सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नेपाली हास्यव्यङ्ग्यका अमर शिल्पी

अन्त्यमा २०३३ सालमा अफिसलाई, परिवारलाई, समाजलाई मृत्यु पत्र लेखेर आफूलाई विसर्जन गरे बागमतीमा भैरवले । आफूले आफैलाई सिध्याए पनि भैरव आफ्ना लोकप्रिय कृतिहरूमा बाँचिरहेका छन् ।

Nepal Telecom ad

खेमकुमारी र होमनाथका छोरा भएर वि.सं. १९९३ असोज ५ गते ललितपुरको कुपण्डोलमा जन्मिएका हुन् भैरव अर्याल । नेपाली साहित्यका कहलिएका साहित्यकार अर्यालको प्रसिद्धि चाहिँं हास्यव्यङ्ग्य शैलीमा नै बढी छ । नेपाली हास्यव्यङ्ग्यका बेजोड प्रतिभा हुन् उनी । हास्यव्यङ्ग्यका शिखर स्रष्टाको मान्यता पाएका छन् भैरवले । नेपाली हास्यव्यङ्ग्य र भैरव अर्याल एकअर्कासँग अभिन्न भएर गाँसिएका छन् । उनका ‘काउकुती’, ‘जय भुँडी’, ‘गलबन्दी’, ‘इतिश्री’, ‘दस औतार’, ‘टेढो ऐना’, ‘कारिन्दाको दिनचर्या’ र ‘राजीनामा’ हास्यव्यङ्ग्यका लोकप्रिय कृति हुन् ।

सर्वप्रथम २००९ सालमा ‘नयाँ जीवन’ शीर्षक कविता रचेर लेखन यात्रा शुरू गरका हुन् भैरव अर्यालले । तीन दशकको सृजना यात्रामा कविता, निबन्ध, समालोचनाका गरी एक दर्जन भन्दा बढी पुस्तक छापिएका छन् । उनका पत्रपत्रिकामा छरिएका थुप्रै रचना पुस्तकाकारमा आउन बाँकी नै छन् ।

नेपाली पत्रकारिता पनि भैरवको योगदानबाट लाभान्वित भएको छ । उनले ‘हालखबर’ दैनिकबाट पत्रकारिता शुरू गरे । पछि ‘गोरखापत्र’ को सम्पादन समूहमा रहे । ‘मधुपर्क’ लाई स्तरीय बनाउन निकै खटे । ‘रचना’ पत्रिका प्रकाशनमा पनि उनको भूमिका महत्त्वपूणर् रह्यो । साहित्य र पत्रकारिताका विविध क्षेत्रमा उनको प्रतिभा छरिए पनि हास्यव्यङ्ग्यमा चाहिँ उनलाई सिद्धि नै प्राप्त भएको मानिन्छ । हास्य र व्यङ्ग्यको शिष्ट संयोजन, राष्ट्रिय अन्तर्राष्ट्रिय विसंगति र विरोधाभासप्रति कठोर प्रहार गर्न खप्पिस मानिन्छन् भैरव अर्याल । आफ्नै मौलिक उखान टुक्कालाई सही प्रयोग गर्दै कहिल्यै असङ्गत नठहरिने विषयको सफल छनोट जस्ता विशेषताले गर्दा नै भैरवका हास्यव्यङ्ग्य अतुलनीय ठहरिएका हुन् । नेपाली साहित्यका पारखी पाठकहरूबाट यिनै कारणले ‘हास्यव्यङ्ग्यका शाश्वत शिल्पी’ भन्ने मान्यता कमाएका छन् भैरव अर्यालले ।

नेपाली साहित्यमा भैरवका योगदानको कदर गर्दै सामाजिक क्षेत्रबाट पनि उनको स्मृतिलाई जीवन्त पार्न सार्थक काम भएका छन् । उनको कर्मथलो काठमाडौंको जोरपाटीमा भैरव पुरस्कार गुठी, भैरव स्मृति भवन, सालिक सहितको भैरव स्मृति पार्क, भैरव पुस्तकालय स्थापित गरिएका छन् । हेटौंडामा पनि उनको सालिक स्थापना भएको छ । काठमाडौं र मकवानपुरबाट प्रत्येक वर्ष भैरव अर्यालका नाममा हास्यव्यङ्ग्यका प्रतिभाहरूलाई तीनवटा पुरस्कार प्रदान गरिन्छ । भैरव अर्यालको सम्झनामा नेपाल सरकारले हुलाक टिकट प्रकाशनमा ल्याएको छ । आधुनिक नेपाली साहित्यका यस्ता चहकिला तारा भैरव अर्यालको निधन चाहिं दुःखद रूपमा भयो । २०३३ असोज १९ गते । राती काठमाडौं गोकणर्को पुलबाट हाम फालेर आत्महत्या गरी बागमतीमा जीवन बिसाए भैरव अर्यालले ।

भैरव अर्यालसँग मेरो २०१६ सालदेखि संगत भयो । उनी बाँचुन्जेल निके घनिष्ट साथीका रूपमा सम्बन्ध गाँनियो । ज्यादै नजीकबाट उनका बानी बेहोर उनको सृजनात्मकता र उनको प्रगति हेर्ने अवसर पाएँ । २०१८ सालमा भैरवकै प्रेरणाले रमेश विकल समेतको सहयोगमा मैले ‘रचना’ पत्रिका प्रकाशित गरेको हुँ । भैरव अर्यालका नाममा पहिलो हास्यव्यङ्ग्य ‘टी पार्टी’ ‘रचना’ को पहिलो अङ्कमा छापिएको हो । त्यसो त २०१७ सालमा ‘रूपरेखा’ पत्रिकामा ‘नयाँ भाका र नयाँ कवित्त’ शीर्षक उनको निबन्ध छापियो । तर त्यहाँ लेखकको नाम-‘इभरब पर्साद अर्जेल’ छपिएको थियो । भैरवको पहिलो हास्यव्यङ्ग्य संग्रह ‘काउकुती’ पहिले जगदम्बा प्रकाशनले छाप्ने निधो गरेको थियो । पछि प्रकाशकलाई स्तरहीन लागेछ र लेखकलाई पत्तै नदिई प्रकाशकमा वासुदेव शर्माको नाम राखेर छापियो । यस व्यवहारबाट भैरव निकै खिन्न भएका थिए । तर स्तरहीन भनिएको त्यही पुस्तकले लोकप्रियताको शिखर चुम्यो । हास्यव्यङ्ग्यप्रति पाठकको रुचिलाई कदर गर्दै वासुदेव लुइँटेलले हास्यव्यङ्ग्यका मात्र पुस्तक छाप्ने संस्था कौवा प्रकाशन नै खोले । भैरव वासुदेव सहितका हास्यव्यङ्ग्य लेखकहरूको जमातले कौवा प्रकाशन मार्फत् तहल्का नै मच्चायो त्यसवेला ।

भैरव आफ्नो प्रसिद्धिबाट जति प्रसन्न थिए; शारीरिक दुर्वलताबाट त्यो भन्दा बढी पीडित हुन्थे । विभिन्न मञ्चमा कविता पढ्न, गोष्ठीहरूमा सहभागी हुन, प्रवचन दिन, अन्तर्वार्ता दिन उनलाई निम्त्याइन्थ्यो तर निम्तो मान्ने स्थितिमा हुँदैनथे उनी । उनको घाँटीको स्वरनली सुकेर बोली बिग्रेको, मसिनु र अस्वाभाविक थियो । त्यसैले सभा समारोहहरूमा प्रस्तुत हुन असजिलो हुन्थ्यो । सृजनात्मक उच्चताका धनी भएर पनि घाँटीको समस्याले ग्रस्त हुँदा हीन भावनामा पिल्सिने गर्थे उनी । १६ वर्षको उमेरदेखि उनलाई यो रोग लागेको रहेछ । घाँटी दुखेर असह्य हुँदा वेला वेलामा उनको हात घाँटीको नशामा पुगेको देखिन्थ्यो । त्यसमाथि चुरोटको अम्मल थपिंदा पीडा पराकाष्ठामा पुग्थ्यो ।

भैरवले शुरूमा संस्कृत पढेका हुन् । गोकणर्का जागिरदार महीनाथ आचार्यको नक्साल डेरामा उनको भान्से भएर पढे । संस्कृतको सम्पूणर् मध्यमा परीक्षाको फर्म भर्न भा.रु. दश लाग्थ्यो । भैरवलाई त्यति जुटाउन हम्मे पर्‍यो । अनि उनले एउटा जुक्ति झिके । त्यो बेलाका युवराज महेन्द्रलाई उनले फर्म भर्न रकम माग्दै कवितामा विन्तीपत्र लेखेर नारायणहिटीमा पठाएका थिए । एकदिन एउटा घोडचढी सिपाही नक्साल चारतुहेमा आएर भैरवप्रसाद अर्जेल भन्ने को हो ? कहाँ बस्छ ? भन्दै खोज्न लागेछ । छिमेकीहरूले डेरा बताएपछि सिपाही घोडा कड्काउँदै भैरवकहाँ पुगेर भनेछ- ‘म नारानहिटीबाट आएको ।’ अब सातोपुत्लो उडेछ भैरवको । युवराजलाई त्यस्तो पत्र लेखेकोमा पक्रन आएछ, अव थुनामा, दण्ड सजायमा परिने भइयो भनेर थुर्थुर भएछन् उनी । घोडाबाट ओर्लेर सिपाहीले एउटा खाम दिएर बुझेको सही गराए भर्पाइको कागजमा । हात कमाउँदै खाम खोलेछन् भैरवले । त्यहाँ त फर्म भर्ने रकम संहित पढाइमा सफलता निम्ति शुभकामना समेत लेखेर पठाएका रहेछन् युवराज महेन्द्रले । अपार खुशी र उमङ्ग छायो अव भैरवमा । उनले फर्म भरे, जाँच दिए र परीक्षा उत्तीणर् गरे । त्यो वेला नक्सालमा संस्कृतका नै विख्यात विद्वान् शेषराज रेग्मीकहाँ पढ्न जान्थे उनी । उनका सहपाठी अर्का लेखक बल्लभमणि दाहाल थिए । उनी भैरवको यो प्रसङ्ग रमाइलोसँग सुनाउँथे पछिसम्म ।

भैरव २०११ सालमा शिक्षक भएर पोखराको कन्धनी डाँडा स्कूलमा पढाउन गए । पूर्व सभामुख तारानाथ रानाभाट र सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई पनि त्यसवेला भैरवका विद्यार्थी थिए । एकदिन स्कूल विदाको दिन विद्यार्थीहरू लिएर वनभोजमा गएछन् भैरव । तालमा पौडी खेल्न जाँदा एकजना विद्यार्थी डुबेर मरेछन् । यस घटनाबाट उद्विग्न भएर भैरव स्कूलको जागिर छोडेर काठमाडौं आए । यता आएर पनि साँखुको पासीखेल स्कूलमा शिक्षक नै भए । त्यसवेला चाहिँ उनले क्रान्तिकारी छवि देखाए । प्रधानमन्त्री टङ्कप्रसाद आचार्य साँखुबाट काठमाडौं फकँदै गर्दा आफ्ना विद्यार्थीको जुलूस निकालेर बाटो छेक्न आफू समेत उभिए । स्कूलको भवन नभएको, बेञ्च नभएको सकस बेहोरेर पढ्नुपरेको यस्तो अवस्था सुधार नगर्ने सरकार मूर्दावाद ! भन्दै नारा घन्काउन लगाए भैरवले । प्रधानमन्त्रीले माग पूरा गर्ने कबोल गरेपछि मात्र बाटो छोडे । विद्यार्थीले । त्यस घटनापछि जोरपाटीतिर भैरवलाई कम्युनिष्ट भैरव भन्न थालेछन् । उनले पार्टीको सदस्यता चाहिं कहिल्यै लिएनन् ।

‘हालखवर’ दैनिकका सम्पादक दाताराम शर्माले प्रोत्साहित गरेपछि २०१४ सालमा त्यहीं पत्रकार नियुक्त भए भैरव । खोलापारिको पुरेत बाजे, बकम्फुस शर्मा जस्ता नाममा भैरवका समसामयिक व्यङ्ग्य कविता ‘हालखबर’ मा छापिन थाले । हास्यव्यङ्ग्यमा उनको कलम तिखारिंदै गयो । ‘रूपरेखा’, ‘रचना’, ‘सिंहनाद’ आदि पत्रिकामा छापिएका व्यङ्ग्य निबन्धले उनको प्रसिद्धि बढ्दै गयो । कविता सजिलोसँग लेख्थे तर हास्यव्यङ्ग्य लेख्न निकै सकस पथ्र्यो भैरवलाई । घरमा डेरामा, अफिशमा अनेक वाधा परेर मेरै घरमा कोठाभित्र थुनेर पनि लेखाएको छु ‘रचना’ का निम्ति निबन्ध । त्यस्तो वेला अफिसमा विदा लिन लगाएर चुरोट बिस्कुट पानीको बन्दोवस्त गरेर कोठाको ढोकामा ताल्चा मारिदिन्थें । पिशाव फेर्न कोपरा हुन्थ्यो । साँझतिर ताल्चा खोलिदिन्थें उनकै सहमतिबाट यी कुरा गरिन्थे । दुई तीन दिन त्यस्तो क्रम चलेपछि कहिले एउटा, कहिले तीनवटा निबन्ध तयार गर्थे भैरव । त्यसरी लेखिएका निबन्ध बेजोडका बन्थे । ‘रचना’मा जति छापिए ती निबन्ध भैरवबाट त्यसरी नै लेखाइएका हुन् ।

भैरव अरूका नाममा किताब लेखिदिनुपर्ने शोषणमा पनि परेका छन् । कति पटक कसैको ‘जापान भ्रमण’ कसैको ‘पत्रकारिता’ कसैको ‘नेपाली महिला’ जस्ता सिङ्गै किताब नै लेखिदिएका छन् उनले बाध्यतामा परेर । ‘गोरखापत्र’मा हुँदा आफ्नै कविता सारेर छाप्न पठाएर कवि बन्न खोज्ने कतिलाई आफैँले कविता लेखिदिएर, छापिदिएर प्रोत्साहित पनि गरेका छन् । कति नयाँ कवि लेखकका रचना परिमार्जित अथवा पुनर्लेखन नै गरिदिएर, छापिदिएर पनि प्रतिभालाई सघाउने बानी थियो भैरवको । ‘गोरखापत्र’मा हुँदा भैरवले यसरी प्रोत्साहित गरेका कति व्यक्ति आज चर्चित स्थापित लेखक बनेका छन् । त्यस्ता केही भैरव प्रति कृतज्ञ छन् भने केही कृतघ्न पनि छन् भैगो तिनको पोल नखोलौं ।

भैरव पहिले मद्यपान गर्दैनथे । एकपटक पत्रकार टोलीसँग पाकिस्तान जाने मौका पर्यो, साथी थिए अर्का पत्रकार-व्यङ्ग्यकार बालमुकुन्ददेव पाण्डे । उनैले भैरवलाई पहिले बियर चखाए । पछि ह्वीस्कीका पेग बढी नै तन्काउने पारेर रक्सी प्रवीण बनाइदिए । पहिलेका अभक्ष विरोधी सात्विक भैरवलाई पाक भ्रमणबाट फर्केपछि अर्कै रूपको मद्यप्रेमी देखेर हामी साथीहरू चकित भएका थियौं । पाकिस्तानको पेशावर घुम्न जाँदा बालमुकुन्द र भैरव पालैपालो आफू बसेको होटलको कोठाको बाथरुममा पिशाब फेर्न छिरेछन् । बाहिर आएर दुवै एक अर्कालाई हेरेर मरिमरि हाँस्न लागेछन् । बाथरूमको पिशाब गर्ने भाँडो तिनका छातीमा पो पुग्ने रहेछ । निकै अग्ला पठानहरूका साइजलाई काम लाग्ने गरी बनाइएका त्यस्ता साधनमा पुड्का नेपालीको पहुँच नहुने नै भयो; थुक्न मात्र सकिने पिशाब फेर्न नमिल्ने ! च्यापेको पिशाब, सवैतिर सफा सुख्खा बाथरूममा फ्याँक्न निकै बुद्धि ख्याउनुपरेको थियो भनेर हाँसो गर्थे भैरव र बालमुकुन्द ।

गोरखापत्रका सम्पादक रामराज पौडेलले पत्रकारिता सम्बन्धी पुस्तक लेख्ने रहर गरेछन् । भैरवलाई आफ्नो घरमा लगेर अफिसमा विदा मिलाएर आफ्नो पत्रकारिता पुराण पूर्ण गराउने काममा खटाएछन् । त्यस्तो वेला काम सकेर थकित गलित भएर फर्कदै गरेका भैरवलाई बाटोमा भेट्थ्यौं हामी । उनी भन्थे, ‘अरू राम भक्ति गर्छन् म चाहिं अचेल हराम भक्तिमा परेको छु, त्यही गरेर फर्केको हुँ ।’ आफ्ना सम्पादक बारे यस्तो प्रतिकृया दिँदै रुन्चे हाँसो हाँस्तै हामीलाई समेत हँसाउथे ।

‘गोरखापत्र’ मा भैरव अर्यालका हाकिम भएर अर्का हास्यव्यङ्ग्य लेखक केशवराज पिंडाली आइपुगेछन् । त्यस घटनालाई भैरव आफ्नै पाराले यसरी व्यक्त गर्थे; ‘हेर न, अरूका तालुमा आलु फल्छ मेरो तालुमा त पिँडालु पो फल्यो !’ मरी मरी हाँस्थ्यौं हामी ।

भैरव र म एक पटक सँगै दिल्ली यात्रामा थियौं । रेलमा अर्का एकजना परिचित व्यक्ति सहयात्री बने । हामी तल सीटमा बसेका थियौं । ती सहयात्री माथिल्लो बर्थमा सुत्न उक्लिए । अनि भैरवसँग तलको सीटका आफ्ना सामान माग्दै गए, भैरव दिँदै गए । हुँदाहुँदा उनले भने; “भैरवजी त्यो दिनुस् त ।’ यो सुन्नासाथ भैरवको कन्पारो तात्यो र उनले क्रोधोन्मत्त उनकै जुत्ताले ती व्यक्तिको पुर्पुरो सेकिदिए । भैरवको त्यस्तो रौद्ररूप पहिलो पटक देखें मैले ।

आफ्नो मृत्यु स्वाभाविक हुँदैन भन्ने संकेत पटकपटक दिइसकेका थिए भैरवले । दिल्लीमा भैरवको घाँटीकै उपचार निम्ति गएका थियौं हामी । उनलाई त्यहीं एकजना साथी बाबुराम पौडेलकहाँ छोडेर म फर्किएँ । उपचार हुन नसकेर उनी हरिद्वार, आगरा, बनारसतिर घुम्दै काठमाडौं फर्किए । फर्केर उनले सुनाएको यात्रा वणर्न यस्तो थियो; ‘हरिद्वारमा गङ्गामा आफूलाई सेलाइदिउँ भन्ने सोचें, सँगै गएका साथी बाबुरामले कुनैवेला पनि एक्लै छोडेनन् । आगरा र बनारस जाँदा रेल दुर्घटना होस् भनेर कत्ति कल्पिएँ साबूत नै रहें । बनारसमा पनि गङ्गामा सिद्धिउँ भन्ने लाग्यो- शिव भट्टराई र बलराम उपाध्याय (वाम नेता) ले छोड्दै छोडेनन् । बनारसबाट रक्सौलसम्म पनि सुरक्षित नै आइपुगेपछि काठमाडौं जान वीरगञ्जमा एउटा ज्यादै थोत्रो, टन्न सामान भरिएको ट्रक खोजेर चढें । त्रिभुवन राजपथमा कतै त्यो ट्रक खसेर सिद्धिन पाए हुन्थ्यो भनेर कल्पना गरिरहें । सरदार ड्राइभरले साबूत नै ल्याइपुर्‍यायो कति सकस- हण्डर खेप्नु छ; त्यसै के मर्थे चाहेर पनि !’ काठमाडौंमा कहिले घरकै झ्यालबाट हाम्फालेर, कहिले त्रिशूलीसम्म पुगेर पुलबाट खस्ने आँट नआएर फर्केका घटना दोहोऱ्याइरहेका थिए ।

अन्त्यमा २०३३ सालमा अफिसलाई, परिवारलाई, समाजलाई मृत्यु पत्र लेखेर आफूलाई विसर्जन गरे बागमतीमा भैरवले ।
आफूले आफैलाई सिध्याए पनि भैरव आफ्ना लोकप्रिय कृतिहरूमा बाँचिरहेका छन् । नेपाली हास्यव्यङ्ग्यको सगरमाथा भनेर पाठकहरूले उनको कीर्ति झन् झन् चुलीमा उकास्तै लगिरहेका छन् । यति सीमित पृष्ठमा गाथा गाउन सकिदैन । नेपाली हास्यव्यङ्ग्यका शाश्वत शिल्पी भैरवलाई हार्दिक वन्दना !

०००
‘अनुहार र अनुभूति’ २०७४

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी