जगदीश्वर पाेखरेलहाम्रा आदर्शका छहारी
सुत्दैन रात आँखा आनन्द बन्छ भेट । भोकै बसेर दिन्छन् भन्छन् छ टन्न पेट ।। चाहिन्छ साथ दिन्छन् बिर्सेर कष्ट भारी । हुन् वृद्ध श्रेष्ठ हाम्रा आदर्शका छहारी ।।

जगदीश्वर पोखरेल :
उत्साह राह खन्ने सन्तान हिँड्नलाई ।
घोटेर हाड आफ्नो अर्पे सबै कमाई ।।
मौका चिनेर शिक्षा दिन्छन् बनी मुरारी ।
हुन् वृद्ध श्रेष्ठ हाम्रा आदर्शका छहारी ।।१
कैले अभाव भर्दा बन्छन् स्वयं मदारी ।
देखिन्न मार्ग भन्दै आँखा दिने उघारी ।।
चाहिन्छ खर्च पढ्ने हीरा दिने थुपारी ।
हुन् वृद्ध श्रेष्ठ हाम्रा आदर्शका छहारी ।।२
आए हुरी र आँधी छाप्रो उचाल्छ फाल्छ ।
सन्तान आत्तिदैनन् सौदामिनी उराल्छ ।।
आपत्ति जत्ति आए बन्छन् उनै कटारी ।
हुन् वृद्ध श्रेष्ठ हाम्रा आदर्शका छहारी ।।३
उल्लास सास भर्छन् सन्तान कष्ट झेल्दा ।
सम्मान मान गर्छन् आनन्द खेल खेल्दा ।।
माया गरेर भारी बोल्छन् सदा विचारी ।
हुन् वृद्ध श्रेष्ठ हाम्रा आदर्शका छहारी ।।४
सुत्दैन रात आँखा आनन्द बन्छ भेट ।
भोकै बसेर दिन्छन् भन्छन् छ टन्न पेट ।।
चाहिन्छ साथ दिन्छन् बिर्सेर कष्ट भारी ।
हुन् वृद्ध श्रेष्ठ हाम्रा आदर्शका छहारी ।।५
०००
लमजुङ
भक्तपुर बुढ्याैली साहित्य समाजकाे छन्द अभ्यासबाट सुटुक्क ।
Subscribe
Login
0 Comments
Oldest





































