकथाले निकै फड्को मारेको बताउँदै मा.अश्कले नेपालको आख्यानमा द्वन्द्वको कमी रहेको स्पष्ट पार्दै लघुकथालाई चुटकिला हुनबाट जोगाउनु पर्ने बताएका छन् । नेपाली साहित्यमा मधेश प्रदेशको अत्यन्त ठूलो योगदान रहेको बताउँदै मा. अश्कले लघुकथाको इतिहासको पनि एक हिसाबले सुरुआत भएको बताएका छन् ।

लघुकथा समाज नेपालका मधेश प्रदेश अध्यक्ष तथा समालोचक डा. विश्वम्भर शर्माले आयामको संक्षिप्ततामा आरम्भ, उत्कर्ष र कलात्मक निष्कर्ष दिन सक्नु लघुकथाको चमत्कार भएको बताएका छन् । डा. शर्माले पनि मधेश प्रदेशको पहिलो लघुकथा कृतिको लोकार्पण गर्न पाएकामा हर्ष व्यक्त गर्दै लघुकथाको क्षेत्रमा नयाँ इतिहास रौतहटबाट प्रारम्भ भएको बताएका छन् ।

सिर्जना साहित्य समाज रौतहट र बुढ्यौली साहित्य समाज रौतहट-सर्लाहीको संयुक्त आयोजना भएको कार्यक्रममा पर्सा, बारा, रौतहट र सर्लाहीका साहित्यकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बालदेव प्रसाद साह, विन्दा साहनी, बृजकिशोर यादव, शिवचन्द साह, विपिनबिहारी सिंह, मनमोहन सिंह मनोहर, सञ्जय सुदामा, रुबि गुप्ता, घनश्याम पन्त, कुमार चन्दन, गोपाल शर्मा पौडेल, विजय यादव, राजेश महतो, सिकिन्दर साह, विन्दुलाल राउत, कुन्दन यादव, शंकर यादव, धनदेव जोशी, किशुनदयाल श्रीकृष्ण, उपेन्द मिश्र, राजेन्द्र साहले रचना र मन्तव्य व्यक्त गरेका छन् ।

साहित्यकार लम्बोदर काफ्लेले स्वागत गरेको कार्यक्रमको अध्यक्षता रेणु गुप्ताले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन साहित्यकार सञ्जय साह मित्रले गरेका थिए ।

०००
– रौतहटबाट सञ्जय साह

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x