सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पढाइ पुराण

कति पढ्नु कसलाई मात्र पढ्नु के मात्र पढ्नु कसका मात्र पढ्नु । पढ्यो पढ्यो पाठ सोह्र दुना आठ उखान पनि सीपविनाको पढाइ हुनेले नै बनाएको होला ।

Nepal Telecom ad

लडाइँले शहीद भएको देखेसुनेकै हो तर पढाइले शहीद भएको कोही भेटिएन । जिउँदै शहीद हुनलाई टंकप्रसाद आचार्य नै त होइन नि । लडाईँ र शहीदका कुरा पछि नै गरौंला, अहिलेलाई पढाइकै कुरा गरौंला ।

म अनि पढाइ, मानौं परिपूरक जस्तै हौं । म जता जान्छु पढाइ त्यतै जान्छ अनि पढाइ जता गयो, म त्यतै जान बाध्य हुन्छु । म जति बढ्दै जान्छु, पढाइ पनि त्यति नै बढ्दै जान्छ । आजकाल त पढाइले मलाई मोबाईलदेखि सामाजिक सञ्जालसम्म पनि एक्लो छाड्दैन । म पढाइलाई छाडेर जति भाग्न खोज्छु, पढाइ मलाई पछ्याउँदै आइपुगिहाल्छ । आखिर पढाइ त पढाइ नै हो । कुरा मैले एस्.ई.ई. दिए ताकाको हो । पढाइको पनि प्रमोसन पो हुँदो रहेछ त ! एस्.एल्.सी. त एस्.ई.ई. पो भएछ । विषयतर्फ जा न ए, भन्नू होला, भो म आफैं जान्छु । त्यसबेला सोचेको थिएँ, “बाह्र वर्ष स्कुल पढेपछि अब त छुट्कारा पाएँ, रमाइलो गर्ने हो, घुम्दै बस्ने हो; म त पिंजडाबाट भर्खर छुटेको चरा पो हुँ त ।”

बिडम्बना ! म त खुट्टामा पढाइको डोरीले बाँधेर उडाइएको चरा पो रहेछु; पढाइले मलाई कहाँ पो एक्लो छाड्थ्यो र । पछि लागेर आइहाल्यो, बृज कोर्सको रुपमा । लौ तीन महिनाको बिदा पनि पढाइसँगै मनाउनु पर्यो । सीप सिक्न पनि पढाइ, देशमा टिक्न पनि पढाइ, विदेशमा बिक्न पनि पढाइ । भए पास नभए अभ्यास । के गर्नु पढाइ आखिर पढाइ नै पर्यो ! पल्लाघरे साईँला काकाले हिजो भुन्टेलाई भन्दै थिए- “ओई भुन्टे, पढ्न गइहाल्, नत्र भोलि हलो जोतेर खानुपर्ला ।” अनि पो मेरो आँखा खुल्यो त ! पढाइले त मलाई मात्र हैन कसैलाई पनि छाड्दो रहेनछ । पढाइ आखिर पढाइ नै जो पर्यो ।

बिचरा भुन्टे १५ किलोको छ, आफूजत्रै झोला बोकेर स्कुल जान बाध्य भयो । बेलुका ऊ आ’को थ्यो क्यारे, “स्वोस्तिका दिदी, होम्वर्क सिकाईदिनु न !” भन्दै । आठ वर्षको फुच्चे, १५ किलो उसको बजन छ, अनि आठैवटा किताबमाथि अर्को आठ दुनावटा कापी बोकेर आफ्नो थियो । “किन यत्रो ?” भनेर प्रश्न गरिनस् भन्नू होला ! म कहाँ कम्ताको छु र आफैं बुझिहालें नि । प्रत्येक विषयको एक गृहकार्य अनि एक कक्षाकार्य कापी के त ! मैले पनि त त्यसै गरि बोकेको थिएँ । पढाइले त बिचरो खेल्ने रमाउने उमेरको बच्चालाई पनि पो छाड्दो रहेनछ । पढाइ आखिर पढाइ न पर्योे ।

कम पढ्नेले राम्रा पढ्नेलाई गाली गरेर अन्ते प्रत्ययसँग जोड्छन् । जस्तै पढन्ते, घोकन्ते, रटन्ते भन्दारछन् । लेखक बुहारी पाएपछि ससुरा बाले भन्दाहुन् “बुहारीचाहिँ लेखन्ते परेकी छ ।” सासुआमा भन्दीहुन् “ऊ उता कथा कविता पढेर ताली बजाउन लगाउँछे, आफू याँ भाँडा बजाएर बस्नु परेको छ ।” हेर्नुस् न पढेर पनि जस छैन पढ्नेहरूलाई । तर नपढी पनि त भएन नि । के गर्नु पढाइ आखिर पढाइ न पर्यो ।

ऊबेला पढ्नको अल्छीले बेलैमा स्कूल छोडेका हाम्रा बा आज बिहान चुनावी घोषणापत्र पढ्दै हुनुहुन्थ्यो । यो पाराले त मुखमा चारा भरिन्नँ है भन्दै दाइहरू पेट्रोल पाउनेको लोभमा चर्काचर्की नारा पढ्दै थिए । बेलाअनुसार के के पढ्नुपर्ने नि । मुसा मार्न बिरालोको रङ नहेर्नु भनेजस्तो किताबको गाताको त्र नहेरी किताब किन्ने म जस्तोलाई किताबभित्रका अक्षरले लखेटेका लखेट्यै गर्छ । साथीभाइ भेटघाटदेखि जन्मदिनसम्म किताबै उपहार आउन थाल्यो । ससुराली जाँदा बाह्र हाते पिँडालु भनेजस्तो फलानो कार्यक्रम छ आइज भन्ने अनी किताबै दिएर पठाउने । “भेटैपिच्छे मेरो किताब पढिस् ?” भन्दै सोध्ने । पढेँ भन्नै पर्यो त, “समीक्षा लेखिस् ?” भन्ने । “सामाजिक सञ्जालमा चर्चा गरिस् ?” भन्ने । गरेँ भन्दा पनि “ट्याग गरिस् ?“ सोध्ने ।

कति पढ्नु कसलाई मात्र पढ्नु के मात्र पढ्नु कसका मात्र पढ्नु । पढ्यो पढ्यो पाठ सोह्र दुना आठ उखान पनि सीपविनाको पढाइ हुनेले नै बनाएको होला । के गर्नु पढाइ आखिर पढाइ न पर्यो । जदौ ।

हेटौडा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कहिले मोटाउँछेस् ?

कहिले मोटाउँछेस् ?

स्वस्तिका दाहाल
कुकुर पालन

कुकुर पालन

स्वस्तिका दाहाल