साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्तिम क्षणहरूमा हास्यदेव, वासुदेव !

“मैले तपाईंलाई भनिहाल्नु पर्ने कुरा केही भन्छु, फेरि मौका पर्छ पर्दैन । कौवा प्रकाशन नमरोस्, आफ्नोभन्दा बढी माया त्यसको लाग्छ । जीवनमा मैले गरेको राम्रो काम त्यसैलाई ठानेको छु । कौवा प्रकाशन फेरि ब्युँझाएर “डाढो- २” निकाल्ने सुर थियो मेरो । पहिले ‘डाढो’ मा नपरेका व्यङ्ग्य लेखकलाई समेटेर आधुनिक डाढे प्रवृत्ति-बारे व्यङ्ग्य रचना सङ्कलन गरेर निकाल्ने इच्छा थियो । नरनाथलाई पनि भनेको छु, भाइ र जयरामले पनि सहयोग गर्छन् । तपाईं, शिव र ढाक्रेसमेतले यतातिर ध्यान दिएर कौवालाई बचाउन पाए हुने ! यो कुरा मनमा राख्नुहोला ।”

Nepal Telecom ad

रोचक घिमिरे :

त्यस दिन मनुजबाबु मिश्रकहाँ पुग्दा उहाँबारे केही कलाकार भाइहरूले सिनेमा खिचिरहेको देखेँ । ती भाइहरू हिँडेपछि कुनै कुरामा वासुदेव दाइको पनि यस्तै चलचित्र बनाएर राख्न पाए हुन्थ्यो, तर यस्तो कुरा उहाँ सुन्न पनि चाहनुहुन्न- मान्नु त परै जाओस् भन्ने चर्चा हामी दुईबीच चल्यो । मनुजबाबुलाई मैले भनेँ- “हामीले भन्दा नमाने पनि परिवारले भन्दा मान्नुहुन्छ कि ? एक पटक तपाईं भाइ (डा. विद्यादेव शर्मा) अथवा धन (डा. शुषमा शर्मा) सँग कुरा गरिहेर्नुस् न !” नभन्दै अर्को दिन मनुजबाबुले डा. शुषमासँग कुरा गर्नुभएछ । बल्लतल्ल छोरीले घरमै परिवारका निम्ति राख्ने, प्रचार गर्ने होइन भनेर सम्झाएपछि वासुदेव दाइले स्वीकृति दिनुभएछ । आफ्ना नजीकका केही व्यक्तिहरूसँग कुरा गरेको, उहाँको दिनचर्या समेटिएको, अनि परिवारसँग समय बिताएका आदि क्षण सिनेमामा उतार्ने सल्लाहअनुसार निश्चित गरिएको दिन उहाँकहाँ पुग्ने सल्लाह भएको थियो । तर बीचमा वासुदेव दाइ अस्वस्थ हुनुभयो र तीन चार पटकको निर्धारित समय हाम्रो त्यसै खेर गयो । त्यस्तो फिल्म बन्ने आशा हामीले छोड्यौँ ।

एकदिन अचानक डा. सुषमाबाट खबर आयो- “बाबा अहिले केही स्वस्थ हुनुहुन्छ अब त्यो काम गरौँ, दाइहरू आऔं ।” निर्धारित दिन-मनुजबाबु, शिव रेग्मी र म ढुङ्गाअड्डा पुग्यौँ । डा. शुषमा, डा. विद्यादेव, डा.नन्दिता, विनीता, विनयहरूको उपस्थिति थियो । वासुदेवदाइको घर, कोठा, बगैँचा आदिको सिनेमा खिचिँदै थियो । रमेश खकुरेल पनि आइपुग्नुभयो । हामी सबै वासुदेव दाइको कोठामा बस्यौँ । उहाँ आफ्नो ओछ्यानमा पहिलेझैँ नै बस्नुभएको थियो । हामी बीच विविध कुराकानी भए । उहाँको जीवनका प्रारम्भिक जीवनका कुरा उठे । उहाँ ज्यादै भावुक हुनुभयो र भन्नुभयो- “म वेद पाठ गर्न चाहन्छु, खुलेर वेद पाठ गर्ने धेरै दिनदेखिको धोको छ मेरो !” सबैले हुन्छ भन्यौँ । सार-स्वरसहित उच्च स्वरमा उहाँका मुखबाट वेदध्वनि निस्कियो । पाठ सकिएपछि उहाँले भन्नुभो- “मेरो उन्नतिको मूलकारण वेद नै हो । सानैमा टुहुरो भएको मेरो वेदपाठबाट प्रभावित भएर नै त्यो बेला माइला गुरुज्यू (हेमराज पाण्डे) ले मलाई तीनधारा पाकशाला (संस्कृत छात्रावास) मा भर्ना हुने स्वीकृति दिएका थिए । त्यहाँ बसेर खाएर पढ्न पाएर नै मेरो प्रगतिको ढोका खुलेको हो, आज म र मेरा सन्तान जुन स्थितिमा छौँ त्यसको मूल-कारण वेद नै हो, वेदलाई म कहिल्यै बिर्सन सक्तिनँ !” यी कुराहरू गर्दा उहाँका आँखामा आँसु टल्पलाएका थिए, स्वर लर्बराएको थियो, सम्पूणर् वातावरण नै त्यहाँ भावुकताले ढाकिएको थियो । त्यहाँका प्रत्येक गतिविधि मूभी क्यामरा र स्टील क्यामरामा कैद भैरहेका थिए । तीन घण्टा जति त्यहाँ बिताएर हामी फर्केका थियौँ ।

“वासुदेव दाइ निकै विरामी हुनुहुन्छ, बोल्नुहुन्न, खान पनि गाह्रो छ, उहाँको इच्छानुसार यी कुरा प्रचार गरिएका छैनन्, तपाईंलाई देख्ता दाइलाई खुसी नै लाग्ला, आउनुहुन्छ कि !” जयरामजीले एक दिन फोनमा यी कुरा भन्नुभयो । अर्को दिन गुहनाथ पौडेललाई साथी लिएर म ढुङ्गाअड्डा गएँ । कोठामा डा. विद्यादेव र जयरामजीले वासुदेव दाइलाई उभ्याएर भिजाएको रूमालले उहाँको जिउ पुछ्दै सफा गर्दै, लुगा फेराउँदै गरेको देख्यौँ हामीले । हामी आएको कुरा अलि उच्च स्वरमा जयरामजीले सुनाउनु भयो । हामीतिर हेर्दै बस्ने ईसारा गर्नुभयो उहाँले । उहाँ ओछ्यानमा बस्नुभयो । बोल्न सक्ने स्थितिमा हुनुहुन्नथ्यो । कुरा एकतर्फी मात्र हुँदै थियो । यत्तिकैमा उहाँकी नातिनी विनीता ढोकामा देखापरिन् । उनलाई देख्नासाथ वासुदेवदाइका आँखा रसाए । भित्र भक्कानिएको भङ्गिमा देखियो उहाँको । “बाबा पीर नगर्नुस्, नरूनुस्” भनिन् विनीताले । वातावरण निकै नरमाइलो भयो । केही बेर बसेपछि फेरि आउँछौँ भन्दै उठ्यौँ हामी ।

उक्त घटना भएको ३, ४ दिनपछि ढुङ्गाअड्डाबाट फोन आयो । फोन त्यहीँ बस्ने नवराज रेग्मीले गरेका थिए । उनले भने- “बाबा कुरा गर्नुहुन्छ रे !” फोनमा वासुदेव दाइ यसरी बोल्न थाल्नुभयो- “रोचकजी ! अस्ति तपाईं आउँदा बोल्न सक्ने स्थितिमा थिइनँ म, तपाईंसँग केही कुरा गर्नुथ्यो ? समय छ ?” मैले किन नहुनु भनेँ । त्यस दिन फोनमा उहाँले बोलेको सुन्दा म छक्क परेँ । अस्तिसम्म त्यस्तो अशक्त मान्छे ! पहिलेझैँ नै कुरा गर्नुभो उहाँले । फोन गर्दा प्रायः खोकी लाग्थ्यो तर त्यस दिन त्यस्तो खोकी पनि लागेन उहाँलाई ! मैले सम्झेँसम्म उहाँले त्यस दिन भनेका कुरा यस्ता थिए :-

“ए नानी सहनु कतै नकहनु जस्तै परेता पनि, भन्छन् नि, त्यस्तै स्थिति छ मेरो ! आफ्नो पीडा आफैँभित्र लुकाइ रहेछु । बाहिर मेरो बारे अनेक कुरा चलेको हल्ला सुनेँ । मनुजबाबु मकहाँ आएर दुई घण्टा बसेर जानुभयो रे ? कमलबाबु त्यसपछि आएर एक घण्टा मकहाँ बिताएर जानुभो रे ! यस्ता कुरा चलेको सुनेँ । नभएको कुरा मान्छे किन गर्छन् ? मनुजबाबु आफैँ विरामी, आउन सक्नुहुन्न, फोनमा चाहिँ बराबर कुरा भैरहेकै छ । कमल बाबु सारै व्यस्त हुनुहुन्छ, सातआठ महिनानै भयो होला हाम्रो फोन सम्पर्कसमेत भएको छैन । व्यस्तताले आउन भ्याउनुहुन्न पनि, त्यो म बुझ्छु । गजेन्द्रले चाहिँ फोन गरेका थिए रे, हालचाल बुझेका थिए रे !”

“मैले तपाईंलाई भनिहाल्नु पर्ने कुरा केही भन्छु, फेरि मौका पर्छ पर्दैन । कौवा प्रकाशन नमरोस्, आफ्नोभन्दा बढी माया त्यसको लाग्छ । जीवनमा मैले गरेको राम्रो काम त्यसैलाई ठानेको छु । कौवा प्रकाशन फेरि ब्युँझाएर “डाढो- २” निकाल्ने सुर थियो मेरो । पहिले ‘डाढो’ मा नपरेका व्यङ्ग्य लेखकलाई समेटेर आधुनिक डाढे प्रवृत्ति-बारे व्यङ्ग्य रचना सङ्कलन गरेर निकाल्ने इच्छा थियो । नरनाथलाई पनि भनेको छु, भाइ र जयरामले पनि सहयोग गर्छन् । तपाईं, शिव र ढाक्रेसमेतले यतातिर ध्यान दिएर कौवालाई बचाउन पाए हुने ! यो कुरा मनमा राख्नुहोला ।”

“पुरस्कार गुठीबारे अड्डामा गर्नुपर्ने केही जरुरी काम बाँकी रहेछन् । ती काम सकेर यसपाली पुरस्कार दिने भनेर भाइ र जयराम तातेका थिए । म विरामी परेर त्यता लाग्नै पाएनन् । गुठीका कामलाई निरन्तरता दिन पनि भाइ-धन-जयरामहरूलाई तपाईंहरू सबैले सहयोग गरिहाल्नुहुन्छ, मलाई चिन्ता छैन ।”

“मैले भरेका महत्वपूणर् व्यक्तिहरूका टेप कसरी जोगाउने, तिनको सदुपयोग कसरी गर्ने भन्ने चिन्ता थियो मलाई । यस-बारे दारी नं. १ (जीवनचन्द्र कोइराला) ले पनि मद्दत गर्छु भनेको छ । पछि मेरै भानिज उपेन्द्र (उपेन्द्रलोचन सुवेदी)ले ‘माइला साहू’ (किरणकृष्ण श्रेष्ठ) लाई चिनायो । उनले टेपहरूको स्याहार सम्हार र संरक्षणको पूरा जिम्मा म लिन्छु भनेर ढुक्क पारे । त्यो चिन्ता पनि हट्यो मेरो ।”

“आफ्नो सङ्कलनका हास्यव्यङ्ग्यका र अन्य पुस्तक-पत्रिका जतन गर्ने र सदुपयोग गर्ने भनेर ‘सिस्नुपानी’ ले वचन दिएकोले त्यस संस्थालाई दिएको थिएँ । तिनीहरूको पनि स्थायी थलो भएन, ठाउँ सर्दासर्दै सामग्रीहरू असुरक्षित हुने छाँट् देखेँ । धनले (डा.शुषमा शर्मा) ती सामग्री ल्याएर म सुरक्षा र सदुपयोग गर्छु भनेकी छ । मेरो सङ्कलनका पुस्तक पत्रिका पनि धनले नै चासो लिएकीले उसैलाई राख्न भनेँ । यताको चिन्ता पनि छैन अब ।”

“एल्बममा मैले आफैँले खिचेका र अरू तस्वीर पनि थुप्रै छन्, तिनलाई पनि धन, भाइ र नन्दीले जतन गरिहाल्लान् !”
“भाइ घर सर्ने तर्खर गर्दैछ, अस्पताल टाढा- जामले गर्दा जान आउन ठूलो समस्या छ, मैले हुन्छ भनिसकेँ, किस्ता बन्दीमा घर मिलाइ पनि सक्यो ! मलाई चाहिँ आफ्नै थलोमा मर्ने इच्छा छ, त्यो पनि अब पूरा हुने भयो ! ….” यस्तै यस्तै कुरा गर्दागर्दै उहाँ गला अवरुद्ध भएर बोल्न सक्नुभएन र फोन राखियो । यसको ३ दिनपछि उहाँ ९० वर्ष लाग्ने दिन भदौ २३ गते शेषराज सिवाकोटी शक्ति लम्साल, शिव रेग्मी र म उहाँलाई शुभकामना दिन ढुङ्गाअड्डा गयौँ । त्यसदिन पनि उहाँ बोल्नुभएन । अस्ति फोन गराउने भाइ नवराजले भने- “त्यस दिन तपाइँसँग आधा घण्टा जति नै कुरा गर्नुभयो । बाबा त्यसपछि बोल्नुभएको छैन !” हामी केहीबेर त्यहाँ बस्यौँ । एकतर्फी कुरा मात्र भयो हाम्रो । उहाँलाई गर्मी भएछ लगाएको स्वेटरको टाँक आफैँ फुकाल्न खोज्नुभयो- सक्नुभएन, जयरामजीले खोलिदिनुभयो । यी गतिविधिहरू नातिनी विनीता मूभी क्यामरामा भरिरहेकी थिइन् । फेरि आउँछौँ भन्दै हामी विदा भयौँ ।

भदौ २५ गते बिहान ५.३० बजे फोनको घण्टी बज्यो । उताबाट “बाबा केही बेरअघि बित्नुभयो !” भन्ने आवाज सुनियो अप्रत्याशित थिएन यो कुरा । उहाँको स्वास्थ्य र उमेरअनुसार अस्वाभाविक मान्न मिल्दैन पनि उहाँको अवसानलाई । तर नेपाली भाषा र साहित्यलाई उहाँको निधनबाट जुन क्षति पुग्यो त्यो क्षति, त्यो रिक्तता पूरा हुन भने असम्भव नै लाग्छ मलाई । अन्तिम भेटमा फेरि आउँछौँ भनेर विदा भएको थिएँ । तर त्यो ‘फेरि’ उहाँकहाँ पुग्दा मैले देखेँ- उहाँको निर्जीव शरीर आँगनमा सुताइएको थियो, झमझम पानी परिरहेको थियो । जयरामजी कहिल्यै नउठ्ने गरी सुत्नुभएका दाइलाई छाता ओढाएर सिरानतिर बसिरहनुभएको थियो । घाम, पानी हुरी, बतास आगो केहीको पनि पर्वाह नगरी उहाँको शरीर लमतन्न भएर फूलमालाले ढाकिएर आकासे पानीमा नुहाँउदै सुतिरहेको थियो । हास्यदेव वासुदेव त्यसरी यस संसारबाट विदा लिइरहनुभएको थियो ।

०००
गहनापोखरी, टङ्गाल, काठमाडौं
११ माघ २०६३
‘फित्कौली’ पूर्णाङ्क- १२, हास्यदेव वासुदेव स्मृति विशेष, २०६३-फागुन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x