बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

नेपाली हास्यव्यङ्ग्यका अमर शिल्पी

काम सकेर थकित गलित भएर फर्कंदै गरेका भैरवलाई बाटोमा भेट्थ्यौँ हामी । उनी भन्थे, “अरू रामभक्ति गर्छन्, मचाहि अचेल हरामभक्तिमा परेको छु, त्यही गरेर फर्केको हुँ ।”

Nepal Telecom Spring Offer

खँचकुमारी र होमनाथका छोरा भएर किसं. १९९३ असोज ५ गते ललितपुरको कुपण्डोलमा जन्मिएका हुन् भैरव अर्याल । नेपाली साहित्यका कहलिएका साहित्यकार अर्यालको प्रसिद्धिचाहिं हास्यव्यङ्ग्यमा नै बढी छ । नेपाली हास्यव्यङ्ग्यका बेजोड प्रतिभा हुन् उनी । हास्यव्यङ्ग्यका शिखर स्रष्टाको मान्यता पाएका छन् भैरवले । नेपाली हास्यव्यङ्ग्य र भैरव अर्याल एकअर्कासँग अभिन्न नए गाँसिएका छन् । उनका ‘काउकुती’, ‘जय भुँडी’, ‘गलबन्दी’, ‘इतिश्री’, ‘दश ओतार’, ‘टेढो ऐना’, ‘कारिन्दाको दिनचर्या’ हास्यव्यङ्ग्यका लोकप्रिय कृति हुन् । सर्वप्रथम २००९ सालमा ‘नयाँ जीवन’ शीर्षक कविता रचेर लेखन सुरु गरेका हुन् भैरव अर्यालले । तीन दशकको सिर्जना यात्रामा कविता, निबन्ध, समालोचनाका गरी एक दर्जनभन्दा बढी पुस्तक छापिएका छन् । उनका पत्रपत्रिकामा छरिएका थुप्रै रचना पुस्तकका रूपमा आउन अझै बाँकी छन् ।

नेपाली पत्रकारिता पनि भैरवको योगदानबाट लाभान्वित भएको छ । उनले ‘हालखबर’ दैनिकबाट पत्रकारिता सुरु गरे । पछि ‘गोरखापत्र’ को सम्पादन समूहमा रहे । ‘मधुपर्क’ लाई स्तरीय बनाउन निकै खटे। ’रचना’ पत्रिका प्रकाशनमा पनि उनको भूमिका महत्त्वपूणर् रह्यो । साहित्य र पत्रकारिताका विविध क्षेत्रमा उनको प्रतिभा छरिए पनि हास्यव्यङ्ग्यमा चाहिँ उनलाई सिद्धि नै प्राप्त भएको मानिन्छ । हास्य र व्यङ्ग्यको शिष्ट संयोजन, राष्ट्रिय अन्तर्राष्ट्रिय विसङ्गति र विरोधाभास प्रति कठोर प्रहार गर्न खप्पिस मानिन्छन् भैरव अर्याल । आफ्नै मौलिक उखानटुक्कालाई सही प्रयोग गर्दै कहिल्यै असङ्गत नठहरिने विषयको सफल छनोटजस्ता विशेषताले गर्दा नै भैरवका हास्यव्यङ्ग्य अतुलनीय ठहरिएका । नेपाली साहित्यका पारखी पाठकहरूबाट यिनै कारणले ‘हास्यव्यङ्ग्यका शाश्वत शिल्पी’ भन्ने मान्यता कमाएका छन् भैरव अर्यालले । नेपाली साहित्यमा भैरवका योगदानको कदर गर्दै सामाजिक पनि उनको स्मृतिलाई जीवन्त पार्न सार्थक काम भएका छन् । उनको कर्म काठमाडौंको जोरपाटीमा भैरव पुरस्कार गुठी, भैरव स्मृति भवन, शालिक सहित भैरव स्मृति पार्क, भैरव पुस्तकालय स्थापित गरिएका छन् । हेटौंडामा पनि उनको शालिक स्थापना भएको छ । काठमाडौं र मकवानपुरबाट प्रत्येक वर्ष भैरव नाममा हास्यव्यङ्ग्यका प्रतिभाहरूलाई तीन वटा पुरस्कार प्रदान गरिन्छ । अर्यालको सम्झनामा नेपाल सरकारले हुलाक टिकट प्रकाशनमा ल्याएको छ । आधुनिक नेपाली साहित्यका यस्ता चहकिला तारा भैरव अर्यालको निधन दुःखद रूपमा भयो । २०३३ असोज १९ गते राति काठमाडौँ गोकणर्को पुलबाट हाम फालेर आत्महत्या गरी बाग्मतीमा जीवन बिसाए भैरव अर्यालले ।

भैरव अर्यालसँग मेरो २०१६ सालदेखि सङ्गत भयो । उनी बाँचुन्जेल निकै घनिष्ठ साथीका रूपमा सम्बन्ध झाङ्गियो । ज्यादै नजिकबाट उनका बानीव्यहोर उनको सृजनात्मकता र उनको प्रगति हेर्ने अवसर पाएँ । २०१८ सालमा भैरवकै प्रेरणाले रमेश विकलसमेतको सहयोगमा मैले ‘रचना’ पत्रिका प्रकाशित गरेको हुँ । ‘भैरव अर्याल’ नाममा पहिलो हास्यव्यङ्ग्य ‘टी पार्टी’ ‘रचना’ को पहिलो अङ्कमा छापिएको हो । त्यसो त २०१७ सालमा ‘रूपरेखा’ पत्रिकामा ‘नयाँ भाका र नयाँ कवित्त’ शीर्षक उनको निबन्ध छापियो । तर, त्यहाँ लेखकको नाम- ‘इमल प्रसाद अर्जेल’ छापिएको थियो । भैरवको पहिलो हास्यव्यङ्ग्यसङ्ग्रह काउकुती पहिले जगदम्बा प्रकाशनले छाप्ने निधो गरेको थियो । पछि प्रकाशकलाई स्तरहीन लागेछ र लेखकलाई पत्तै नदिई प्रकाशकमा वासुदेव शर्माको नाम राखेर छापियो । यस व्यवहारबाट भैरव निकै खिन्न भएका थिए । तर, स्तरहीन भनिएको त्यही पुस्तकले लोकप्रियताको शिखर चुम्यो । हास्यव्यङ्ग्यप्रति पाठकको रुचिलाई कदर गर्दै वासुदेव लुइँटेलले हास्यव्यङ्ग्यका मात्र पुस्तक छाप्ने संस्थाको प्रकाशन नै खोले । भैरव वासुदेवसहितका हास्यव्यङ्ग्य लेखकहरूको जमातले कौवा प्रकाशनमार्फत तहल्का नै मच्चायो त्यसबेला ।

भैरव आफ्नो प्रसिद्धिबाट जति प्रसन्न थिए, शारीरिक दुर्बलताबाट त्यो भन्दा बढी पीडित हुन्थे । विभिन्न मञ्चमा कविता पढ्न, गोष्ठीहरूमा सहभागी हुन प्रवचन दिन, अन्तर्वार्ता दिन उनलाई निम्त्याइन्थ्यो । तर, निम्तो मान्ने स्थितिमा हुँदैनथे उनी । उनको घाँटीको स्वरनली सुकेर बोली बिग्रेको, मसिनु र अस्वाभाविक थियो । त्यसैले समारोहहरूमा प्रस्तुत हुन असजिलो हुन्थ्यो । सिर्जनात्मक उच्चताका धनी भएर पनि घाँटीको समस्याले ग्रस्त हुँदा हीन भावनामा पिल्सिने गर्थे उनी । ९ वर्षको उमेरदेखि उनलाई यो रोग लागेको रहेछ । घाँटी दुखेर असह्य हुँदा बेलाबेलामा उनको हात घाँटीको नशामा पुगेको देखिन्थ्यो । त्यसमाथि चुरोटको अम्मल थपिंदा पीडा पराकाष्टामा पुग्थ्यो ।

भैरवले सुरुमा संस्कृत पढेका हुन् । गोकणर्कै जागिरदार बद्रीनाथ आचार्यको नक्साल डेरामा उनले भान्से भएर पढे । संस्कृतको सम्पूणर् मध्यमा परीक्षाको फर्म भर्न भा.रु. दश लाग्थ्यो । भैरवलाई त्यति जुटाउन हम्मेहम्मे पर्‍यो । अनि, उनले एउटा जुक्ति झिके । त्यो बेलाका युवराज महेन्द्रलाई उनले फर्म भर्न रकम माग्दै कवितामा बिन्तीपत्र लेखेर नारायणहिटीमा पठाएछन् । एक दिन एउटा घोडचढी सिपाही नक्साल चारढुङ्गेमा आएर “भैरवप्रसाद अर्जेल भन्ने को हो ? कहाँ बस्छ ?” भन्दै खोज्न लागेछ । छिमेकीहरूले डेरा बताएपछि सिपाहीले घोडा कड्काउँदै भैरवकहाँ पुगेर भनेछ- “म नारायणहिटीबाट आएको !”

अब सातोपुत्लो उडेछ भैरवको । युवराजलाई त्यस्तो पत्र लेखेकोमा पक्रन आएछ, अब थुनामा, दण्ड सजायमा परिने भइयो भनेर थुथुर भएछन् उनी । घोडाबाट ओर्लेर सिपाहीले एउटा खाम दिएर बुझेको सही गराएछ भर्पाइको कागजमा । हात कमाउँदै खाम खोलेछन् भैरवले । त्यहाँ त फर्म भर्ने रकमसहित पढाइमा सफलता निम्ति शुभकामनासमेत लेखेर पठाएका रहेछन् युवराज महेन्द्रले । अपार खुशी र उमङ्ग छायो अब भैरवमा । उनले फर्म भरे, जाँच दिए र परीक्षा उत्तीर्ण गरे । त्यो बेला नक्सालमा संस्कृतका नै विख्यात विद्वान् शेषराज रेग्मीकहाँ पढ्न जान्थे उनी । उनका सहपाठी अर्का लेखक बल्लभमणि दाहाल थिए । उनी भैरवको यो प्रसङ्ग रमाइलोसँग सुनाउँथे पछिसम्म ।

भैरव २०११ सालमा शिक्षक भएर पोखराको कन्धनी डाँडा स्कूलमा बढाउन गए । पूर्वसभामुख तारानाथ रानाभाट पनि त्यसबेला भैरवका विद्यार्थी थिए । एक दिन स्कूल बिदाको दिन विद्यार्थीहरू लिएर वनभोजमा गएछन् भैरव तालमा पौडी खेल्न जाँदा एक जना विद्यार्थी डुबेर मरेछन् । यस घटनाबाट उद्विग्न भएर भैरव स्कूलको जागिर छाडेर काठमाडौं आए । यता आएर पनि साँखुुको पासीखेल स्कूलमा शिक्षक नै भए । त्यसबेला चाहिं उनले क्रान्तिकारी छवि देखाए । प्रधानमन्त्री टङ्कप्रसाद आचार्य साँखुबाट काठमाडौँ फर्कदै गर्दा आफ्ना विद्यार्थीको जुलुस निकालेर बाटो छेक्न आफूसमेत उभिए । स्कूलको भवन नभएको, बेन्च नभएको सकस बेहोरेर पढ्नुपरेको यस्तो अवस्था सुधार नगर्ने सरकार मूर्दावाद ! भन्दै नारा घन्काउन लगाए भैरवले । प्रधानमन्त्रीले माग पूरा गर्ने कबूल गरेपछि मात्र बाटो छाडे विद्यार्थीले । त्यस घटनापछि जोरपाटीतिर भैरवलाई ‘कम्युनिस्ट भैरव’ भन्न थालेछन् ।

हालखबर दैनिकका सम्पादक दाताराम शर्माले प्रोत्साहित गरेपछि २०१४ सालमा त्यहीं पत्रकार नियुक्त भए भैरव । खोलापारिको पुरेत बाजे, बकम्फुस शर्मा जस्ता नाममा भैरवका समसामायिक व्यङ्ग्य कविता ‘हालखबर’ मा छापिन थाले हास्यव्यङ्ग्यमा उनको कलम तिखारिंदै गयो । ‘रूपरेखा’, ‘रचना’, ‘सिंहनाद’ आदि पत्रिकामा छापिएका व्यङ्ग्य निबन्धले उनको प्रसिद्धि बढ्दै गयो । कविता सजिलोसँग लेख्थे तर हास्यव्यङ्ग्य लेख्न निकै सकस पर्थ्याे  भैरवलाई । घरमा, डेरामा, अफिसमा अनेक बाधा परेर मेरै घरमा कोठाभित्र थुनेर पनि लेखाएको छु ‘रचना’ का निम्ति निबन्ध । त्यस्तो बेला अफिसमा बिदा लिन लगाएर चुरोट बिस्कुट-पानीको बन्दोबस्त गरेर कोठाको ढोकामा ताल्चा मारिदिन्थेँ । पिसाब फेर्न कोपरा हुन्थ्यो । साँझतिर ताल्चा खोलिदिन्थें । उनकै सहमतिबाट यी कुरा गरिन्थे । दुई-तीन दिन त्यस्तो क्रम चलेपछि कहिले एउटा, कहिले तीन वटा निबन्ध तयार गर्थे भैरव । त्यसरी लेखिएका निबन्ध बेजोडका बन्थे । ‘रचना’ मा जति छापिए, ती निबन्ध भैरवबाट त्यसरी नै लेखाइएका हुन् ।

भैरव अरूका नाममा किताब लेखिदिनुपर्ने शोषणमा पनि परेका छन् कति पटक । कसैको ‘जापान भ्रमण’ कसैको ‘पत्रकारिता’ कसैको ‘नेपाली महिला’ जस्ता सिङ्गै किताब नै लेखिदिएका छन् उनले बाध्यतामा परेर । ‘गोरखापत्र’ मा हुँदा आफ्नै कविता सारेर छाप्न पठाएर कवि बन्न खोज्ने कतिलाई आफैले कविता लेखिदिएर, छापिदिएर प्रोत्साहित पनि गरेका छन् । कति नयाँ कवि-लेखकका रचना परिमार्जित अथवा पुनर्लेखन नै गरिदिएर, छापिदिएर पनि प्रतिभालाई सघाउने बानी थियो भैरवको । ‘गोरखापत्र’ मा हुँदा भैरवले यसरी प्रोत्साहित गरेका कति व्यक्ति आज चर्चित स्थापित लेखक बनेका छन् । त्यस्ता केही भैरव प्रति कृतज्ञ छन् भने केही कृतघ्न पनि छन् । भैगो तिनको पोल नखोलौं ! भैरव पहिले मद्यपान गर्दैनथे । एक पटक पत्रकार टोलीसँग पाकिस्तान जाने मौका पर्‍यो । साथी थिए अर्का पत्रकार-व्यङ्ग्यकार बालमुकुन्ददेव पाण्डे । उनले भैरवलाई पहिले बियर चखाएपछि हवीस्कीका पेग बढी नै तन्काउने पारेर रक्सीप्रवीण बनाइदिए । पहिलेका अभक्षविरोधी सात्विक भैरवलाई पाक भ्रमणबाट फर्केपछि अर्कै रूपको मद्यप्रेमी देखेर हामी साथीहरू चकित भएका थियौँ । पाकिस्तानको पेशावर घुम्न जाँदा बालमुकुन्द र भैरव पालैपालो आफू बसेको होटलको कोठाको बाथरूममा पिसाब फेर्न छिरेछन् । बाहिर आएर दुवै एक-अर्कालाई हेरेर मरीमरी हाँस्न लागेछन् । बाथरुमको पिसाब गर्ने भाँडो तिनका छातीमा पो पुग्ने रहेछ । निकै अग्ला पठानहरूका साइजलाई काम लाग्ने गरी बनाइएका त्यस्ता साधनमा पुड्का नेपालीको पहुँच नहुने नै भयो । थुक्नमात्र सकिने, पिसाब फेर्न नमिल्ने ! च्यापेको पिसाब, सबैतिर सफा सुख्खा बाथरुममा फ्याँक्न निकै बुद्धि ख्याउनुपरेको थियो भनेर हाँसो गर्थे भैरव र बालमुकुन्द ।

गोरखापत्रका सम्पादक रामराज पौडेलले पत्रकारितासम्बन्धी पुस्तक लेख्ने रहर गरेछन् । भैरवलाई आफ्नो घरमा लगेर अफिसमा बिदा मिलाएर आफ्नो पत्रकारिता पुराण पूर्ण गराउने काममा खटाएछन् । त्यस्तो बेला काम सकेर थकित गलित भएर फर्कंदै गरेका भैरवलाई बाटोमा भेट्थ्यौँ हामी । उनी भन्थे, “अरू रामभक्ति गर्छन्, मचाहि अचेल हरामभक्तिमा परेको छु, त्यही गरेर फर्केको हुँ ।” आफ्ना सम्पादकबारे यस्तो प्रतिक्रिया दिँदै रुन्चे हाँसो हाँस्तै हामीलाई समेत हँसाउँथे ।

‘गोरखापत्र’मा भैरव अर्यालका हाकिम भएर अर्का हास्यव्यङ्ग्य लेखक केशवराज पिंडाली आइपुगेछन् । त्यस घटनालाई भैरव आफ्नै पाराले यसरी व्यक्त गर्थे, “हेर न ! अरूका तालुमा आलु फल्छ, मेरो तालुमा त पिँडालु पो फल्यो !” मरी मरी हाँस्थ्यौँ हामी ।

भैरव र म एक पटक सँगै दिल्ली यात्रामा थियौँ । रेलमा अर्का एक जना परिचित व्यक्ति सहयात्री बने । हामी तल सिटमा बसेका थियौँ । ती सहयात्री माथिल्लो बर्थमा सुत्न उक्लिए । अनि, भैरवसँग तलको सिटका आफ्ना सामान माग्दै गए, भैरव दिँदै गए । हुँदाहुँदा उनले भने, “भैरवजी, त्यो जुत्ता दिनुस् त ।” यो सुन्नासाथ भैरवको कन्पारो तात्यो र उनले क्रोधोन्मत्त भएर उनकै जुत्ताले ती व्यक्तिको पुर्पुरो सेकिदिए । भैरवको त्यस्तो रौद्र रूप पहिलो पटक देखें मैले । भैरवले आफ्नो मृत्यु स्वाभाविक हुँदैन भन्ने सङ्केत पटक-पटक दिइसकेका थिए । दिल्लीमा भैरवको घाँटीकै उपचार निम्ति गएका थियौं हामी । उनलाई त्यही एक जना साथी बाबुराम पौडेलकहाँ छाडेर म फर्किएँ । उपचार हुन नसकेर उनी हरिद्वार, आगरा, बनारसतिर घुम्दै काठमाडौँ फर्किए । फर्केर उनले सुनाएको गङ्गामा यात्रा वणर्न यस्तो थियो “हरिद्वारमा गङ्गामा आफूलाई सेलाइदिऊँ भन्ने सोचें, सँगै गएका साथी बाबुरामले कुनै बेला पनि एक्लै छाडेनन् । आगरा र बनारस जाँदा रेल दुर्घटना होस् भनेर कत्ति कल्पिएँ, साबूत नै रहें । बनारसमा पनि सिद्ध्याऊँ भन्ने लाग्यो, शिव भट्टराई र बलराम उपाध्याय (वामनेता) ले छोड्दै छोडेनन् । बनारसबाट रक्सौलसम्म पनि सुरक्षित नै आइपुगेपछि काठमाडी जान वीरगञ्जमा एउटा ज्यादै थोत्रो, टन्न सामान भरिएको ट्रक खोजेर चढें । त्रिभुवन राजपथमा कतै त्यो ट्रक खसेर सिद्धिन पाए हुन्थ्यो भनेर कल्पना गरिरहेँ सरदार ड्राइभरले साबूत नै ल्याइपुऱ्यायो । कति सकस-हण्डर खेप्नु छ, त्यसै के मर्थें र चाहेर पनि !”

काठमाडौँमा कहिले घरकै झ्यालबाट हामफालेर, कहिले त्रिशूलीसम्म पुगेर पुलबाट खस्ने आँट नआएर फर्केका घटना दोहोऱ्याइरहेका थिए । अन्त्यमा २०३३ सालमा अफिसलाई, परिवारलाई, समाजलाई मृत्यु-पत्र लेखेर आफूलाई बिसर्जन गरे बाग्मतीमा भैरवले ।

आफूले आफैलाई सिध्याए पनि भैरव आफ्ना लोकप्रिय कृतिहरूमा बाँचिरहेका छन् । नेपाली हास्यव्यङ्ग्यको सगरमाथा भनेर पाठकहरूले उनको कीर्ति झन् झन् चुलीमा उकास्तै लगिरहेका छन् । यति सीमित पृष्ठमा भैरवगाथा गाउन सकिँदैन । नेपाली हास्यव्यङ्ग्यको शाश्वत शिल्पीलाई हार्दिक वन्दना !

‘सम्झना’ .(भैरव स्मृतिग्रन्थ) २०७८

फित्काैलीको सूचना
Nepal Telecom Spring Offer
जुकाहरू

जुकाहरू

दिव्य गिरी
केही उखानका बखान

केही उखानका बखान

अशोककुमार शिवा
हास्य र व्यङ्ग्यबीच पारस्परिक निर्भरता र अन्तर्सम्बन्ध

हास्य र व्यङ्ग्यबीच पारस्परिक...

प्रा.डा. गंगाप्रसाद अधिकारी
माछो माछो भ्यागुतो

माछो माछो भ्यागुतो

नरेन्द्रराज पौडेल
ट्वाँट एण्ड म

ट्वाँट एण्ड म

स्व. विष्णु नवीन