नरनाथ लुइँटेलहास्यव्यङ्ग्यकार श्याम गोतामे : जीवनी तथा व्यक्तित्व (१)
गाेतामे कृतिशेष भएकै दिन स्थापना भएकाे सिस्नुपानी नेपाललद्वारा ‘हास्यव्यङ्ग्यकार श्याम गोतामे’ (२०५८) जीवनी र व्यक्तित्वमा आधारित कृति प्रकाशित भएकाे थियाे । नरनाथ लुइँटेलकाे यस कृतिबाट गाेतामेकाे जीवनी र व्यक्तित्वबारे मूलअंश क्रमशः प्रस्तुत गर्नु सान्दर्भिक ठानिएकाे छ ।

वि.सं. १९९६ भदौ २७ गते काठमाडाैंमा जन्मिएका श्याम गाेतामे नेपाली हास्यव्यङ्ग्य निबन्धका अविस्मरणीय व्यक्तित्व हुन् । गाैतामेकाे पहिलाे प्रकाशित हास्यव्यङ्ग्य निबन्ध ‘मैले पनि पिउन सिकेँ’ हाे, याे २०२५ सालमा प्रकाशित भएकाे थियाे । उनकाे पहिलो कृति चाहिँ ‘मपाईं’ (२०२६) हास्यव्यङ्ग्यसङ्ग्रह हाे । यस अतिरिक्त गोतामेका ‘जदौ’ (२०२७), ‘कायन वाचा’ (२०३४), ‘श्याम गोतामेका प्रतिनिधि हास्यिव्यङ्ग्यसङ्ग्रह (२०४५), सेन्स कमन सेन्स, नन्सेन्स (२०७९) आदि हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहहरू प्रकाशित छन् । झण्डै २ सय जति विभिन्न पत्रपत्रिकामा छापिएर रहेका फुटकर निबन्धहरू रहेका भेटिन्छन् । २०४९ को भैरव पुरस्कारबाट पुरस्कृत स्रष्टा गाेतामेकाे निधन २०५५ साल वैशाख १९ गते भएकाे हाे । उनी कृतिशेष भएकै दिन स्थापना भएकाे हास्यव्यङ्ग्य संस्था सिस्नुपानी नेपाललद्वारा ‘हास्यव्यङ्ग्यकार श्याम गोतामे’ (२०५८) जीवनी र व्यक्तित्वमा आधारित कृति प्रकाशित भएकाे थियाे । नरनाथ लुइँटेलकाे यस कृतिबाट गाेतामेकाे जीवनी र व्यक्तित्वबारे मूलअंश क्रमशः प्रस्तुत गर्नु सान्दर्भिक ठानिएकाे छ । – सम्पादक
(एक)
गोतामेको पुर्ख्याैली स्थिति
हास्यव्यङ्ग्यकार श्याम गोतामेका पुर्खाहरू हालको धादिङ जिल्ला अन्तर्गत जीवनपुरमा बसोबास गर्दथे। जीवनपुरलाई बोलचालमा अहिले पनि ‘जिउनपुर’ भनिन्छ। गोतामेका बाजे कुञ्जविलास गौतम त्यस क्षेत्रमा प्रख्यात ज्योतिषी थिए। खेतीपाती र ज्योतिषी कर्मकाण्डले गृहस्थी चलाई बसेका कुञ्जविलासका जेठा कविप्रसाद गौतम, माहिला कोमलप्रसाद गौतम, साहिँला ज्वालाप्रसाद गौतम, कान्छा ज्योतिप्रसाद गौतम गरी जम्मा चार भाइ छोराहरू थिए। ती चार भाइमध्ये साहिँला छोरा ज्वालाप्रसाद र बुहारी राधादेवी गौतमका जेष्ठ सुपुत्रका रूपमा श्याम गोतामे जन्मिएका हुन् ।’ (श्याम गोतामेकी पत्नी पद्मा गौतमसँग ०५६/१०/१८ मा लिइएको अन्तर्वार्तामा आधारित।)
गोतामेका पुर्खाहरूमध्ये जिजुवासमेत जीवनपुरबाट ‘जिम्बू र जेठीमधुको व्यापार गर्न कान्तिपुर आएर केही समय बसोवास गरेका थिए। बाजे रानीपोखरीको डिलमा बसेर आशावादी लाहुरेको हात हेदहिर्दै अमर भए।’ (श्याम गोतामे : मपाई, कौवा प्रकाशन, २०३८, काठमाडौं, दो. सं.. पृ. ५५।) श्याम गोतामेकै यो कथनले उनका जिजुबाजे र बाजेहरू कान्तिपुरसँग निकट थिए भन्ने कुराको पुष्टि गर्दछ। ‘डाढो हाम्रो पैत्रिक सम्पत्ति हो। यो प्रवृत्ति त्यस जमानामा पनि प्रशस्त थियो जुन जमानामा हाम्रा पिता पुर्खाहरू जिउनपुरबाट अम्बा बोकेर ल्याई असनमा बेच्दथे। एउटै वगैँचाको रूखबाट टिपेर ल्याएको अम्बा चार भाइ जिवाहरूको परस्पर डाहिल्लो प्रवृत्तिले गर्दा एउटाले अर्काको अम्बालाई कुहिएको भनी ग्राहकलाई सुटुक्क भन्थ्यो।’ (श्याम गोतामे : कामेनवाचा, साझा प्रकाशन, २०३३, काठमाडौं, पृ. ७५ ।) यो कथन गोतामेले व्यङ्ग्योक्तिको प्रसङ्गमा भनेको भए पनि यथार्थ थियो भन्ने लाग्दछ।
पुर्ख्याैली आर्थिक स्थिति वलियो भएको भए यसरी गोतामेका बाजेहरू अम्बा बेच्न आफै काठमाडौं आइरहनु पर्दैनथ्यो। मौसम अनुसारका फलफूल आफ्नो बारी-बगैँचाबाट टिपेर काठमाडौं ल्याई दैनिक उपभोगका सामानहरू नून तेल र लत्ता कपडा लिएर जीवनपुर फर्कने गर्दथे। यसरी निरन्तरको काठमाडाैं आउजाउले विस्तारै काठमाडौंमै बसोबासको आधार निर्माण भएको कुरा अनुमान गर्न गाह्रो पर्दैन। त्यो आधार हालको न्यूरोडस्थित पाको-पोखलड्याङमा बन्यो। पोखलड्याङमा बाजेले सानोतिनो घर खडा गरे । त्यही घरमा ‘हरेराम पार्टी’ को नामले धार्मिक भजन कीर्तनको अखडा जम्ने गर्दथ्यो । (वासुदेव लुईंटेलसँग ०५६/१०/१६ मा लिइएको अन्तर्वार्तामा आधारित।) याे घर एक समय “हरेराम बाजेको घर” ले धार्मिक मानिसहरूबीच चर्चित थियो। नर्क कम्भिपाक भन्ने शहरलाईसमेत लाजमर्नु पार्न सक्ने गोडा तीन-एक गल्छेँडो पार गर्दै “हरेराम बाजेको घर भन्ने शुभनाम र “प्राणस्थान” भन्ने उपनाम भएको घरको मूल-ढोकाभित्र पसी अँध्यारो छिँडीमा उभ्भेर (टाउको ठाडो गरेर उभ्भियो भने) दलिनलाई म्वाई खाई टुटिल्को आर्जन गर्नुपर्नेछ । (श्याम गोतामे : मपाई पूर्ववत्, पृ. ५२।) हरेराम बाजेको यही घर नै श्याम गोतामेको पोखलड्याङको पुर्ख्याैली घर थियो।
जन्म, जन्मस्थान र बाल्यकाल
कुञ्जविलास गौतमका साहिँला छोरा ज्वालाप्रसाद गौतम र बुहारी राधादेवी गौतमका जेठा छोराका रूपमा श्याम गोतामेको जन्म काठमाडौंस्थित पाको पोखल्ड्याङमा वि.सं. १९९६ साल भदौ २६ गतेका दिन भएको थियो। यिनको न्वारनको नाम भने रेवती गौतम राखिएको बताइन्छ भने नागरिकता प्रमाणपत्रमा उल्लेखित नाम चाहिं श्यामप्रसाद गौतम रहेको देखिन्छ । उनका २ भाइ र ६ बहिनीहरूमा क्रमशः यज्ञेस गौतम, उद्धव गौतम, सरला प्याकुरेल, इन्दिरा भट्टराई, मीरा पौडेल, ललिता नेपाल, सरीता प्याकुरेल र दीपा सत्याल हुन् ।
श्याम गोतामे बाल्यकालदेखि नै एकसुरे, अलि कम बाेल्ने प्रकृतिका थिए। ठूलो परिवारभित्र रहेको र आफूभन्दा कम उमेरका भाइ र बहिनीहरूका बीच आफू जेठो भएका कारण पिता-माताको पर्याप्त लाडप्यार यिनले नपाएको देखिन्छ। घरको धार्मिक वातावरणमा उनको बाल्यकाल बिते पनि उनमा धार्मिक रुढीप्रति अरुचि कसरी पैदा भयो, यो खोजीको विषय हो। गोतामेको बाल्यकालको पछिल्लो चरण बसाइको हिसावले एकैठाउँ स्थिर रहेको देखिन्न।
पिता ज्वालाप्रसादको सरकारी जागिरले श्यामलाई पनि पिताजीसँगै कहिले पूर्व कहिले पश्चिम दौडाइरह्यो। कलिलै उमेरमा काठमाडौं बाहिरका विभिन्न स्थान र त्यहाँको जनजीवन, दुःख-सुख र जीवन-दशाबाट परिचित हुने अवसर पाएका थिए गोतामेले। श्याम स्वयंले भनेका छन्- “पिताजी जागिरको सिलसिलामा धेरै ठाउँमा हिँड्नु हुन्थ्यो, त्यसैले मैले स्थायी भएर पढ्ने मौका पाइनँ ।” (श्याम गोतामे- अमृत दाहालसँगको कुराकानीमा आधारित. समाचारपत्र (दैनिक), २०५५/१/१२ ।) यस्तै अस्थीर बसाइ र अव्यवस्थित यात्राका वीच लेस्वाइपढाइ पनि अस्तव्यस्त हुँदै उनको बाल्यकाल बितेको देखिन्छ।
गाेतामेकाे शिक्षादीक्षा
अस्थीरता र अव्यवस्थाकै बीच गोतामे २००९ सालमा गौरस्थित श्री ३ जुद्ध हाईस्कूलमा एकैचोटी ९ कक्षामा भर्ना भएको देखिन्छ। त्यो बेला उनका पिताजी न्यायसेवा अन्तर्गत गौरमा कार्यरत थिए। भर्ना भएको दुई वर्षपछि २०११ सालको प्रवेशिका परीक्षामा सामेल भई उक्त परीक्षामा तृतीय श्रेणीमा उत्तीर्ण भएका थिए। “पिताजी जागिरको सिलसिलामा धेरै ठाउँमा हिँड्नु हुन्थ्यो, त्यसैले मैले स्थायी भएर पढ्ने मौका पाइनँ, उहाँ गौरमा भएको बेलामा म त्यहाँको स्कूलमा ९ कक्षामा एकैचोटी भर्ना भएँ र २ वर्षपछि सजिलै एस.एल.सी. गरेँ।” एकैचोटी ९ कक्षामा भर्ना भएर २ वर्ष अध्ययन गरी एस.एल.सी. उत्तीर्ण गरेको तथ्यले उनी पढाइमा लगनशील एवम् मेहनती थिए भन्ने देखाउँछ।
एस.एल.सी. उत्तीर्ण गरेपछि गोतामे वीरगञ्जस्थित ठाकुरराम क्याम्पसको रात्रिकक्षामा भर्ना भइ मारवाडी परिषद्को आवासमा बसेर अध्ययनलाई अगाडि बढाउन थाले। त्यो बेलाको स्मरण गर्दै उनले भनेका छन्- “म वीरगञ्जमा नाइट क्याम्पस पढ्थेँ, पिताजी (जो गौरमै थिए) ले मलाई मासिक खर्च भनेर जम्मा ६८/-रूपियाँ दिनुहुन्थ्यो। त्यसमध्ये २८ रूपियाँ मारवाडी परिषदमा तिर्नुपर्थ्यो, रू. १५ ले ट्यूसन पढ्थेँ, बाँकी पकेट खर्च हुन्थ्यो। मैले अन्य खर्चका लागि थप एक सय रूपियाँको माग गरेँ तर मलाई दिन इन्कार गर्नुभयो। यसले गर्दा उहाँप्रति एकदम घृणा र विद्रोह जागेर आयो। (श्याम गाेतामे, पूर्ववत् ।)
यही घटनादेखि पिताजीसँग श्याम गोतामेको सम्बन्ध कहिल्यै राम्रो र सुमधूर बनेको पाइँदैन। यनकेन उनले २०१३ सालमा पटना विश्वविद्यालय वोर्ड अन्तर्गत प्रमाणपत्र तहको परीक्षामा सामेल भई, उत्तीर्ण गरेको देखिन्छ। त्यतिखेर प्रमाणपत्र तहको पढाई वीरगञ्जस्थित ठाकुरराम कलेजमा हुने गरेको भए पनि परीक्षा दिँदा चाहिँ पटना विश्वविद्यालयको वोर्ड अन्तरगत सामेल हुनुपर्दथ्यो। गोतामेको औपचारिक शिक्षा यहीं टुङ्गिए पनि ग्रामीण शिक्षासम्बन्धी एउटा ६ महिने तालिम उनले लिएका थिए। भारतको रामकृष्ण मिसन, सोसियल एजुकेशन अर्गानाइजेशन ट्रेनिङ सेन्टरबाट जुलाई १०, १९६१ देखि जनवरी ९, १९६२ सम्म सञ्चालित उक्त तालिमको अन्तिम परीक्षामा “बी” ग्रेडमा उत्तीर्ण गरेको कुरा उनले प्राप्त गरेको प्रमाणपत्रद्वारा ज्ञात हुन्छ।
क्रमश: अर्काे शनिवार
०००
हास्यव्यङ्ग्यकार श्याम गाेतामे (२०५८)
Subscribe
Login
0 Comments
Oldest









































