सुमी लोहनीबाका बथान
यस्ता कुरा बुझ्न त राजनीतिको जालझेल र कूट्नीतिको कुटिल खेलमा माहिर हुनुपर्छ अनि मात्र कुन कुरोको कनेक्सन कता छ भन्ने गोप्य कुरोको चूरो फेला पर्छ ।

सुमी लोहनी :
दिल खुस भएपछि पतझरको याममा पनि बेलीचमेली फुलेर ढकमक्क हुने रहेछ । साँच्चै आहा कति रमाइलो अनि खुसीको कुरा । निराशाको शीतलहरले कठ्याङ्ग्रिएको मनमुटुमा मात्रै हैन, हाम्रा अति आवश्यक कुरामा पनि सुक्खा लागि खडेरी परेको बेलामा हाम्रा परम् प्रतापी, पावरफुल बाको पारिगाउँ प्रस्थानले गाउँबासीलाई राम्रैसँग रन्काएको हुनाले आजकल चारैतिरको माहोल रनक्क रन्केको छ ।
बा फुपूको गाउँतिर जाने रे भन्ने कुरा कानमा परेदेखि नै हाम्रा खुट्टा भुइँमा टेकिएका छैनन् । हुन त चीलगाडीमा चढेर हुनुनुनु गरेर हुन्हुनाउँदै जाने भएपछि खुट्टा भुइँमै टेकिराख्न पनि त भएन । कठै बिचरा बालाई पनि असाध्यै गारो छ हो । आफूसँग लैजानका लागि धुइँपत्तालसँग मान्छे खोज्दा खोज्दा पनि जाबो एउटो जेटजहाजको पेट अनि एउटो हुटेलका कोठा पनि नभरिने भयो भन्या । अब कम्ता लज्जास्पद कुरो हो यो । अब यति थोरै मान्छेको लर्को देखेर फुपूका घरपट्टिकाले झर्कोफर्को गर्लान् कि भन्ने चिन्ता पनि बिचरा बाको थाप्लोमा थपियो ।
तर पीरको झीरले छाती चिरचिर नपार्नुस् है बा, किनभने जेठी फुपूको गाउँघरतिर नगईकन पहिला आफूकहाँ पाहुना लाग्न आएको देखेर कान्छी फुपूका गाउँका मुखिया प्रशन्न हुने छन् अनि हाम्रा बाको मान, शान, कम बथान देखेर गुणगान गर्नेछन् । जसले जेसुकै बके पनि बासँग जाने व्यक्तिहरु चैं बीसैआना कम भएकै हुन् है । अब अर्को पटकदेखि कहीं कतै कसैले निम्ता गरे भने बोलाइएकाको सङ्ख्यामा अंक चैं बढाउनु नै पर्छ, पर्छ, जस्तै १ जनालाई बोलाए ११ जना, ११ जना बोलाए १११ जना… यसै गरी जति सकिन्छ बढी बढाउँदै लैजानुपर्छ अनि पो हामी नेपाली हौं भनेर गर्व गर्नलायक काम हुन्छ नत्र अरुले हेपिहाल्छन् नि ! हैन त बा ?
बरु भ्रमणका लागि आवश्यक भत्ता, लत्ता, सुविधा… आदिका लागि गरेको खर्चको बिल भुक्तानी गर्न आवश्यक बजेट बोक्न अर्को जेट विमान लग्नुपरे पनि लैजानुस्, हामी केही भन्दैनौं किनभने हामी आफ्नै हौं ।
अनि बा, त्यो बीआरआईसीआरआई केके जाती भन्दै छन् नि, हो त्यसको बारेमा त बाले पटक्कै पीर नलिए हुन्छ । अब विरोधी विपक्षीले केके भन्छन् भन्छन्, जसले जेसुकै भने पनि हाम्रा बालाई एदेखि जेडसम्म सप्पै आइहाल्छ, अनि कुरो मिलिहाल्छ, हैन त बा ?
बाका लुगा सिउने सूचीकारजीहरुले चाहिँ बाका दौरासुरुवालका खल्ती प्वाल नपर्ने गरी बलियोसँग सिइदिनु होला किनभने कान्छी फुपूका गाउँका बडाले घर लैजानु भनेर केही कोसेली देलान्, मिठाईपापा देलान्… केके देलान् । बाको खल्ती बलियो भएन भने ती दिएका कुरा ल्याउँदाल्याउँदै बाटैमा चुहिएर सकिन बेर छैन । फेरि बाले त्यत्रो दुःख गरेर ल्याएका पापा खान आँ गरेर बसेका हामी वाल्ल परेकोपर्यै हांैला ।
अनि मित्र महोदय, तपैं चाहिँ बिनबित्थामा खै केके कुरा सोचेर, वादविवाद गरेर आफ्नो गिदी नपगाल्नुस् । किनभने यस्ता मीठा जेरीजस्ता कुरा तपैंजस्ता सिधासाधा सर्वसाधारण मनुवाको समझदेखि धेरै टाढा छ । यस्ता कुरा बुझ्न त राजनीतिको जालझेल र कूट्नीतिको कुटिल खेलमा माहिर हुनुपर्छ अनि मात्र कुन कुरोको कनेक्सन कता छ भन्ने गोप्य कुरोको चूरो फेला पर्छ ।
त्यसैले यी सबै कुरालाई चुपचाप लागेर हेर्नुस् । चुप लाग्नु या मौन हुनुको अर्थ स्वीकृति हो । तपैंहाम्रो स्वीकृति पाएपछि कुरो सकियो, अरुलाई केको खसखस ? कि कसो ?
ए लौ, भाउजूले सबै परिपन्च पनि मिलाएर आइसकिछन् । अब बाको जाने वेला हुनलाग्यो । ए बा पख्नुस्, पख्नुस् । एकै छिन पख्नुस् न ! म पनि जान्छु के ! के भन्नु भयो मित्र ? तपैं पनि बासँगै जाने रे ?
०००
भाटभटेनी, काठमाडौं









































बालाई सत्तोसराप नगरौं है नत्र भाट्भटेनिबाट कालकटेनिका लागि कालेपानी पुर्याउलान्