साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दसैँ आयो रे !

बडा दशैँलाई भव्य स्वागत् गर्न सक्नेहरूले त बडा भव्य तरिकाले बडा दशैँ मनाउनुहुने नै छ क्यार ! नसक्नेले चैँ टोलछिमेकीका घरमा म्याँम्याँ गर्दै कराउँदै आएको दशैँको मीठो आवाज सुन्दै कल्पिकल्पी र्‍याल काढ्दै भए पनि दशैँ मनाउनु होला ।

Nepal Telecom ad

सुमी लोहनी :

हुँदा खानेका केटाकेटीहरू हिजोआज ‘दशैँ आयो ! दशैँ आयो !’ भन्दै मीठो खाने अनि राम्रो लाउने आशाको रोटेपिङमा नथचुन्जेल मच्चिदै छन् ।

मित्र ! तपैँलाई दशैँआयो कि आएन कुन्नि ? तर जनतन्त्र, गणतन्त्र, लोकतन्त्र, मनपरितन्त्र आदि तन्त्रैतन्त्र आएको देशका बहुसङ्ख्यक बासिन्दाको दैलोमा दशैँको ‘द’ पनि अँह गोडो टेक्न आए जस्तो छैन । हैन, सप्पैले आयो ! आयो ! भनेको दशैँ अधिकांश देशबासीको मझेरीमा नगै कता गएछ त हँ ? भनेर यसो हेर्दा, सुन्दा, विचार्दा त जसको घरमा दशैँ नभए पनि हरेक दिन दशैँ मनाइन्छ त्यस्ता दिलदार मान्छेको घरमा पो पुगिबक्सेछ दशैँजी त !

चामलको सेतो भात खान, दुई चौटो चिची चपाउन, एकसरो नयाँ लुगा फेर्न वर्ष दिन कुरेर दशैँको प्रतीक्षा गर्नेहरूको घर आँगनमा त दशैँजीले आउन त के चिहाउन पनि मुस्किल छ । के गर्नु बडा दशैँलाई पनि बडा, बडा व्यक्तिका बडेमान्का बिल्डिङ्गमा नै आउन मन लाग्दो रहेछ । अनि दुई छाक पेटभरि खान पनि नपुग्ने भोका, नाङ्गा, गरिबगुरुवाको घरमा किन पाइलो टेक्थ्यो र ! दीनदुःखी निमुखाको थाप्लोमा त दशैँ हरेक साल ऋणको भार बनेर पो थोपरिन्छ त !

साँच्चै अहिलेको दशैँ पनि केही व्यक्तिलाई त मज्जैसँग धीत् फुकाएर आएको छ । सबैभन्दा बढी बडा दशैँ बडा व्यापारीलाई आएको छ । त्यसैले त रातारात बजार भाउ ह्वात्तै हल्केर बादलमाथि पुगी गगन चुम्बन गर्न सक्षम भएको छ । अनि अति प्रसन्न भै बडा व्यापारीका चिल्ला तालुमा घनघोर धन वर्षा गर्दैछ । त्यसैले आजभोलि हात्तीछाप नोट लिएर तरकारी किन्न बजार गयो भने तरकारी झोलाको पिँधैमा हराउछ र पकाउँदा कन्तीको झोलमा झाम्टा झल्याकझुलुकु झुल्किन्छ ।

सत्तासीनहरूलाई चाहिँ दिल खोलेरै दशैँ आएको छ । पदको सदुपयोग गर्दै देश विदेश घुमेकै छन् । निधारमा भत्ता, लत्ता, सत्ताको टीको ट्यासट्यास भएको छ । एकअर्का बीच गाली र आरोप प्रत्यारोपको जमरा सरक्कै मौलाको छ । टाउकेहरू आफ्नोे स्वार्थका लागि गरिब नेपालीको खुसी, इच्छा, चाहना, सुख, शान्ति आदि कुराको बली मज्जैले चडाउँदै छन् । यही त हो नि रमाइलो दशैँ हैन त ?

बडा दशैँलाई भव्य स्वागत् गर्न सक्नेहरूले त बडा भव्य तरिकाले बडा दशैँ मनाउनुहुने नै छ क्यार ! नसक्नेले चैँ टोलछिमेकीका घरमा म्याँम्याँ गर्दै कराउँदै आएको दशैँको मीठो आवाज सुन्दै कल्पिकल्पी र्‍याल काढ्दै भए पनि दशैँ मनाउनु होला । च्यात्तिएर झुलजस्तो बनेको झल्लर लुगाले ज्यान ढाकी ठूल्ठूला सपिङ्ग मलमा डमीले लगाएको राम्रो लुगा हेर्दै चित्त बुझाएर दशैँ मनाउनु होला । तिर्दा तिरिमिरी झ्याइँ भए पनि होस् भन्दै ऋण काढेरै भए पनि दशैँ चैँ मज्जाले मनाउनुपर्छ भन्ने सोचलाई चटक्कै बिर्सिदिनुहोला । हिङ नभए पनि हिङ बाँधेको टालो छ भन्दै महान् चाडलाई महलवासीको सिको नगरी आफ्नो खल्तीले धान्नसक्ने गरी मनाए त झनै राम्रो !

जे जसरी मनाए पनि सम्पूर्ण पाठक मित्रहरूलाई बडा दशैँको हार्दिक मङ्गलमय शुभकामना !

०००
भाटभटेनी, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइल महिमा

मोबाइल महिमा

सुमी लोहनी
कठैबरा !

कठैबरा !

सुमी लोहनी
बाका बथान

बाका बथान

सुमी लोहनी
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x