साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धतुरेश्वर महादेव

यस्तो सुवर्ण अवसर नगुमाउन म सबै धतरेुश्वरका चेलाचेलीहरूलाई श्रावण महिनाको हरेक सोमबार टाउको टेकेर भए पनि धतुरेश्वर महादेवको दर्शन गरी जीवनमा कहिल्यै नपाइने फाइदा लुट्न अनुरोध गर्दछु ।

Nepal Telecom ad

आउनुस् हजुर आउनुस् हजुरनीहरू पनि धाउनुस् । श्रावणको सोमबार श्री धतुरेश्वर महादेवको पूजा गरेर विविध विशेषतायुक्त गङ्गाजल प्रसादका रूपमा ग्हण गनुस् र आफूले गरेका अनेकानेक पाप गल्तीबाट मुक्त भै ढुक्क हुनुस् । सोमबारको दिन परेकोले अझ धतुरेश्वरको जन्म दिन भएकोले यो दिन धतुरेश्वरको पूजा गरी सोमरस जल ग्रहण गरेका खण्डमा दण्ड जरिवानामा परिदैन ।

पितवस्त्र धारण गरे पनि नगरे पनि पाटेबाघको छाला ओढेर सर्पको माला गलामा भिरे पनि नभिरे पनि आखिरीमा तपाई चतुरेश्वरबाट धतुरेश्वरमा माथि उक्लन सिढी चढनु पर्दैन । लिफ्टको प्रयोग गरेर झोली तुम्बा भर्न सक्नु हुन्छ । यो पालीको सोमबारको मौका गुमाउनु भयो भने आगामी दिनहरूमा चौका दाउ बाउलाई साक्षी राखे पनि हान्न सक्नु हुन्न । त्यसैले छिटोभन्दा छिटो, छिटो मिठो तरिकाले धतुरेश्वर महादेवको शिरमा धतुरो चढाएर भिरमा गिर खेल्न कुनै आइतबार पखृनु पर्दैन । आउने सोमबारका दिन सोमरस पिएर बाग्मतीको विशुद्ध दुर्गन्धित गङ्गाजल लिएर धतुरेश्वरको धतुरोमा पर्ने गरी चढाउन नभुल्नु होला ।

धर्म कर्ममा जप ध्यान गरे पनि नगरे पनि आखिरीमा धतुरेश्वरको टाउकोमा गिर खेल्न भिरभिर चाहारी हिड्ने हामी घुसेश्वर महादेवका पूर्वज भएकोले पश्चिमजको जमानामा रमाना हुन जानेका छौँ । धतुरेश्वर महादेवको धतुरो झार्ने गरी आउँदो सोमबारका दिन सोमरसको प्रसादका साथ धतुरोत्सव मनाउन चाहने सबैले आआफ्नो गाउँ सहर बजारतिरको शिव मन्दिरमा नाम दर्ता गर्न अघिपछि पर्नु होला । धतुरेश्वरको उत्तराधिकारी बन्नु भएको छ भने आफूलाई आवश्यक पर्ने विविध औषधी उपचारका सुई, ट्याब्लेट लगायतका सामान समेत गाथमा आराम हुने गरी साथमा ल्याउन नबिर्सनु होला । तपाईको सुरक्षाको व्यवस्था धतुरेश्वर स्थलमा धर्के वा फुली लाएका तपाईँको आमाको नाता नपर्ने मामाले लिनेछन् । यदि आमाको नाता पर्ने मामाले सुरक्षाको जिम्मा लिए भने तपार्इँलाई घरतिर पठाएर समस्यामा पार्नेछन् । त्यसैले आमाको नाता नपर्ने मामासँग मितेरी साइनो वा गोरु बेचे साइनो लाएर तपाई सुरक्षित रूपले नेल सहित जेलमा मिठो मिठो खाएर मच्छरसँग मित लाएर राम साइलाको गीत गाउँदै राम रौनसमा धतुरेश्वरको चेला भएर आनन्दले बस्न पाउनु हुनेछ ।

यदि तपाईँ कुनै धतुरे नेताको पछि लागेर नभएको बुद्धि बिगार्न सक्नु हुन्छ भने अझ राम्रो । सक्नु हुन्न भने गाउँका चतुरेसँग चतुरानन्द बनेर धतुरे नेताको अघि लाग्नुस् र बाटो देखाउने काम गर्नुस् । यति गरेपछि तपाईको पछि लागेको धतुरेको बुद्धि फर्कन्छ र तपाईको कुकर्म ढाक छोप कम्पनिले बैधानिकता पाउँछ । यसो गर्दा पेशोको मेसोमा ठेसो लाग्दैन । गोरुबेचे साइनोका मामाले पनि आमाले झैँ माया गर्छन । सधैँ धतुरेश्वरको छत्र छायाँमा दायाँ बायाँ गर्न पाइनेछ । अरले खान नपाइने अत्यन्त मिठो हण्डर र गोता खाने मौका पाइने छ । यस्तो राम्रो मौकामा आउँदो सोमबार जसरी पनि धतुरेश्वर महादेवको शिरमा भएको जटामा ठट्टा गर्दै गिर खेल्दै आफूलाई देशकै नम्बर एक धतुरे खेलको चतुरे प्रमाणित गर्न प्रेरणा मिल्ने छ भन्ने मैले निराशा व्यक्त गरेको छु ।

तपाईका साथीहरू भित्ति, ट्यापे, मुन्द्रे, चुल्ठे, झ्याप्ले छन भने अझ राम्रो । किनकि तपाईको सफलतामा उनीहरूको पनि देन हुन सक्छ । धतुरेश्वर महादेवको पूजाआजामा उनीहरूलाई पनि सहभागी गराउनु भयो भने तपाईले एक्लै मामाको घरमा बस्नु पर्दैन । जति सक्दो धेरै साथीहरूलाई तपाईले हात लिनु होला र नेतृत्व आफैँ गर्नु होला । यसो गर्दा भोलिका दिनमा तपाईलाई तपाईको दलले छल गरेर धतुरेश्वर सम्मानका साथ रातबिरात गलामा भाण्टा खोर्सानीको माला र हातमा बाला लाएर स्वागत गर्ने छ । यो कुरा तपाईको राजनीतिक जीवनमा परिवर्तनको संकेत हुनेछ ।

धतुरेश्वरको शक्तिको कुरा गर्ने हो भने अचम्मको छ । यसको पुजा अर्चना गर्न थालेपछि एकदिन न एकदिन अवश्य पनि आफैँ धतुरेश्वर भएर मामा घरमा सम्मानका साथ दिन हुँ भोज भतेरमा सहभागि हुन सकिन्छ । धतुरेश्वर भनेर नाम कहलिन्छ । देशमा सबैले चिन्छन् । बेइज्जत र अपमान दिन्छन । यस्तो सुवणर् अवसर अरुले नपाउने भएकोले तपाई धतुरानन्दका सन्तान नभए पनि शुभ चिन्तक भएकोले धतुरेश्वर महादेवको दर्शनका लागि मठ मन्दिर गोप्य ठाउँ सडक, गल्ली, पाटी, पौवा लगायतका ठाउँमा पदार्पण गरिरहने भएकोले सबैले साथ सहयोग दिनेछन् ।

अर्को तर्फ तपाईलाई धेरै धन कमाउन मन लागेको छ भने पनि धतुरेश्वर महादेवसँग आशिर्वाद लिएर, धतुरे रस पिएर पनि यो धतुरे व्यापारमा हात हाल्न सक्नु हुन्छ । सुई क्याप्सुल ट्याब्लेट लगायतका धतुरेबुटीहरू एकेचोटी नभए पनि विस्तारै विस्तारै गोप्य तवरले हवर हवर नगर नगरमा पुर्‍याउनु पर्छ र यसको सञ्जाल माकुरोको जालो झैँ फैलाउनु पर्छ । धतुरेश्वर मन्दिरमा दर्शन गर्न आउनेलाई प्रचार प्रसारको जिम्मा दिनु पर्छ । तपाईको व्यापारले केही क्षणमै मामालाई आकर्षित गर्छ र बिना दुःख कष्ट मामा घरमा मोज र भोजको मस्तीले जीवन यापन गर्न सक्नु हुनेछ ।

गाउँ घरतिर पाइने शिव मन्दिरमा होस् वा अन्य कुनै पनि मन्दिरको कुनामा बसेर तपाईले धतुरेश्वरको आराधना गर्न सक्नु हुनेछ । साथमा गँजडेश्वर, उटाङेश्वर लगायतका कंकडानन्दहरूलाई साथमा राखे अझ भाडँभैलोको सम्भावना रहेकोले जति सक्दो छिटो मिठो तरिकाले धतुरेश्वर महादेवको दर्शनका लागि घरबाट भागेर जानु होला । घर सल्लाहतिर लाग्नु भयो भने हल्ला खल्लाले तपाईको योजनाले विस्तृत प्रतिवेदन तयार पार्न सक्दैन । तपाईको हातमा परेको बहुवर्षिय योजना समेत क्षण भरमै स्वाहा हुन सक्छ ।

अर्को महत्वपूर्ण कुरा केहो भने यदि तपाईले धतुरेश्वर महादेवको दर्शन गर्नु भयो भने तपाईलाई असली भक्तका रूपमा धुप धुँवार गर्नेको कुनै कमी हुने छैन । लाखौ मानिसका बिचमा आफ्नो कौशल कला, गला, चाला, माला सबै प्रदर्शन गर्न पाउनु हुनेछ । जसका कारण तपाई भोलिका दिनमा पुरस्कृत हुन पाउनु हुनेछ । यतिसम्म कि तपाईलाई राज्यले सुरक्षा घेराभित्र राखेर निःशुल्क खाने, बस्ने र आवासको व्यवस्था गर्ने छ । यस्तो सुवर्ण अवसर नगुमाउन म सबै धतरेुश्वरका चेलाचेलीहरूलाई श्रावण महिनाको हरेक सोमबार टाउको टेकेर भए पनि धतुरेश्वर महादेवको दर्शन गरी जीवनमा कहिल्यै नपाइने फाइदा लुट्न अनुरोध गर्दछु ।

इतिश्री धतुरेश्वर महादेव पुराणे सोमवासरे तिर्थयात्रा वणर्न पित बस्त्रादी खोल ढोल नामधारणम । खल्ती चिलिम गाँजा धतुरोले भरणम । धतुरेश्वर प्रभु त्वंम शरणम् ।

उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x