नारायण भट्टराईस्थायी अध्यक्ष
उनी काण्ड लुकाउन पनि दक्ष छन् । बिगतमा भ्रष्टाचारका काण्डमा मुछिएका पार्टीका पदाधिकारीहरूलाई उनले यसरी लुकाए रे कि खोज्न गएको अख्तियारको टोली नै गायव भएछ ।

नारायण भट्टराई :
उनी हाम्रो गाउँका स्थायी अध्यक्ष हुन् । अध्यक्ष हुँदा हुँदा उनको नाम अध्यक्ष नै भएको छ । उनका बा पञ्चायत कालमा अध्यक्ष थिए रे ! अनि हजुरवा राणा कालमा । उनको परिवारले पद नपाएको इतिहास नै नभएकोले त्यो पारिवारिक बिरासत थाम्न भए पनि उनलाई हाम्रो गाउँले अध्यक्ष मानेको छ । अनि हाम्रो गाउँको एउटा राम्रो बिशेषता के पनि छ भने जो नेता चलिआएको छ, उसलाई बाहेक सकेसम्म अरुलाई नेता नमान्ने । गाउँलेहरू नअल्मलिउन्, नभड्किउन भनेर अध्यक्ष बाले एउटा उर्दी जारी गरेका छन्- “पारिवारिक बिरासत भएका बुढाहरू गाउँमा छइन्जेल आला काँचा ठिटालाई नेता नमान्नु र कसैले ठूलो डाको गर्न खोज्यो भने भुँडी फुटुन्जेल रक्सी र मासु ख्वाइदिनू, नभए विदेश पठाइदिनू ।” यो उर्दीले यति प्रभावकारी काम गर्यो कि गाउँ विकासबाट पालिका भैसक्दा पनि अध्यक्ष फेरिएका थिएनन् ।
उनी अध्यक्ष हुनुको अर्को कारण चाहिँ उनको ठूलो ज्यान र दयालु मन पनि हो । उनी जति मोटाएको मानिस गाउँमा कोहि छैन । अठ्चालिस सालमा अध्यक्ष हुँदा सरकारले गाउँमा पठाएको अठ्सठ्ठी बोरा चामल उनकै घरमा अन्लोड गरिएको थियो रे ! त्यहि दिनदेखि उनी मोटाउन थालेको भन्ने गाइँगुइँ हल्ला गाउँमा छ । फेरि गाउँमा आएको बजेट उनले मात्रै खाए छन् भन्नु होला । त्यो होइन । उनले अरुलाई पनि बाँडेका छन् । उनी दिन जहिलै तयार । जस्तो गाउँका सयौं केटाकेटीहरूलाई विदेश जान सयकडा तीनको दरले ब्याजमा पैसा दिएका छन् । कसैलाई गाई किन्न पैसा दिएका छन्, कसैलाई बारी किन्न त कसैलाई आलुको बिउ किन्न । त्यस बापत गाउँलेहरूले गर्नु पर्ने जम्मा दुई वटा कुरा छन् ः भाखा ननघाई ब्याज तिर्ने अनि चुनावमा चुपचाप भोट दिने र उनलाई जिताउने ।
उनी अध्यक्ष कहलिनुको तेस्रो कारण चाहिँ के हो भने गाउँमा जति पनि समिति, संगठन र संस्था छन् ती सबैका अध्यक्ष उनै हुन् । महिला उत्थान संघ गाउँ कमिटी, युवा संघ गाउँ समन्वय समिति, अन्तर गाउँ सम्पर्क समिति, जंगल फडानी गाउँ समिति, कित्ता कट्टा गाउँ समिति आदि आदि सबै समितिहरूमा उनी नै अध्यक्ष छन् ।
अनि भरखरै उनी दलित उत्थान गाउँ समितिको पनि मनोनित अध्यक्ष भएका छन् । हुन् त उनी बाहुन हुन् तर उनी आबद्ध पार्टीमा पदको भागबन्डा मिलाउँदै जाँदा उनलाई त्यो पद दिनु परेको भन्ने सुनिन आएको छ । फेरि मनोनित किन भन्नु होला । चुनाव हुनु पर्ने थियो । तर हुन सकेन । चुनाव भयो भने उनको अध्यक्ष हुने पारिवारिक बिरासतको इतिहास धरमराउने भयो । नयाँ मानिस उनको अगाडि लाग्ने भए । पार्टी अध्यक्षको कोटरीमा कोरम नपुग्ने भयो । फेरि दलितका नाममा धेरै आइएनजिओ र एनजिओहरूले सहयोग खन्याउने गरेका छन् । त्यस्ता सहयोगको भरपर्दो सदुपयोग गरेरै पार्टीलाई फाइदा पुर्याउन उनी बाहेक कोही पनि विश्वासिलो मानिस नभेटिएको भन्ने पनि सुन्नमा आएको छ ।
उनको कुकुरीय बफादारिता पनि अध्यक्ष बनिरहने अर्को योग्यता हो । कुकुरले हड्डी चपाए जस्तो कुरा चपाएर आफ्ना अन्नदाता नेताको बचाउ गर्नु उनको ऐतिहासिक सफलता हो । उनी काण्ड लुकाउन पनि दक्ष छन् । बिगतमा भ्रष्टाचारका काण्डमा मुछिएका पार्टीका पदाधिकारीहरूलाई उनले यसरी लुकाए रे कि खोज्न गएको अख्तियारको टोली नै गायव भएछ । पछि सुनियो अख्तियारका कर्मचारी नै उनकै कार्यकर्ता भएछन् । त्यो टोलीमा गएका मध्ये एकले भन्थे रे : “सरकारी जागिर भन्दा अध्यक्षको चाकरी बढी पोसाउने भयो भाइ, के गर्नु देश अनुसारको भेस गर्नै पर्यो ।“
त्यसैले, उनी हाम्रो गाउँको निर्विकल्प अध्यक्ष हुन् ।
०००
Subscribe
Login
0 Comments
Oldest






































