फित्काैली डटकमपाल्पामा जेष्ठ नागरिक स्कुल सञ्चालनकाे तयारी अन्तिम चरणमा
रामपुर नगरपालिका वडा ५ रामघाटमा सञ्चालन गरिने जेष्ठ नागरिक स्कुलको भवन निर्माण तथा व्यवस्थापन सकिएको छ भने जेष्ठ नागरिकहरुलाई स्कुल सम्म आवतजावत गर्नका लागि बस खरिद गरि बसको व्यवस्था गरिएको छ ।

पाल्पा, २०८२ कात्तिक १६ । पाल्पाको रामपुर नगरपालिकाले जेष्ठ नागरिक स्कुल सञ्चालन गर्ने भएको छ । जेष्ठ नागरिकहरुका लागि सञ्चालन गरिने रामपुर जेष्ठ नागरिक स्कुल व्यवस्थापनका विभिन्न कामहरु भइरहेको छ ।
यसै आर्थिक वर्षदेखि जेष्ठ नागरिक स्कुल सञ्चालन गर्ने र सञ्चालनको अन्तिम तयारी भइरहेको छ ।
रामपुर नगरपालिका वडा ५ रामघाटमा सञ्चालन गरिने जेष्ठ नागरिक स्कुलको भवन निर्माण तथा व्यवस्थापन सकिएको छ भने जेष्ठ नागरिकहरुलाई स्कुल सम्म आवतजावत गर्नका लागि बस खरिद गरि बसको व्यवस्था गरिएको छ भने व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि व्यवस्थापन समिति गठन गरेको छ ।
रामपुर जेष्ठ नागरिक स्कुल सञ्चालनका लागि बुद्धिप्रकाश रेग्मीको अध्यक्षतामा ११ सदस्यीय सञ्चालन समिति गठन गरेको छ । जसको उपाध्यक्षमा मिनराज रेग्मी, कोषाध्यक्षमा चन्द्रा न्यौपाने, सहसचिव सुरज गौतम, सदस्यमा दुर्गा प्रसाद पोखरेल, सुन्दरप्रसाद देवकोटा, कृष्णप्रसाद अर्याल , फत्तबहादुर मल्ल, चन्द्रबहादुर राना, देविका गहतराज र सदस्य सचिवमा प्रविन तिमिल्सेना रहनु भएको छ ।
नवगठित समितिलाई बधाइ दिंदै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले जेष्ठ नागरिकहरुको भावनालाई बुझेर जेष्ठ नागरिकमैत्री रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो । यसका लागि स्कुल भित्र गरिने व्यवहारमा ध्यान दिनु पर्ने बताउनुभयो ।
संस्कृतिको संरक्षणसँगै उमेर पुगेका नागरिकहरुको सम्मान सहितको सक्रिय जीवन निर्वाहका लागि स्कुल सञ्चालन गर्न लागिएको नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो ।
विषेश गरी दिउँसोको समयमा जेष्ठ नागरिकहरुलाई स्कुल सम्म ल्याईने र पुराना संस्कार र संस्कृति बारे नयाँ पुस्ताले अध्ययन गर्न पाउने व्यवस्था गरिने नगर प्रमुख थापाको भनाई छ । उहाँले भन्नुभयो, ”स्कुल सम्म आउनका लागि नगरपालिकाले बस खरिद गरिसकेको छ, जेष्ठ नागरिकलाई दिउँसोको समयमा स्कुलमा ल्याइन्छ, जेष्ठ नागरिक स्कुलमा उहाँहरुबाट हाम्रा लोप हुन लागेका संस्कार संस्कृति चालचलन बारे अध्ययन गर्न सकिन्छ ।”
साथै उहाँले नगरपालिका भित्रका सबै विद्यालयलाई क्रमश जेष्ठ नागरिक स्कुलमा अध्ययन अवलोकनको व्यवस्था गरिने जानकारी दिनुभयो ।
जेष्ठ नागरिक स्कुलले संस्कार संस्कृतिको संरक्षण र पुस्तान्तरणमा टेवा पुग्ने बताउनुभयो । जेष्ठ नागरिक स्कुलमा विभिन्न धार्मिक प्रवचन, भजन कीर्तन, विभिन्न घरेलु सामग्री र यसको प्रयोग, जेष्ठ नागरिकहरुका लागि दिवा खाजा, स्वास्थ्य परीक्षणसहित सन्ध्या आरतीको व्यवस्था गरिने रामपुर नगरपालिकाले जनाएको छ ।
०००
श्राेत : कालीगण्डकी खबर
Subscribe
Login
0 Comments
Oldest












































