साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाक सभा

नक्टाहरूको छुट्टै नाक कट्टा सभा भयो भने मैले यो व्यङ्ग्य लेख्नुको कुनै अर्थ पनि रहँदैन । त्यसैले हे नाक सभाका नायक हो आफ्नो नाकमा कालो दलेर सभा नराख । नाके भकारीमा छुसीको साम्राज्यलाई टाढा भगाऊ ।

Nepal Telecom ad

सभा पनि कस्तो नाकको । नाक जावो मान्छेको दुई आँखाको मुनि साथमा दुई प्वाललाई साक्षी राखेर माथि चुच्चे, नेप्टे, थेप्चे, घोप्टे भएर सभाको मुल भएर ठडिएको हुन्छ । नाकको कुरा नाकलाई नै बेकार लाग्छ । यो फोहरी नाकको कुरा किन गर्नु परेको होला भन्नु होला ! नाकमा फोहर भएन भने त्यो नाक नाक नै होइन । नाक नाकको सभाले यो फोहरलाई तह लाउन पनि सक्दैन । किनभने नाक आफैँमा फोहरी भलाद्मीमा दरिन्छ । नाकको कुरा गर्ने हामी सबै हौँ । आफ्नो नाक सबैलाई राम्रो लाग्छ । ‘हिङ नभए पनि हिङ बाँधेको टालो हुँ’ भनेर हामी हाम्रै नाक फुलाउने मानव हौँ । खुम्चिएको नाक फुलाएर थेप्चिएको नाकलाई चुच्चे बनाउन पनि हामी लागि पर्छौ । तर नाक बुच्चाको बुच्चै हुन्छ । हाम्रो प्रयास त्यसै खेर जान्छ ।

नाक सभा सबैतिर हुन्छ । विश्वका सबै मुलुकमा हुने सभामा अघोषित रूपले नाकै कुरा हुन्छ । जुँगाको लडाईं हुन्छ । अस्तित्वको खोजी हुन्छ । नाक, जुँगा र अस्तित्व सभाको मुख्य कुरा हुन्छ । सभाको विषय बस्तु जे सुकै होस् तर पहिलो कुरा भने सबैले नाक, जुँगा र अस्तित्वकै गर्छन् । नाक त जोगाउनु पर्‍यो नि भन्छन् । ‘म गर्छु आग्राको कुरा सम्धी गर्छन् गाग्राको कुरा’ भने झैँ हुन्छ नाक सभामा । भनौँ सबैले आआफ्नै नाकको कुरामा जोेड दिन्छन् । मच्छर र झिंगाले जुठो पारेको नाक चोख्याउन सबैले आआफ्नै पाराले कुरा गर्छन् । कसैले अरुको नाक जोगाउन लविङ गर्छन् । प्रभावमा पारेर दबाव दिन्छन् र अभाव पुरा गर्छन् । तर मेरो नाक सगरमाथाको चुचुरो हो मैले सबैको नाक जोगाउन सभामा भूमिका खेल्नुपर्छ भन्ने उद्देश्यका साथ सभामा कोही बसेको देखिंदैन । भनौँ सभामा नाकले आफ्नै नाक पनि जोगाउन सकेको देखिदैन ।

फोहर लुकाउने मात्र होइन बेलाबेलामा फोहर देखाउने अविवेकी नाकले फोहरका बिचमा पनि सभा सञ्चालन गर्छ । फोहरलाई संस्कार र परम्परा ठान्ने नाक आफ्नै नाकका बारेमा धाक लगाउन पछि पर्दैन । नाक राजनीति गर्न पनि पछि हट्दैन र राजनीतिका नाममा फोहरी खेल खेल्न अघि सर्छ । राजनीतिमा नाकको कुरा हुन्छ र नाकका लागि पनि राजनीति हुन्छ । नाक सभा साँच्चै भन्ने हो भने नाककै लागि, नाक फुलाएर नाक ठूलो पार्नकै लागि गरिएको हुन्छ । नाक जस्तोसुकै भए पनि आखिरी मुखमाथि आँखा तल र दुई गालाको बिचमा छैन भने त्यो आकृति मुखाकृतिभित्र पर्दैन । नाक विनाको मुखाकृति ब्रह्माजीले परिकल्पना नै गरेका छैनन् ।

मानव शरीरमा नाकको उत्पति गराउने ब्रह्माजीले कानलाई नाकको ठाउँमा राखिदिएको भए वा आँखालाई कानको ठाउँमा राखिदिएर नाकलाई चाहिँ माथि निधारमा राखिदिएको भए ब्रह्माको के बिग्रन्थ्यो ? यस्तो गर्दा मानव आकृति कस्तो बन्थ्यो होला ? नाक सभामा यो कुराको छलफल किन हुँदैन ? अहिले हाम्रो नाक जुन ठाउँमा विराजमान भएको छ त्यो ठाउँमा ब्रह्माजीले नाक राखिदिनु नै हामी मानव हुनुको गौरव हो । धन्न ब्रह्माजीले बेलामा होश गरेका कारण हामी मानव नाक फुलाएर नाक भन्न पाउने भएका छौँ । यही नाककै कारण हामी नाक सभा गर्न सफल भएका छौँ ।

आफ्नै नाक जोगाउन नसक्ने नाक सभाका बारेमा कार्यपत्र प्रस्तुत गर्न प्रयास पनि भएको छैन । नाकको कार्यपत्रमा सिंगान चुहाउने काम बाहेकका अन्य कुरा लेख्न नाक भएर मात्र पुग्दैन । त्यो नाकलाई नाकसभाले अनुमोदन गरेको हुनु पर्दछ । फेरि नाकसभामा नक्कली नाक भएकाको बाहुल्यता भयो भने सभाले पूणर्ता नपाउने हुन्छ । नाकको कार्यपत्र विवरण पत्रमा झैँ विवरणमात्र उल्लेख भयो भने नाकसभाको अर्थ हुँदैन । भनाँै नाकसभामा बढी नाककै कुरा हुने भएकोले नाक निगुरमुन्टी न हुनु हुँदैन भन्ने मान्यतामा अडिनु पर्दछ । मानव नाक धाक लाउने रवाफ देखाउने प्रवृतिको हुनु हुँदैन । नाकको प्रतिष्ठा नाकले नै राख्नु पर्दछ । अनिमात्र नाक सभाको औचित्य पुष्टि हुन्छ । नाक सभामा नाकको प्रतिष्ठाको कुरा हुन्छ । नाकको भोक सबैमा हुन्छ तर नाकको भोक लुकाउन नसक्नेले नाक सभामा धाक लाउनु बेकार हुन्छ ।

देशका सम्पूणर् नाकहरूको सभामा उपस्थित सबै नाक एकै प्रकारका हुँदैनन् । थरिथरीका नाकले थरिथरीका कुरा बोल्छन् । सबै नाकले एकै कुरा बोल्दैनन् । नाक सभा देखावटी सभामात्र नभएकोले यो सभामा सबैको नाक सगरमाथाको टुप्पो जस्तै हो भन्ने धारणा बनाउन सक्नु पर्दछ । यसो गरेमा नाकको महत्व बढ्छ । नाकमा कालोमोसो पोतेर सभामा गएमा सबैको ध्यान त्यतैतिर आकृष्ट हुन्छ । चाहे त्यो नाक जो सुकैको होस् । ठोसे नाक होस् वा चुच्चे, बुच्चे, नेप्टे, थेप्चे, कोप्चे वा अरु कुनै प्रकारको होस सबैले नाकमा कालो देख्छन् । त्यो नाकमा कालो दल्नेलाई काल्नाके भनेर चिन्नुपर्ने हो तर नाकको मान राखेर नामले नै बोलाइन्छ । कसैको नाकमा कालो कोठी नै जन्म जात हुन्छ तर उसलाई नाक कोठे वा काल कोठे भनिदैन । उसको नाकको सम्मान गरेर नाम लिएर नै बोलाइन्छ । यहाँ सबैको नाकको सवाल बराबरी भएकोले नाक सभामा पनि नाकको सम्मान गर्दै नाकको संरक्षण संवद्र्धन र विकासका लागि पुरानो अवधारणालाई नयाँ जोश जाँगर र उर्जायुक्त बनाउन नाक सभा भित्रको सिंगान फालेर सफा मनले जोडदार माग गर्दछ ।

नाकको महत्व बुझ्नेलाई नाकले फाइदा भएको छ । नबुझ्नेलाई नाक के हो ? थाहै छैन । नाक सबैको बराबर हैसियतको हुन्छ । ओहदाले ठूलो हुनेको र ओहोदा नहुनेको नाक नाकै हो । धाकमा भने फरक हुन्छ । नाक सभामा फरक कुराको बिचार गर्नु हुँदैन । सबै नाकलाई एउटै कोटीमा राखेर तौलने काम गर्नु पनि हुँदैन । नाकको तौल घटी बेसी होला तर यसरी नाकको तौल गर्दा ओहादामा पुगेको नाकले गुनासो गर्न सक्छ । गुनासो समाधानका लागि नाकको न्वारान गर्नु पनि ठीक होइन । नाक सभामा धेरै कुरा उठ्न सक्छन् । थरिथरीका नाकको कुरा आउन सक्छ । त्यसैले नाक सबैको हुन्छ र एउटै नाकको मात्र होइन सबै नाकको समान धारणा बनाउनु पर्छ नाक सभामा ।

नाकको कुरा इमान, जमान र बेइमान गर्नेहरूले पनि गर्छन् । नाक त सबैको एउटै हो तर नाक सफा छैन भन्ने कुराको भेउ लेउ लागेको नाकले पत्ता लाउन सक्नुपर्छ । छुसी पलाएको नाकले म ठूलो नाक हुँ भन्ला, छुसी नपलाएकोले म पो ठूलो हुँ भन्ला ? नाक सभाले को ठूलो सानो भनेर छुट्याउनु भन्दा पनि पौरखी नाक बिचार गर्नु पर्छ । कुन नाक समाजको लागि पौरखिलो छ र समाजमा लगाएको गुण योगदानका बारेमा पनि खुट्याएर नाकको सम्मान गर्नु उचित होला जस्तो लाग्छ । नाक जस्तो महत्वपूणर् सभामा धाक लाएर छाक टार्न खोज्ने नाक पनि भेला हुन सक्छन् । त्यस्ता नाकदेखि चाहिँ नाक सभाले होशियार बस्नु उचित होला जस्तो लाग्छ ।

नाक सभाको कुरा गर्दा नेपालमा हुने प्रत्येक जसो सभा नाक सभाकै रूपमा देखिन्छन् । सबैले आ आफ्नै नाकका कुरा गर्छन् । नाक नहुनेले पनि हुनेले पनि छुसी लुकाउन खोज्छन् । बाहिर देखिने छुसी र नदेखिने छुसीले नाकको परिचय दिन्छ रे ! नाकको फिल्टरको रूपमा रहेको छुसी भित्र ढुसी देखियो भने त्यो नाक धाक लगाउन लायकको रहेछ भन्ने कुरा नाक सभाले बुझे हुन्छ । नाककै कारण नकटा भएकाहरू त्यो सभामा नआउन सक्छन् । यसका लागि नकटाहरूको छुट्टै नाक कट्टा सभा भयो भने मैले यो व्यङ्ग्य लेख्नुको कुनै अर्थ पनि रहँदैन । त्यसैले हे नाक सभाका नायक हो आफ्नो नाकमा कालो दलेर सभा नराख । नाके भकारीमा छुसीको साम्राज्यलाई टाढा भगाऊ । नाक सभाले दुनियाँका सारा नाकहरूको अस्तित्व सगरमाथा जस्तै हो भन्ने कुरालाई स्थापित गराऊ । जय व्यङ्ग्य जय साहित्य ।

०००
उदयपुर, गाईघाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
0
Would love your thoughts, please comment.x
()
x