साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फित्कौलीको भैरवोत्सव : हास्यव्यङ्ग्यका शिखर भैरवप्रति शब्दश्रद्धा !!

समकालीन र आफूअघिको पुस्तालाई समेत धेरै पर छोडेर लगभग उनी एक्लै सगरमाथा चढे । हास्यव्यङ्ग्यको एउटा सगरमाथा उनी आफैं बने । विसङ्गत स्थितिमाथि पौंठेजोरी खेल्दाखेल्दै, २०३३ साल असोजमै विसङ्गत मृत्युवरण गरे ।

Nepal Telecom ad

नेपाली हास्यव्यङ्ग्यलाई उत्कर्ष प्रदान गर्ने केन्द्रीय व्यक्तित्व भैरव अर्याल नै हुन् । हास्यव्यङ्ग्यका शाश्वत शिल्पी अर्यालको सीप र सशक्त क्षमताले नेपाली हास्यव्यङ्ग्यलाई सर्वाधिक उचाइमा पुर्‍याएको छ । उनको लेखन प्रारम्भ अलिक अगाडि भए पनि २०२० को दशकमै हाँसोको उखरमाउलो उमार्ने र व्यङ्ग्यले बङ्गारा झार्ने रचनाहरू प्रकाशित भएका छन् । समकालीन र आफूअघिको पुस्तालाई समेत धेरै पर छोडेर लगभग उनी एक्लै सगरमाथा चढे । हास्यव्यङ्ग्यको एउटा सगरमाथा उनी आफैं बने । विसङ्गत स्थितिमाथि पौंठेजोरी खेल्दाखेल्दै, २०३३ सालमा असोजमै विसङ्गत मृत्युवरण गरे । भैरवको देहान्तपछि पनि भैरवका कृतिहरू भैरव पुरस्कार गुठीबाट प्रकाशनमा आएका छन् । रत्न पुस्तक भण्डारबाट ‘जयभुँडी’को संस्करण निरन्तर प्रकाशित भइरहेकै छ ।

सङ्ख्याको हिसावले आठवटा हास्यव्यङ्ग्य कृति केही होइनन् तर गुणको हिसावले भैरवका तिनै आठवटा कृति हास्यव्यङ्ग्यको नेपाली ढुकुटीलाई निम्ठो पार्न पर्याप्त छन् । उनले कायम गरेको हास्यव्यङ्ग्यको उचाइलाई उछिन्ने गरी अर्को शीर्ष व्यक्तित्व नेपाली हास्यव्यङ्ग्यले अझै पाए जस्तो लाग्दैन । यद्यपि केशवराज पिँडाली, श्याम गोतामे, रामकुमार पाँडे, वासुदेव शर्माहरूको लगानी यस क्षेत्रमा कम आँक्न सकिने खालको चाहिँ छैन । अहिलेका प्रखर एवम् चर्चित कतिपय हास्यव्यङ्ग्यकारहरूले लेखन प्रारम्भ गरेको समयअवधि पनि यही बिसको दशक नै हो ।

‘काउकुती’ (२०१९) प्रकाशन क्रममा जगदम्बा प्रकाशनको झेलीखेलपछि मदन पुरस्कार गुठीका कारिन्दा हास्यदेव वासुदेव लुइटेलसँग शुरु भएको भैरव-वासुदेव सम्बन्धले कौवा प्रकाशन स्थापनाको दैलो खोलिदियोे । भैरव र वासुदेवको सक्रियतामै कौवा प्रकाशनले यही दशकमा जेजति हास्यव्यङ्ग्य कृतिहरू प्रकाशन गर्‍यो, तिनै कृति नेपाली हास्यव्यङ्ग्यका मानक बनेर उभिएका छन् । रामकुमार पाँडेसमेत जोडिएपछि ‘कलियुग’ पत्रिकाको प्रकाशन, कार्टुनचित्र प्रकाशन, गाईजात्राको अवसरमा पत्रपत्रिकामा गाईजात्रे विशेषाङ्कको प्रकाशन, प्रज्ञाप्रतिष्ठानमा हास्यव्यङ्ग्य महोत्सवको आयोजना जस्ता हास्यव्यङ्ग्यीय कार्यहरूले समेत बिसको दशक अर्थात भैरव अर्यालकालीन अवधिलाई नेपाली हास्यव्यङ्ग्यको स्वर्णकाल हो भन्दा कुनै अत्युक्ति हुँदैन ।

भैरवको दुखान्त र अत्यन्त असामयिक अन्त्य हामी सबैका लागि मन भारी हुने यथार्थ हो । तथापि उनी बितेको यति लामो कालखण्डपछि पनि नेपाली हास्यव्यङ्ग्य र यसका पाठकहरू भैरवका रचना र कृतिहरू खोजिरहेका छन्, पढिरहेका छन् । उनीप्रति श्रद्धाभाव पोखिरहेका छन् । प्रविधिमा आएको व्यापक फेरबदलका कारण अब उनका रचना र कृति पढ्ने आजका पाठक भने मोबाइल र ट्याबप्रेमी हुँदै गएका छन् । भैरवका रचना र कृतिहरू छापेर पुस्तकालय वा पसलमा पुर्‍याएर मात्र अब हुनेवाला छैन । वेभ र क्लाउडतिर सिउरिन सक्यौँ भने मात्र अबको पुस्ताका पाठकहरू ती रचना र कृतिहरू पठनको पहुँचमा पुग्ने छन् ।

फित्कौली नेपाली हास्यव्यङ्ग्यका अग्रज पुस्ताप्रति आदर र सम्मान गर्दछ, समकालिन पुस्तालाई कदर गर्दछ र नयाँ पुस्तालाई अभिप्रेरित गर्न चाहन्छ । यसो गरेमात्र हाम्रो हास्यव्यङ्ग्य लेखन समृद्ध हुँदै जानेछ । भैरव, वासुदेव, केशवराज, श्याम गोतामे, श्रीधर, विष्णु नवीन हाम्रा समादरणीय अग्रज पुस्ता हुन् । यही पुस्ताका रामकुमार पाँडे अझै सक्रिय हुनुहुन्छ । यो अग्रज पुस्ता र हास्यव्यङ्ग्य लेखनमा उदाइरहेको नवीन पुस्ता बीच फित्कौली डटकम एउटा प्रभावकारी पुल बन्न चाहन्छ ।

गत भदौ २३ गते अग्रज पुस्ताका हास्यदेव वासुदेव लुइँटेलको जन्म दिन पारेर वासुदेव स्मृति विशेष भन्दै दर्जन बढी सामग्री फित्कौली डटकमले प्रस्तुत गरेको थियो । लगत्तै असोज ५ गते अर्का अग्रज भैरवलाई सम्झना गर्ने जानकारी हामीले संप्रेषण गरेका थियौँ । यति धेरै सामग्री हामीलाई प्राप्त भए कि ती सबै सामग्री एकै दिन पोष्ट गनै सम्भव नै भएन । असोज ४ गतेदेखि नै हामीले प्रस्तुत गर्न थालेका हौँ, आज ६ गते पनि भैरवमै समर्पित सामग्रीहरू प्रस्तुत गरिएका छन् । यसरी भैरवप्रति अथाह श्रद्धा पोख्दै धेरैले संस्मरण, समीक्षा, जीवन प्रसङ्ग र कविताञ्जली समेत (कति त पहिले कतै छापिएका र धेरैजसो नयाँ रचना गरिएका) भैरव केन्द्रित सामग्री उपलब्ध गराउने भैरवप्रेमी स्रष्टाहरूप्रति फित्कौली डटकम हार्दिक आभार व्यक्त गर्दछ ।

यी तिन दिन बीचमा फित्कौली डटकमले साभार गर्न आवश्यक ठानेका ३ वटा समेत प्रविष्ट भएका २२ वटा सामग्रीहरूबाट हास्यव्यङ्ग्य शिल्पी भैरवको जीवनप्रसङ्ग, उनको व्यक्तित्व, नेपाली हास्यव्यङ्ग्यमा भैरवको विशिष्ट योगदान र दुखान्त अवसानसम्मका बारेमा यथेष्ट जानकारी दिएको छ । अनलाइन पत्रिकामा एकै व्यक्तिमाथि केन्द्रित यति धेरै सामग्रीको प्रविष्टी हुनु सर्वथा नयाँ परिघटना पो हो कि भन्ने पनि हामीलाई लागिरहेको छ । फित्कौलीको यो भैरवोत्सव नै हो । जय भैरव ! जय हास्यव्यङ्ग्य !

०००
फित्कौली अड्डा, कलङ्की
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x