राेचक घिमिरेभैरव अर्याललाई चिठी
अरूका निम्ति हाँसो, आफ्ना लागि विरक्तिको रित्तो, शून्य वितृष्णा ! तैपनि बाँचिरहन मन लाग्ने केही प्रेरणादायक मैत्री, स्नेह, सम्बन्ध, ममता, आशा, उत्साह, विश्वास जसको भरमा जीवन लम्कदै छ । अहा ! यस्तो संसारबाट तिमी भाग्न खोज्दै छौ ?

२१ अगस्त १९६३
जनकपुर
प्रिय साथी भैरव,
तिमीले जुन किसिमको पोस्टकार्ड लेख्यौ, त्यसले मलाई ज्यादै नै अत्यायो । मलाई थाहा छ- तिमीलाई त्यो स्थितिमा पुग्न किन बाध्य हुनुपर्यो ! र त्यसको जबाफदेही कसकसमा छ । तिनैमध्येको आफूलाई पनि एउटा सम्झेको छु । किनभने, मेरै पनि करले तिमी त्यहाँ गएका हौं ।
जतिसुकै उपेक्षा, जतिसुकै तिरस्कार, जतिसुकै कष्ट पाए पनि हिमाद्रिझैँ अनवरत दृढ रहिरहने व्यक्तित्व आज एक-दुइटा काँडाले घोचे भन्दैमा किन जीवनबाटै तर्सेर भाग्दै छ ?
भैरव, तिमी अहिले नै मर्न पाउन्नौ । यदि अहिलेसम्म बाँचिरहेका छौ भने आशा छ- यो चिठ्ठी पढेपछि खुकुलो भैसकेको सासलाई अवश्य नै नियन्त्रणमा ल्याउनेछौ । तिमी किन बिर्सन्छौ- साँच्चै भनौ भने भैरव अर्याल तिम्रो पेवा हैन । तिमी उसलाई मार्न खोजेर ठूलो अपराध गर्न तम्सदै छौँ ।
सम्झ त तिम्रो हाम्रो संसार ! ‘रचना परिवार’, त्यसमा रमेश विकलको एक कप चियालाई दुई घण्टा लगाएर सुक्र्याउने बानी ! अनि, बेलाबेलामा स्वर बदलेर फोनबाट तिमीलाई हपार्ने उसको बानी । नवराज, नाउँ लिनेबित्तिकै सम्झ्यौ होला- ऊ अगुवा भएर कयौँ पटक हामीले गरेका प्रयत्नहरू । आखिर अरूलाई ईष्र्या लाग्ने गरी तिमीले पाएको सफलता ! बलराम, हँसिलो डण्डीफोरे अनुहारभित्र लुकेको मार्मिक हाँसो ! रमेश बाँस्कोटाजी हामी चारमध्येका अग्रणी र उनको उच्च प्रेस्टिज, जो सबैका लागि अनुकरणीय ! यस्तै सम्मिलित व्यक्तित्वहरूको रश्मिको गोल-टेबलमा छोडिने उन्मुक्त हाँसो ! अनि, लगातार पिइने पेय उत्तममा भन्या टोस्ट होला’ भन्ने तिम्रो सोचाइले कहिल्यै नबिर्सँदो हाम्रो हाँसो । न्युरोडमा टाउकोमा औंलो पुर्याएर ‘खबरदार’ भन्ने विभिन्न क्यारेक्टर तिनमध्ये ‘बाखीलाई देख्ता बोकाले पार्ने अनुहार बनाउँदै’ (तिम्रै भनाइ) ’हलो भन्ने एक व्यक्ति- पहाडी !
एक पटक राति मेरो घर तिमी र म जान लाग्दा हाम्रो मैत्रीमा झन्डै खिया लाग्न आँटेको मेरो केही कटु कुराले तिमी ज्यादै रिसाएर फर्केको । पछि फेरि आफै आएको अनि ओछ्यानमा लम्पसार पर्दै भएभरका आआफ्ना तीतामीठा कुराहरू पोखिएका । तिम्रो घरको दुई रात बास ! भाउज्यूको स्नेह ! कुरा गर्दागर्दै नवराज र तिमीले मलाई जोरपाटीसम्म पुऱ्याएको ।
तिमीलाई ‘दीर्घसूत्री’ भन्दै गरिने ठट्टा ! मुत्दा पनि एक घण्टा लगाउँछ भन्ने विकलको आरोप ! ‘अहा, भैरवजी ! कमाल लेख्नुभएछ’ भन्ने प्रशंसाहरू त्यो लेखाइ कस्तो मार्मिक क्षणमा निस्क्यो भनेर जान्ने केवल एक व्यक्ति । दिनमा पचासौँ पटक बज्ने फोनको घण्टी ! तिम्रा समकाय ऋषभदेव शास्त्रीजी ! तारा, मीरा, सुशीला दिदीबहिनीहरू ! पुरूको गडबढी अनि तिम्रो झपाराइ । प्यासीका कविता सुनाइ, धर्मराजको रसबरी । बालमुकुन्दको चिया, बाँसकोटाको राबडी, रोचकको कीप चप, तिम्रो चाबेले भाउजूकहाँको तर्कारी ! साझाको कुराइ । लीलाध्वजको हँसाइ ! यी सबैको प्रयास र प्रशंसामा साथ दिने भैरव अर्याल भन्ने ‘गुप्तगर्भको शिशु’, टी पार्टीको काजी, ’लभ् माने’ को बाबुसाहेब, अरूका निम्ति हाँसो, आफ्ना लागि विरक्तिको रित्तो, शून्य वितृष्णा ! तैपनि बाँचिरहन मन लाग्ने केही प्रेरणादायक मैत्री, स्नेह, सम्बन्ध, ममता, आशा, उत्साह, विश्वास जसको भरमा जीवन लम्कदै छ । अहा ! यस्तो संसारबाट तिमी भाग्न खोज्दै छौ ? अझै सोच, राम्ररी सोच- ‘सहसा विदधीत न क्रियाम् ।’
केही पीरसुर्ता नमानेर औषधी गर । डाक्टरले भनेजति दिन त्यहाँ बस । खान नारानजी, सुत्न गौड भवन, सहयोग बाबुरामजी, यति भएपछि केको चिन्ता ! लौ त ! अहिले विदा । काठमाडौँबाट ….. सहितको पत्र आउनेछ ।
तिम्रो रोचक
(श्रावण २०२० मा दिल्लीमा उपचार गर्न जाँदा भैरवले लेखेको पत्रलाई दिइएको उत्तर)
Subscribe
Login
0 Comments
Oldest












































