फित्काैली डटकमवार्षिकीका अवसरमा अनुवादक तिलक लुइटेल स्मृतिग्रन्थ लोकार्पण
स्मृतिग्रन्थ लोकार्पण कार्यक्रममा सुसेली फाउन्डेसनका अध्यक्ष दुर्गा अधिकारी भमरकोटेको सभापतित्व र नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय प्रेक्षितको प्रमुख आतिथ्यता रहेको थियो

काठमाडाैं, २०८१ पुस १ । राष्ट्रिय सुसेली फाउन्डेसन तिलकप्रसाद लुइटेल स्मृति कोषले ७५ जना विद्वान कवि लेखक तथा साहित्यकारहरूका लेख रचनाले सुसज्जित “तिलकप्रसाद लुइटेल” स्मृतिग्रन्थको सार्वजनिकीकरण गरेको छ ।
वेदज्ञाता अनुवादक तिलकप्रसाद लुइटेलको प्रथम वार्षिकीका अवसरमा उक्त कृति लोकार्पण भएको हो । १८० पेजको यस कृतिको संयोजन सुसेली फाउन्डेसनका अध्यक्ष दुर्गा अधिकारी भमरकोटेले गर्नुभएको छ भने प्राज्ञ नरनाथ लुइटेल र कवि साहित्यकार चन्द्रा न्यौपानेले सम्पादन गर्नुभएको छ ।
तिलक लुइटेल उपचार कोषबाट बचेको रकम रु २,५०,०००/- बाट गत वर्ष लुइटेल परिवारले सुसेली फाउन्डेसन अन्तरगत रहने गरि लुइटेल परिवारको संरक्षकत्वमा तिलक लुइटेल स्मृति कोषको स्थापना गरेको छ । यो कोष अन्य मनकारी हातहरूको सहयोगमा वृद्धि हुँदै गइरहेको छ । यो कोषबाट प्राप्त आम्दानीले तिलक लुइटेल सम्बन्धी खोज अनुसन्धान तथा अनुवाद क्षेत्र र अन्य साहित्यिक विधामा योगदान पुर्याउने स्रष्टा सर्जकलाई पुरस्कृत तथा सम्मानित गर्ने कार्यक्रम रहेको छ । यो वर्ष भने कोषको आम्दानीमा परिवारका तर्फबाट थप गरि यो स्मृतिग्रन्थ प्रकाशित गरिएकाे हो ।
तिलकप्रसाद लुइटेलको प्रथम वार्षिक तिथिमा भएको स्मृतिग्रन्थ लोकार्पण कार्यक्रममा सुसेली फाउन्डेसनका अध्यक्ष दुर्गा अधिकारी भमरकोटेको सभापतित्व र नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय प्रेक्षितको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन सुसेली फाउन्डेसनका महासचिव कवि साहित्यकार दामोदर ढकाल दिपकले गर्नुभएको थियो ।
स्व. तिलक लुइटेलका भाइ टीकाराम लुइटेल कौशिकको स्वागत मन्तव्य बाट सुरु गरिएको यस कार्यक्रममा वरिष्ठ साहित्यकारहरू डा. रामप्रसाद ज्ञवाली, डा. शैलेन्दुप्रकाश नेपाल, गंगा कर्माचार्य पौडेल, ईश्वरचन्द्र बानियाँ, नारायणाचार्य कौशिक, कलानिधि दाहालको विशिष्ट आतिथ्य रहेको थियो । उहाँहरूले अनुवादक तिलकप्रसाद लुइटेलको जीवनी र उहाँले गर्नुभएको चार वेदको नेपालीमा अनुवाद लगायत अन्य धेरै सुकर्मको वर्णन गर्नुभएको थियो भने विशिष्ट अतिथि डा. रमेश सुभेक्षुले स्मृति ग्रन्थकाे समीक्षात्मक टिप्पणी गर्नु भएकाे थियाे । सम्पादकद्व मध्ये चन्द्रा न्यौपानेले सम्पादकीय मन्तव्य राख्नुभएको थियो । पुस्तकका अर्का सम्पादक नरनाथ लुइटेल स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन असमर्थ हुनुभएकोमा शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो ।
प्रमुख अतिथि उपाध्यायको जीवन र जगत सम्बन्धी चर्चा, तिलक लुइटेल र वेद लगायत अन्य दर्जनौं ग्रन्थहरूको अनुवादको सुरुवातदेखिका प्रसंग र उहाँलाई बचाउने प्रयासमा भए गरेका कार्यहरूको समीक्षात्मक टिप्पणी र सहयोगी मनहरू र संघ संस्थालाई धन्यवाद र तिलक लुइटेलको अभाव जताततै खड्किने छ, राष्ट्रले नै एउटा होनहार अनुवादक गुमाएकोमा दुःख लागेको सन्दर्भ सहितको सारगर्भित मन्तव्य दिनु भएकाे थियाे ।
तिलक लुइटेलका सुपुत्र विभव लुइटेलले सहभागी र सहयोगी सबैमा धन्यवाद व्यक्त गर्नुभएको थियो । पुस्तकको लोकार्पण पश्चात् सम्पूर्ण उपस्थित कवि साहित्यकार लगायतका लुइटेल परिवारका दाजुभाइ इष्टमित्र तथा कार्यक्रममा उपस्थित सबैमा टीका प्रसाद र पुस्तक प्रदान गरिएको थियो ।
तिलक लुइटेल पत्नी गीता लुइटेलसहित करिब १५० जनाको उपस्थितिमा भएको यस भव्य तथा सभ्य कार्यक्रम समापन गर्नुअघि तिलक लुइटेलको उपचार गर्ने समयदेखि स्मृति ग्रन्थको लोकार्पण गर्ने आजका दिनसम्म सहयोग गर्नु हुने सम्पूर्ण महानुभाव प्रति हार्दिक कृतज्ञता सहित आज पनि तिलक लुइटेल स्मृति कोष वृद्धि गर्न सहयोग गर्नुहुने सबैमा धन्यवाद व्यक्त गर्दै सभापति भमरकोटेले सभाको समापन गर्नुभएको थियो ।
०००
– दुर्गा भमरकाेटेकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































