
बाबुआमा (काव्यांश)- ४०
पस्नेछन् गेह उम्दा फल श्रम म गरूँ शिल्प पोखूँ गरामा ।। जम्मै हौँ पारदर्शी मनसुख सहजै मिल्छ भाका फिँजारी। बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।

दीनानाथ पोख्रेल :
उड्ने वार्ता नछाँटूँ युगलय नहुने कर्म बाँड्दैन प्राप्ति ।
सत्कर्मी व्यक्ति बन्दा युगलय हितको डुल्छ सौहार्द व्याप्ति ।।
बढ्ने हुन् नाति छोरा जनहित लयमा वृद्ध बन्दा छहारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।९६।।
लेख्ने पढ्ने र बुझ्ने कृत युगलयका मार्ग छानूँ म हाम्रा।
उत्साही भाव जाग्ने हितपथ म हिँडूँ बन्दछन् कर्म राम्रा ।।
जेजे छन् कष्ट छान्दै सब पर म गरूँ कर्मको शक्ति धारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।९७।।
छानेमा कर्म उम्दा कृत लय बटुली प्राप्तिको रास लाग्छ।
सत्कर्मी भाव खुल्दा भवभर सुखको मार्गमा चेत जाग्छ ।।
खोजी बाडौँ सुनौला कृत नव हितका दिव्य आँखा उघारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।९८।।
बुझ्नू यो देश आमा तनमन यसमै रम्दछन् बाँच्दछन् यी ।
सेवा सत्कर्म पोख्नू दिल प्रणय भरी कृत्य सौन्दर्य दायी।।
फल्छन् स्वादिष्ट खाना कृत पथ म हिँडे कर्मभाका सपारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।९९।।
साथै छन् प्राप्ति भाका परपर नहिँडूँ हुन्न के यो धरामा ।
पस्नेछन् गेह उम्दा फल श्रम म गरूँ शिल्प पोखूँ गरामा ।।
जम्मै हौँ पारदर्शी मनसुख सहजै मिल्छ भाका फिँजारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।१००।।
०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम
Subscribe
Login
0 Comments
Oldest