साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वासुदेव लुइँटेलसँगको अविष्मरणीय क्षण

वासुदेव लुइँटेल मान्छे हेरी हित गर्न र मान्छे हेरी मिति पुर्‍याउन साह्रै सिपालु हुनुहुन्थ्यो । मलाई त भन्न मन लाग्छ- नौनीको डल्लो, सिस्नाको मूठो, भूतको भिनाजु, नैकापे काका वासुदेव शर्मा लुइँटेल । तपाइँहरू भने बाह्र सत्ताइस कुरा जे सुकै गर्नुहोस् ।

Nepal Telecom ad

जनकप्रसाद हुमागाइँ :

हुन ता वासुदेव लुइँटेलसँग मेरो अत्यन्तै निकटता थियो । पछिल्लो चरणमा पनि म उहाँकोमा गइरहन्थेँ । उहाँसँगको पहिलो भेट पनि मेरो सम्झनामा एकदम ताजै छ । म एक दिन कमलपोखरीको साहित्य सेवा सदनमा श्यामप्रसादलाई भेट्न गएको थिएँ । श्यामप्रसादलाई भेट्न भनेर वासुदेव लुइँटेल र कमलमणि दीक्षित पनि त्यहीँ आउनुभएको रहेछ । वासुदेवसँग पहिलोपटक त्यहीँ भेट भएको हो ।

वासुदेवले प्राय धेरैजनाको नाम राख्नुभएको मलाई थाहा छ तर मेरो नाम राखेको मैले थाहा पाइनँ । कहिलेकाहीँ उहाँ मेरो थरले बोलाउनुहुन्थ्यो । अरू कसैसँग मेरा बारेमा कुरा गर्नुपर्‍यो भने, मेरो नाम भन्न तुरून्त आएन भने ‘त्यो मेरो जस्तै कोट दौरासुरुवाल लाएर साइकल चढी हिँड्ने क्या’ भन्नुहुन्थ्यो । उहाँ असाध्य शिष्ट साधारण अनि नेपाली पोशाक त्यो पनि नेपालीहरूले बुनेको कोगिटको दौरासुरुवाल लगाएर अनि मैलेजस्तै थोत्रोथोत्रो साइकल दौडाइरहने गर्नुहुँदो रहेछ । पहिलो भेटमै उहाँको त्यस्तो सरल व्यक्तित्वले मलाई सबभन्दा धेरै प्रभाव पार्‍यो । त्यही प्रभाव उहाँको जीवनको अन्तिम क्षणसम्म नै ममा रहिरह्यो । बेलाबेला उहाँले व्यक्त गर्नुभएका शब्दअनुसार उहाँलाई पनि के कसो भयो- त्यो भेटले मलाई सधैँभरी आफ्नै बनाइराख्न उहाँलाई पनि इच्छा लागेको थाहा पाएँ ।

त्यसपछिका दिनहरूमा पनि निरन्तर सम्पर्क सम्बन्ध रहिरह्यो । उहाँले पुल्चोकबाट सरी ढुङ्गाअड्डामा आफ्नै घर बनाएर बस्नथाले पछिको एक दिनको भेटमा उहाँले मलाई बेलुकीबेलुकीतिर मेरो घरैमा आउनोस् न भन्नुभयो । त्यसको केही दिनपछि नै हामीले समय मिलाएर सहिद स्मारक भएको ठाउँलाईलाई म विकृत ढोका भन्छु- त्यहीँ भेट गर्‍यौँ र बस चढेर ढुङ्गाअड्डा उहाँको घरमा गयौँ ।

म उहाँको ढुङ्गाअड्डाको घर पुगेको यो पहिलोपटक थियो । उहाँको घरमा झण्डै तीनचार घण्टा सँगै बस्यौँ । उहाँलाई आफूले लेखेका केही पाण्डुलिपिका केही पुराना प्रतिहरू मलाई देखाउन मन रहेछ । खोतलखातल पारेर केही पाण्डुलिपिहरू मलाई देखाउनु-भयो । ती उहाँका अप्रकाशित कृतिहरू थिए । उहाँले देखाउनुभएका सबै कृतिहरूमा लेखकको नाम नैकापे काका लेखिएको थियो । तिनीहरू सूक्ष्म रूपले व्यङ्ग्यप्रधान थिए र कतैकतै हास्य पनि मिसिएका थिए । अनि उहाँले समाजमा यस्तोको के अस्तित्व छ भन्नुभयो । मैले यस्तो प्रश्न गर्नुपर्ने किन लाग्यो र भनेँ । मैले अझै भनेँ- म त धेरै अस्तित्व देख्छु तै पनि किन सोध्नुभयो त भनेर सोधेँ । उहाँले भन्नुभयो- मलाई सोध्न मन लागेको थियो । तपाइँलाई बोलाएको नै यही सुनाएर यही कुरा सोध्नलाई हो । यसको अस्तित्व छ भने यसलाई गतिशील बन्न दिनुपर्छ । त्यसपछि केही पुरानो देखाउँछु है भन्नुभयो तिनीहरूचाहिँ पुराना पत्र-पत्रिकाहरूबाट फोटोकपि गरिराख्नुभएको रहेछ । ती पनि पढेर सुनाउनु भयो- मैले सुनेँ । “कति वर्ष त मैले लेख्दै लेखिन अहिले पछि केही लेखेँ र लेखकको नाम पनि नैकापे काका राखेँ । मैल ठीक गरेँ कि बेठीक गरेँ ?” मसँग उहाँ राय लिन चाहँदै हुनुहुन्थ्यो ।

तपाइँ जस्तो समाजको होचीअर्घेलीलाई मिलाउनका लागि कलम चलाउनेले नलेखी दिएपछि ठीक भयो कि बेठीक भयो, तपाइँ मेरो पिताजी सरहको मान्छे हुनुहुन्छ, गुरु सरह हुनुहुन्छ । यसरी लेखेर बेठीक गरेको ठान्ने हो भने त असल समाजलाई हानि भैहाल्यो नि । हाम्रो कुराकानी यसरी अगाडि बढ्यो । उहाँले आफ्ना मनका खुल्दुलीहरू निष्कर्षको रूपमा राख्दै भन्नुभयो- कसो गर्नु ठीक होला भनेर । त्यो सोधाइको पछाडिको असजिलो पक्ष मलाई उहाँले कुरा गर्दा नै बोध भइरहेको थियो ।

मैले उहाँलाई भनेँ- हामीहरू यसरी नचाहिँदो कुरामा खुम्चेर बस्नुहुँदैन जस्तो लाग्छ । अलिअलि म ठाडो छु खरो छु । हुन त तपाइँको तुलनामा म केको ठाडो, केको खरो । जति जेभो त्यतातिर नजाउँ म एउटै निवेदन गर्छु के हामीहरूले भनेका होइनौँ- पलाञ्चोक भगवतीको मूर्ति साह्रै राम्रो छ तर बनाउने कलाकार को हो भन्दा को हो भयो । अनि कल्ले भन्दा तत्कालीन शासकहरूले गर्दा, असतीहरूले गर्दा भएको भन्छौँ हैन ? अनि किन त्यस्तो भयो त भन्दा उसको हातै काटिदिएको अरे, खुट्टै काटिदिएको अरे ।

यस्तो भएपछि तिनीहरूको इतिहास मर्‍यो भन्छौँ । अनि इतिहास मर्नुहुन्थ्यो त ? भन्दा मर्नुहुँदैनथ्यो पनि भन्छौँ । अनि अहिले हामी दुईजनाले गर्न खोजेको सल्लाहको निष्कर्ष तपाइँले लेखेका तपाइँका पुराना सामग्री पनि बाहिर नल्याउने हो भने अनि समाज आफैँ बन्छ र ? बनिबनाउ समाज त पाइँदैन, समाज त आफैँले बनाउन पर्छ । तपाइँकै रचनाले पनि त्यही भनेका छन् । असल लेखकहरूका सबैका रचनाले त्यही भन्छन् । अनि बनाउनेहरूको सङ्ख्या घट्यो भने त देश बनाउन झनै समय लाग्दैन र ! मैले आफ्नो भावना आदरपूर्वक जस्ताको तस्तै उहाँसमक्ष राखेँ । हामीले पुराना पनि सङ्ग्रह गर्नुपर्छ, निकाल्न थाल्नुपर्छ र नयाँ पनि निकाल्दै जानुपर्छ । कुरा यसरी अगाडि बढे । अनि सम्भवत नयाँ निकाल्ने कुरा चाहिँ रोचक घिमिरेसँग पनि धेरथोर भइरहेको जस्तो लाग्यो । त्यस दिन मलाई देखाउनुभएका सबैजसो सामग्री मेलैसँग छापिए । तीमध्ये केही चाहिँ श्रृङ्खलामा पनि पठाउनु भयो र ती श्रृङ्खलामा पनि छापिए ।

त्यो बेलाको भेटघाट मेरो निम्ति अविष्मरणीय रहेको छ । त्यसरी भेटघाट हुनुभन्दा अगाडि अन्यौलको स्थितिमा रहेका सामग्रीहरू उहाँकै लगानीमा मुना प्रेसबाट छापिएका हुन् । सामग्री सङ्कलन गर्ने जिम्मा शिव रेग्मीलाई दिनुभएको थियो । यसरी सबैतिरबाट बटुलेका सामग्रीहरू भएको हुनाले यसको नाम पनि ‘…बाट’ राखौँ है भन्दा उहाँले पनि स्वीकार्नुभयो ।

त्यसरी निकालिएको सामग्रीको नाम पनि त्यही राखेर निकालियो । त्यसपछिका अरू सिरिखुरी, बढाकुँढार आदिसमेत निस्कँदा नेपाली साहित्यको भण्डार भरिएन र ? समाजको लागि केही हुनुपर्छ भन्नेहरूका लागि, नेपाली साहित्यको उन्नति र प्रगति चाहनेहरूका लागि, समाजमा कुभलो घटेर भलो गर्ने परिपाटी बढोेस् भन्नका लागि अनि उल्लूलाई उल्लू नै भन्न सकियोस् र तिनीहरूलाई छ्यास्न सकियोस् भनेर चाहनेहरूका लागि वासुदेव लुइँटेलसँगको त्यो भेट धेरै महत्वको रहेको छ भन्ने मलाई लाग्छ । मेरा निम्ति उहाँसँग बिताइएका क्षणहरू सम्झँदा यही भेट नै सबभन्दा महत्वपूणर् र अविष्मरणीय रहेको ठान्दछु ।

वासुदेव लुइँटेल मान्छे हेरी हित गर्न र मान्छे हेरी मिति पुर्‍याउन साह्रै सिपालु हुनुहुन्थ्यो । मलाई त भन्न मन लाग्छ- नौनीको डल्लो, सिस्नाको मूठो, भूतको भिनाजु, नैकापे काका वासुदेव शर्मा लुइँटेल । तपाइँहरू भने बाह्र सत्ताइस कुरा जे सुकै गर्नुहोस् ।

०००
(फित्कौलीले वासुदेव लुइँटेलसँग निकट रहनुभएका जनकप्रसाद हुमागाइँसँग वासुदेवका बारेमा एउटा संस्मरण लेख्न आग्रह गरेको थियो । आग्रहलाई सहर्ष स्वीकार गरे पनि उहाँले बिमारीका कारण लेख्न नसकिरहेको जानकारी दिँदैरहनुभयो । उहाँमा रहेको अर्बुद रोगले जटिल रूप लिँदै गएपछि उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरियो । उहाँकै इच्छा बमोजिम वासुदेव लुइँटेलका सम्बन्धमा नर्भिक अस्पतालमा टेपवार्ता गरिएको थियो । २०६३ साल पुस १८ गते हुमागाइँसँग गरिएको टेपवार्ताको अंशलाई सम्पादित रूपमा यहाँ प्रस्तुत गरिएको छ । -सम्पादक)
यो टिप्पणी सहित फित्कौली मासिकको १२ औँ अङ्क ‘हास्यदेव वासुदेव स्मृति विशेष’ २०६३ फागुनमा प्रकाशित भएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x