साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोबाइल महिमा

अझै रमाइलो त त्यति बेला हुन्छ जब पूर्वतिर फोन गर्यो पश्चिमतिर लाग्छ, पश्चिमतिर गर्यो उत्तरतिर लाग्छ । अनि त बाझाबाझ, आरोप प्रत्यारोपको सिलसिला ननस्टप । आहा । क्या रमाइलो जे भए पनि मोबाइलमा बोल्न र सुन्न त पाइयो नि ।

Nepal Telecom ad

सुमी लोहनी :

मोबाइलमा आफूले कुरा गर्न चाहेको व्यक्तिसँग सम्पर्क होस् भन्ने शुभ-कामना । तपैं पनि मजस्तै ‘म’को महिमा देखेर सुनेर मक्ख पर्नु भए जस्तो छ नि । साँच्चै नेपाली वर्णमालाको सबैभन्दा महत्वपूर्ण वर्ण ‘म’ने हुनुपर्छ ।

त्यसैले त सबैले यसलाई राम्रो ‘म’ भनेर फुर्याएका होलान् हगि । नपत्याए मरुहिटीस्थित मूषकपतिको मन्दिरको मनोहारी मूर्ति मुखेन्जी मौन बसेर मनन गर्नुस् त । अनि ‘म’को महिमाको महत्वको बारेमा मज्जाले था भैहाल्छ नि, धन्दै मान्नुपर्दैन ।

जुनसुकै शब्दको पनि मुखमा ‘म’ आउनासाथ त्यसको मोहनीले सबैलाई मन्त्रमुग्ध पारिहाल्छ । अनि मोहिनीको पछिपछि देव-दानव दुबै दौडे जस्तै सप्पैजना ‘म’को पछिपछि लागिहाल्छन्। यसका केही नमुना हेर्नुस् अनि आफै भन्नुस् हो कि हैन ? ‘म’ माने माया, मन, मदिरा, मम, मनी, महल, मन्त्री, मेलम्ची मोबाइल… आदि इत्यादि अनेकौं अनेक छन् । जसका पछि सारा मानिस दौडिरहेका छन् र यिनीहरूले चाहिँ माछा ! माछा ! भ्यागुतो !! भने जसरी सबैलाई आफ्नो वरिपरि घुमाइरहेछन्।

यस्तो महान् ‘म’धारी मोर्डन समयको महत्वपूर्ण उपलब्धि हो मोबाइल । लौ भन्नुस् त मोबाइलको मोहनीबाट को चाहिँ महामानव मुक्त छ ? हरेक ठाउँ, हरेक समय, हरेक मानिस यसलाई आफ्‌नै मुट्ठीमा राख्न चाहन्छन्। यसको भौतिक रुप त मान्छेकै हातमा हुन्छ तर अदृश्य प्राणशक्ति भने मान्छेकै चञ्चले मनजस्तै बेलगाम भएर कता पुग्छ, कता ? कसैले कुरा गर्न खोज्यो भने कि स्विच अफ छ, कि त बिजी छ भन्ने जानकारी प्राप्त हुन्छ, नभए सम्पर्क हुन सकेन पुनः प्रयास गर्नुस् भनिन्छ। हरेस नखाई पुनः प्रयास गर्दागर्दा हत्तु हैरान भैसक्दा पनि ‘पुनः प्रयास गर्नुस्’ भन्ने कर्णप्रिय मधुर वाणी चैं भन्न र सुन्न बन्द हुँदैन ।

कुनै समय भाग्य बलियो भएर चिल्लो तालुमा आलुको सट्टा चिचिन्डो फलेझै कनेक्सन भैहाल्यो भने पनि यताको कुरा उता उताको कुरा यता घाँटी सुक्ने गरी जति चिच्याए पनि ज्यान जाला सुनिए पो। तर टोलछिमेकीले, ओरिपरिकाले चैं तपैं मोबाइलमा कुरा गर्दै हुनुहुन्छ भनेर आँखा चिम्लेरै था पाउन सक्छन् । साँच्चै अति नै रमाइलो र आनन्ददायक दृश्य उत्पन्न हुन्छ त्यतिखेर, जब ‘सोल’ फिल्ममा धर्मेन्द्रले पानी ट्याङ्कीमाथि चढेर मौसीसँग कुरा गरे जस्तै गरेर मोबाइलघारीले भित्र-बाहिर, तलमाथि गर्दै घोको फुट्‌ने गरी चिच्याइ चिच्याई आफ्नो कुरा सुनाउने प्रयास गरिरहेको देख्दा ।

अझै रमाइलो त त्यति बेला हुन्छ जब पूर्वतिर फोन गर्यो पश्चिमतिर लाग्छ, पश्चिमतिर गर्यो उत्तरतिर लाग्छ । अनि त बाझाबाझ, आरोप प्रत्यारोपको सिलसिला ननस्टप । आहा । क्या रमाइलो जे भए पनि मोबाइलमा बोल्न र सुन्न त पाइयो नि ।

यसरी मदारीले मंकीलाई नचाए जसरी आफ्नै मुट्ठीभित्रको मोबाइलले ‘मै हुँ’ भन्ने मान्छेलाई नचाएको मनोरञ्जक दृश्य हिजोआज जताततै देख्न पाइन्छ । हुन त नाम अनुसारको काम पनि हुनै पर्यो नि, हैन र ? नामै मोबाइल भएपछि एकै ठाउँमा बसेर पनि त भएन नि । सबैलाई घुमाउँदै रिङ्गाउँदै ‘हरबर तोरीका फूल’ देखाउनु त परिहाल्यो । जस्तो नाम त्यस्तै काम । कि कसो ?

जे भए तापनि साउने भेलमा तीतेमाछा फुले जसरी विना प्लानिङ्ग बिचरो मोबाइलको क्वान्टिटी ह्वात्तै बढेर क्वालिटी स्वात्तै घट्नुमा यसको कुनै दोष छैन । यदि कुनै दोष रहेछ भने त्यसलाई ठीक पार्न प्लेनको इन्जिन बिग्रिदा पूजा गरी कालो बोको बली दिएर ठीक पारे जसरी पूजाअर्चना गरेर ठीक पार्नु पर्ला जस्तो छ । त्यसै पनि प्रयोग गर्न नपाउने केवल हेरेरै चित्त बुझाउनु पर्ने भएपछि हातमा बोक्नुको सट्टा मूर्तिजस्तै स्थापना गरी पूजा आराधना गरेदखि जन्मदाता नेपाल टेलिकम प्रसन्न भै कुनै दिन कुरो गर्ने, सुन्ने वरदान मिल्थ्यो कि ? त्यसैले आउनुस्, सबैजना मिलेर पूजा गर्दै प्रार्थना गरौँ-:

हे मोबाइल महान्
भुक्तभोगी हामी गाउँछौं तिम्रो गुणगान
कनेक्सन भै प्रष्ट सुनिने देऊ वरदान
प्रसन्न भै हाम्रो पूजा प्रार्थना स्वीकार
हे मोबाइल महान्….।

०००
भाटभटेनी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कठैबरा !

कठैबरा !

सुमी लोहनी
बाका बथान

बाका बथान

सुमी लोहनी
बराबरी

बराबरी

सुमी लोहनी
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x