साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाकका बदला नाक

नाक र कान बारे लेखिसकिस्, अब घाँटीबारे लेख् भन्नुहोला । सबै बखान अहिले गरे नाक कान घाँटी (इएनटी) डाक्टरले के खाला ? अन्ततः यो आलेखले कसैको नाकमा खोट लागेमा त्यो संयोग मात्र होइन वास्तविक पनि हुनेछ । हैन भने नाकका बदला नाक ।

Nepal Telecom ad

फोक्सोमा हाइरी वातावरणबाट हावा भर्ने ढोक्सोलाई नाक भनिन्छ । तर यहाँ कुनै शरीर विज्ञानको ट्युसन पढाउन लागिएको होइन । सिधै विषय प्रवेश गराउन चाहन्छु ।

नाकलाई ईज्जतसँग जोडिन्छ । सानामा मान्छेहरू भन्थे नाक राख् बाबु नाक राख । नाक मात्रै के, कान पनि राखेकै थेँ । तर नाककै चर्चा बढी हुन्थ्यो ।

त्यसो त कपाल काट्न जाँदा स्यालुनवालाले कान काटिदेला भन्ने चिन्ता मलाई अहिले पनि हुन्छ । यतिखेर मेरालागि नाकभन्दा कान प्यारो हुन्छ ।

नाकले गहना, मास्क, चश्मा सबैलाई अडिने ठाउँ दिएकै छ । मुखलाई ल्याइएको खानाको सुगन्ध चोरेर यसैले मजा लिने गरेको छ ।

उत्तरआधुनिक सोच गर्दा नाकको युगबाट झरेर मोबाइल, ल्यापटप, स्मार्टवाच आदि स्मार्ट ग्याजेटहरूले आफूलाई ग्वाँजे बनाएको थाहा पाइयो । अब थाहा पाएर नै के गर्नु छ र ? सबैभन्दा घाटा यिनले दुइटै खुट्टा घिसारेर नाकैमा बाक्ला चश्मा भिडाइदिए । नाक ठाडो गरेर हिँड्नुपर्छ भन्नेहरूले त्योभन्दा माथि चश्मा ठाडो भएको पाए । काम गर्दाको पसिना नाकबाट तरक्क चुहियो । गर्मीमा अग्लिएको नाक ठण्डीमा पग्लिन थाल्यो ।

नाक सँधै नाक भैरहन पाउँदैन । उसलाई धेरैले गालीगलौच गरेका छन् । केटी हेर्न जाँदा नाक खुम्च्याएको केटोलाई मन परेकी केटीले नाक सिउरी भने कस्तो अनुभव होला ? एउटा जातिले नाककै कारण ’चुच्चे’ हुनुपरेको छ । कसैले ’बुच्चे’ हुनु परेको छ । थेप्चो, चेप्टो, चुच्चो, बुच्चो जस्तो भए पनि नाकको काममा कुनै फरक हुँदैन । तर पनि मान्छेहरू नाक काटेको उखान गाएर बसेका हुन्छन् । नाकको टुप्पोमा रीस बोकेर मुखसम्म आएपछि ऊ असह्य हुँदै तथानाम वाचन गर्न थाल्छ । हेर्दा स्वाभिमान देख्ने नाकको संगत गर्ने मुखले नाक काट्न थाल्छ ।

आहा क्या उखान थिए उहिले- नाकका बदला नाक । कसैले नाक काटिदियो, उसकै नाक ठुट्याइदिने । चोरले कुन हातले चोर्‍यो, त्यही हात गिँडीदिने । खुट्टासम्म पनि यही नियम पो लागू हुन्थ्यो । ’जार काट्न पाउँ’ भन्दा ’च्वाट्टै’ भएको देख्ने हजुरबाको नाक सम्झिन्छु । भर्खरै झिँगाले हात टक्टकाएको नाक यसो छाम्छु । नाक ठाडै छ, ढुक्क हुन्छु ।

नाकका चर्चा गरेर नाक हुने जुनीभरि सकिने होइन । बरू नाकलाई जोडेर किताब लेख्ने हो भने यस्ता किताब लेखिएलान्-
नाकतिर बरालिँदा, नाकसँग चालिस वर्ष, नाकदेखि नाकसम्म, नाक जोगाउने तरिका, रिच नाक पुअर नाक, फ्याक्ट्स अफ नाक, त्यसबेलाको नाक, चक्रव्युहमा नेपालको नाक, नाकभारा, नाकाग्नि, नाक प्रणाली, नाकको मूल्य, नाक बौलाएको दिन, मौलामा बाँधिएको नाक, जङ्क्सन नाक, हिस्टोरी अफ इस्टर्न एण्ड वेस्टर्न नाक, सुश्री नाक, आधा नाक उचालेर, जब एउटा नाक हराउँछ, नाकको भाषा, लय छुटेको नाक, नाकको काम सकियो… ।

टुँडिखेलमा राखेर नाकका डाँडी भाँच्न मन लागेर मात्रै हुन्न रैछ । पालैपालो नाक भाँच्ने कार्यक्रम हुँदोरैछ । कहिले सासुको पालो कहिले बुहारीको पालो । कहिले ससुराको पालो कहिले ज्वाईँको पालो । एउटाको नाक भाँचिएपछि अर्कोले पनि नाक भाँच्दोरैछ । घरदेखि चोकसम्म, सडकदेखि सदनसम्म, सदनदेखि सरकारसम्म नाक भाँच्ने खेल चलिरहेको छ ।

तर पनि अर्काको नाक हेरेर कुरा गर्नेहरू अर्कोको नाक भाँच्छु भन्दा आफ्नो नाक खुइलेको अत्तोपत्तो नभए नाककै चर्चा गर्छन् ।

नाकको बखान जति गरे पनि सकिने होइन क्यार । कक्षामा पहिलो भएकी केटी पनि फर्स्ट ब्वाई नै हुने समाज छ । त्यसमा मेरो पनि थुप्रै योगदान छ ।
मुखले खाने खानेकुरा पहिले नाकले सुँघेर मज्जा लिन्छ । यसैले फर्स्ट ब्वाईभन्दा पनि फर्स्टचाहिँ नाक नै रहेछ ।

नाकले सिँगान बग्न दिन्छ । यसले श्वास भित्र बाहिर गराउँछ । धुलो फोहर रोक्ने मात्रै होइन, दुईटा आँखाबीच एकअर्कालाई कर्के हेर्ने छेक्ने काम पनि गर्छ । आज थकाई मारौँ न त भनेर दुवै सटर लगाएर बस्ने हो भने अरूका पिण्ड बटार्दाबटार्दै मान्छे बटारिन्थ्यो । यसबाट पनि नाक कतिको काम लाग्ने भाँडो हो, अनुमान गर्न सकिन्छ ।

अङ्ग्रेजले सिँगान बग्नुलाई रनिङ्ग नोज भन्दियो । तालुले खेपेको पसिना नाकले चुहाउनुपर्ने । हाम्रा नाकमा रौँ अनि गैँडाको नाकैमाथि सिङ । अनुलोम विलोम, कपालभाँति नाकमाथि थरीका थरीका अत्याचार … । शहरमा भर्‍याङको बाटोमा पनि पसल राख्न भाडामा लगाउने मान्छेहरूले मिल्ने भए नाकैमा सटर हाल्थे होलान् । नाकका यस्तै खुद्राखुद्री गुनासा पनि कम नहोलान् ।

नाक र कान बारे लेखिसकिस्, अब घाँटीबारे लेख् भन्नुहोला । सबै बखान अहिले गरे नाक कान घाँटी (इएनटी) डाक्टरले के खाला ?

अन्ततः यो आलेखले कसैको नाकमा खोट लागेमा त्यो संयोग मात्र होइन वास्तविक पनि हुनेछ । हैन भने नाकका बदला नाक ।
जय हास्यव्यङ्ग्य, जय फित्कौली ।

०००
हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x