![सुमी लोहनी सुमी लोहनी](https://www.fitkauli.com/wp-content/themes/fitkauli_theme/images/author2.png)
बराबरी
अहिलेसम्म जेजसो भए पनि अबदेखि बडा-बडी, बरा-बरी, भुरा-भुरी सबैसबैलाई बडा दशैं बराबरीरुपमा आओस् भन्ने चाहनाका साथसाथै अरुले घोडा चढ्यो भन्दैमा आफू चाहिँ धूरी नचढ्नु होला ।
![image image](https://www.fitkauli.com/wp-content/uploads/2023/07/sumi-lohani-new.jpg)
सुमी लोहनी :
मित्र तपाईंले देख्नु या सुन्नुभयो ? मान्छेहरू दशैं आयो खाउँला, पिउँला,… भन्दै छन् । तर म चैं जति आँखा च्यातेर हेर्दा नि कतै पनि दशैं आएको देख्दैदेख्दिनँ । हैन मेरा आँखा नै कमजोर भएका हुन् कि के हो ? ए तपाईंले पनि बडा दशैं आएको देख्नुभएन, भनेपछि हामी एकै ड्याङका रहेछौं । साँच्चै यो दशैं कहाँ, कता गयो होला ? न रेल चढेर गनतान्त्रिक मुलुकको रमिता हेर्दै छ कि ? न नेतापाल देशको पानीजहाजमा सवार भएर जलविहारको आनन्द लिइरहेको छ कि ? न बडा दशैं बडाह्रूको बोली भाषणमा भनेझैंको द्रुत गतिमा भइरहेको विकास जस्तै भएर पो हामीले नदेखेका हौं कि ?
हुन त टाउकेह्रूको हारालुछले शेष भएको देशमा अरु पनि धेरै धेरै राम्रा, मिठा र मनमोहक कुरा भएका छन् रे ! जसलाई ठुलाबडाले आसनमा बिराजमान भई भाषणमा बारम्बार दोहोराइचौहोराइ भट्याइरहन्छन् तर निमुखा सर्वसाधरणले कानले त सुन्छन् तर देख्न सक्दैनन्, अँह, ज्यान गए पनि अनुभूत गर्न सक्दैसक्दैनन् । कस्तो अचम्म ! पावरवालाले देख्दा, भन्दा पनि जनताले देख्दै नदेख्ने । हुन त पावरवालाले पावरको चस्मा लगाएको भएर देखेको होला, पावरविनाकाले त सधैं बाउन्न हन्डर त्रिपन्न ठक्कर खाँदा तिरिमिरी झ्याइँ भएर झिलिक्क तारा र हरबर तोरीको फूल मात्रै देख्ने हो । सुगालाई पनि यसरी एउटै कुरा सधैं भनिरहन बोर लाग्छ होला है मित्र, तर सत्ताको सिंहासनमा आसन जमाएकाह्रूलाई भाषणमा सधैं उही कुरा दोहोराउन कत्ति पनि बोर लाग्दैन, कहिलेकाहीँ बोर लाग्लालाग्ला जस्तो भयो भने औरौटेभरौटे भाटह्रूले स्वस्तिगान भट्याएपछि दिल बागबाग भैहाल्छ ।
साँच्चै यसपालि पनि बडा दशैं खालि बडाह्रूकहाँ मात्रै भित्रियोजस्तो छ । हुन पनि हो जसले दिल खोलेर स्वागतसत्कार गर्न सक्छ उसैकहाँ जाने त हो जो पनि । जसका मझेरीमा सधैं अभावैअभावको बास हुन्छ त्यहाँ गएर के गरोस् बिचरा बडा दशैंले । जसकहाँ लाउनखान सधैं हाहाकार छ त्यहाँ कसलाई पो जान मन लाग्छ र ! यस्ता दीनदुःखीलाई अझै के दुःख दिनु भनेर दया गरेर दशैं नगएको पनि हुनसक्छ ।
स्याबास बडा दशैं, बडो बुद्धिमान् रहेछौ । त्यसैले बेलैमा बुद्धि पुर्याएछौ । तिमीजस्तो बडा दशैंले पाहुना लाग्न जाने नै बडा बडा व्यापारी, हाकिम, कुर्सीवाला, सत्तावाला, भत्तावाला, महलवाला… आदि ठुलाबडाकहाँ नै हो, ‘बरा’कहाँ पाइलो टेक्न पनि जाने नै होइन । ‘बरा’कहाँ त दशैं दशा बनेर जाने हो अनि ऋणको भारीले थाप्लो थिचेर थ्याच्चै थचार्ने हो । आखिर सापसिँढीको खेलमा सापको मुखमा परी तलतिर खदारिएझैं निर्धन, निमुखाह्रू जहिले पनि खदारिने हो अनि बडाहरू चैं सिँढी चढी तलबाट एकैपटक माथि पुग्ने हो ।
हुन त ‘बरा’कहाँ आउनेह्रूको पनि कमी चैं छैन है । नआओस्, नआओस् भन्दाभन्दै पनि रिट्ठो नबिराई हरेक वर्ष अनेक चाडबाड सामुन्नेबाटै आउँछन् र आँखा तर्दै जान्छन् । बर्खामा बाढीपहिरो ग्वाम्लाङ्ग अँगालो हाल्न आउँछ । हिउँदमा मुटु छेड्ने सिरेटो र शीतलहर सिरकतन्ना बनेर आइपुग्छन् । धारामा पानी नआए पनि ‘बरा’ह्रूको ज्यानबाट सधैं पसिनाको खोलो आउँछ । घरी घरी कलेटी परेका ओठमा बस्न निराशा मिश्रित सुस्केरा आउँछ ।… यस्ता धेरै कुराह्रू छन् जुन केवल ‘बरा’कहाँ मात्रै आउँछन्, बडाकहाँ भुलेर पनि कहिल्यै आउँदैनन् ।
अहिलेसम्म जेजसो भए पनि अबदेखि बडा-बडी, बरा-बरी, भुरा-भुरी सबैसबैलाई बडा दशैं बराबरीरुपमा आओस् भन्ने चाहनाका साथसाथै अरुले घोडा चढ्यो भन्दैमा आफू चाहिँ धूरी नचढ्नु होला । असत्यमाथि सत्यको जित अवश्य पनि हुन्छ, हैन त मित्र ?
हार्दिक मङ्गलमय शुभकामना !
०००
भाटभटेनी, काठमाडौं नेपाल
Subscribe
Login
0 Comments
Oldest