सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

स्वादिलो, मनोरञ्जक हास्यव्यङ्ग्य गुटिका

व्यङ्ग्यकर्मी माणिकरत्नलाई स्याबासीको धाप मात्रै पर्दछ । स्वस्थ र सुरुचियुक्त हास्यव्यङ्ग्य पढ्न चाहने पाठकका निम्ति यस पुस्तकले अचूक ओखतीको काम गर्दछ । घतलाग्दो पठनीय पुस्तक हो यो।

Nepal Telecom ad

राेचक घिमिरे :

कोरोनाले कोकोहोलो मच्चाइरहेको बेला । कुन बेला आफू पनि कक्रक्क पर्नुपर्ने हो के ठेगान ! भनेर तर्सिरहेको स्थिति थियो । जताततै लक डाउन, मास्क, साबूनपानीले बारम्बार हात धुने आदि घोकन्ते वाक्यको जगजगीका बीचमा मोबाइलको घन्टी बज्यो । उतापटि आबाज सुनियो झ्याइँकुटीको ! भन्छन्- मेरो ‘झ्याइँकुटी झ्याइँ झ्याइँ’ निस्कँदैछ, केही मन्तव्य लेखिदिनु पर्यो । ‘हास्य व्यङ्ग्यका रथि-महारथिहरूलाई लेखाऊ त्यो पो हुन्छ त महत्त्वपूर्ण !’ भनेर उम्कन खोजें। ‘रथि-महारथिहरूले नै तपाईंकै मन्तव्य राख्नू भनेका छन्, यति त गर्दिनै पर्यो’ भनेर फुर्क्याउँदै ढिपी कस्न थाले भ्याइँकुटी । (भूतको भिनाजुले राखेको यही नामले चिनिन्छन् माणिकरत्न मेरो घरमा) मेरो बुता छैन है ! भनेर जतिसुकै उम्कन खोजे पनि फुत्कनै दिएनन् । एकछिन पछि त घरमा आएर ढोकाबाटै छोरालाई पाण्डुलिपि भिडाएर भागेछन् ।

अब परेन बित्यास ! कोरोना त्रासले कन्चट तातिरहेको बेला के भाम्लो आइलाग्या यो ! भनेर दिग्दारिदै पाण्डुलिपिको पोको फुकाएँ । पढ्न थालें । छरछिमेक जतासुकै कोरोनाले कुर्मुऱ्याएर मान्छेहरू सिलटिम्मुर खाँदैगएको दिग्दारिलो वातावरण थियो । त्यस्तो बेला पढ्दै जाँदा ‘भ्याइँकुटी झ्याइँ झ्याइँ’ ले अलि अलि मथिङ्गल माझेर चङ्गा गराउन लागेको हो कि ! जस्तो लाग्न थाल्यो । पढेर त सकियो तर लेख्न कन्नुपर्ने हुन थाल्यो । एक मन त आ… म पनि नरनाथकै जस्तो लमतडी गरिदिउँ कि भन्ने पनि लाग्यो । तर अर्को मनले भन्यो- ‘झ्याइँकुटी त निकै सहयोगी, आज्ञाकारी, विनम्र मान्छे हो यसलाई लमतडीमा पार्नु अनर्थ हुन्छ ।’ अनि पो बल्ल कलम चलाउने जाँगर चलेको हो।

इतिहास केलाउँदा मूल संस्कृतमा लेखेर वि.सं. १८५४ तिर नेपालीमा अनुवाद गरिएको शक्तिवल्लभ अर्ज्यालको ‘हास्य कदम्ब’ नाटकबाट नेपाली हास्य व्यङ्ग्यको थालनी भएको मानिन्छ । भानुभक्त, मोतीराम, आदिका कविता हुँदै नेपाली हास्यव्यङ्ग्य लेखन अघि बढ्दै गयो । पछि केशवराज पिंडाली, भैरव अर्याल, वासुदेव लुइँटेल आदिले हास्यव्यङ्ग्यका अनेक बान्की प्रस्तुत गरेर, गोडमेल मलजल गरेर नेपाली हास्यव्यङ्ग्यको बगैंचालाई ढकमक्क पारे । यसपछिका पुस्ताहरू आआफ्नो क्षमताअनुसारको पाइन चढाएर लेखन, प्रकाशन, श्रव्य दृश्य प्रस्तुतिका साथै संस्थागत माध्यमबाट समेत नेपाली हास्यव्यङ्ग्यलाई चुचुरोतिर पुऱ्याउन लत्तो लागेर कुदिरहेका छन्। माणिकरत्न शाक्य तिनै मध्येका तन्देरी प्रतिभा हुन् । हास्यव्यङ्ग्यकाे फाँटमा सेवा र समर्पण भावले लाग्ने यिनको हुटहुटी पहिल्याएर २०४९ सालमा भैरव पुरस्कार गुठीले यिनीद्वारा सम्पादित ‘झ्याइँकुटी’ लाई भैरव प्रतिभा पुरस्कारको पगरी गुताएको थियो । त्यस बेलाको गुठीको ठम्याई सही रहेछ भन्ने उत्तरोत्तर प्रमाणित हुँदै गयो । हास्यव्यङ्गयमा गरेको गतिलो कामले आफ्नो टड्‌कालो परिचय बनाउन सफल भएका छन् आज माणिकरत्न शाक्य ।

यिनको प्रस्तुत- ‘झ्याइँकुटी झ्याइँ झ्याइँले मनोरञ्जक मसला भरिएको प्रभावोत्पादक पुस्तक हुने तागत देखाएको छ । यो निकै तिक्खर, स्वादिलो र रसिलो खुराक भएको अनुभूति हुन्छ पाठकलाई । यहाँ भएका सबै ससाना निबन्ध आत्मपरक हुन् । हरेक घटना र सन्दर्भमा माणिकरत्न आफैं सामेल भएका देखिन्छन् । उनले बयान गरेका पात्रहरू साहित्य र समाजका कहलिएका अनुहार हुन् । चिने जानेकै व्यक्ति बारेका मनोरञ्जक बयान पढ्दा पाठकलाई झन् रमाइलो लाग्नु स्वाभाविक हो । विश्वसनीयताका दृष्टिले पनि यस्तो लेखनको वजन बढेको हुन्छ । माणिकरत्नले आफैं प्रति भएका दुत्कार र दुर्व्यवहारलाई समेत खुलस्त पार्न धक मानेका छैनन् । उनको खास विशेषता हो यो । कुनै कुनै घटना चाहिं काल्पनिकताका उपज हुन् कि भन्ने शङ्का पाठकमा उब्जन सक्छ । ‘चोरले झ्याइँकुटी पढ्दा’ जस्ता बयानले त्यस्तै अपत्यार उमार्छ । कतिपय घटनाका पात्रको परिचय पनि लुकाइएको छ । शिष्टता र मर्यादाका कारण यस्तो आवरण शैली अँगालेको हुन सक्छ । यसो नगरिंदा कतिपयका घर गृहस्थी र पारस्परिक सम्बन्धमा पहिरो जान पनि सक्थ्यो ।

सत्य तथ्यमा आधारित अनि आफ्नै हुर्मत लिइएका घटनालाई समेत छर्लङ्ग पारिएको हास्यव्यङ्ग्य कृति नेपालीमा सके यही नै पो हो कि ! यति मज्जाको स्वादिलो हास्यव्यङ्ग्य गुटिका प्रस्तुत गरेकोमा व्यङ्ग्यकर्मी माणिकरत्नलाई स्याबासीको धाप मात्रै पर्दछ । स्वस्थ र सुरुचियुक्त हास्यव्यङ्ग्य पढ्न चाहने पाठकका निम्ति यस पुस्तकले अचूक ओखतीको काम गर्दछ । घतलाग्दो पठनीय पुस्तक हो यो।

अन्त्यमा- नेपाली हास्यव्यङ्ग्यमा माणिकरत्नको क्षमता उत्तरोत्तर बढ्दै जाओस् । यस फाँटमा यिनको निरन्तरता र सृजनात्मकता झाङ्गिदै जाओस् ! यिनै भावना सहित ‘झ्याइँकुटी झ्याइँ झ्याइँ’ को हर्क बढाइँको धाप छ माणिकरत्न शाक्यलाई !

०००
१५ असार २०७८ दही चिउरा खाने दिन
अध्यक्ष भैरव पुरस्कार गुठी
‘झ्याइँकुटी झ्याइँ झ्याइँ’ (२०७८) काे भूमिका मन्तव्य

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चश्मा

चश्मा

सुरेन उप्रेती
माड्साप्

माड्साप्

श्याम गोतामे
दिक्कलाग्दो छिमेकी

दिक्कलाग्दो छिमेकी

नगिता लेप्चा राई
ठोक सरकार ठोक

ठोक सरकार ठोक

शेषराज भट्टराई
आधा सत्य आधा भ्रम- ८

आधा सत्य आधा भ्रम-...

अर्जुन दाहाल (क)
0
Would love your thoughts, please comment.x
()
x